वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका इलाका प्रहरी कार्यालय पोखरियाले प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा दुई महत्वपूर्ण सफलताहरू हात पारेको छ। लागू औषध गाँजा जस्तो देखिने पदार्थ १२८ किलोग्रामसहित एक जना युवक र कार नियन्त्रणमा लिनुका साथै अपहरण तथा शरीर बन्धक मुद्दाका १५ वर्षदेखि फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।
१२८ किलो गाँजासहित कार र चालक नियन्त्रणमा
विशेष सूचनाको आधारमा मिति २०८२ फागुन ४ गते राति करिब ९:०० बजे जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने मधुवनी चौक क्षेत्रमा इलाका प्रहरी कार्यालय पोखरिया मातहत अस्थायी प्रहरी पोस्ट सुर्जाहाकट्टी र सशस्त्र प्रहरी बल नेपाल, बीओपी पकहामैनपुर पर्साको संयुक्त टोलीले सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको चेकजाँच गरिरहेको थियो।
यस क्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्रदेश ३–०१/००२ च ५४३२ नम्बरको सेतो रंगको सुजुकी स्विफ्ट कारले प्रहरी टोली देखेपछि अचानक दिशा परिवर्तन गरी भाग्ने प्रयास गरेको थियो। उक्त गतिविधि शंकास्पद देखिएपछि प्रहरी टोलीले मोटरसाइकलमार्फत कारलाई पिछा गर्दै खोजतलास गरेको थियो।
खोजतलासकै क्रममा पकहामैनपुर जाने ग्राभेल भित्री सडक खण्ड अन्तर्गत कट्टी बलुवा क्षेत्रमा कारलाई चालकसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
कारको कानुनी प्रक्रिया पूरा गरी तलासी गर्दा प्लास्टिकमा पोका पारिएको लागू औषध गाँजा जस्तो देखिने पदार्थका १६ वटा पोका बरामद भएको थियो। तराजुमा तौल गर्दा प्रत्येक पोका प्लास्टिकसहित ८ किलोका दरले जम्मा १२८ किलोग्राम गाँजा जस्तो पदार्थ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
चालकबाट नगद, ATM कार्ड र मोबाइल बरामद
नियन्त्रणमा लिइएका चालकले आफ्नो नाम जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी २२ वर्षीय बुद्धिलाल भोलन रहेको बताएका छन्।
उनको शरीर तलासी गर्दा प्रहरीले निम्न सामग्री बरामद गरेको छः
नेपाली रुपैयाँ ५०० दरका ४५ थान नोट, जम्मा रु. २२,५००
NIC ASIA बैंकको ATM कार्ड १ थान
Realme मोबाइल फोन १ थान
उक्त सामग्रीहरू स्थानीय जनप्रतिनिधिको रोहबरमा कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा जस्तो पदार्थ, कार र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरियामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिएका छन्। प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल ले फरार अभियुक्तलाई खोजी गर्ने अभियान अन्तर्गत उनलाई नियन्त्रणमा लिन सफल भएको जानकारी दिनुभयो।
यसैबीच, प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक प्रतिवादीलाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ८ मा लुकिछिपी बस्दै आएका ६० वर्षीय मनोज साह कानुलाई पक्राउ गरेको हो।
पर्सा जिल्ला अदालत वीरगञ्जको मुद्दा नं. २०६९-CS-०३८३ अनुसार मिति २०६७ माघ २५ गतेको फैसलाले उनलाई ९ वर्ष कैद र रु. ५०,००० जरिवाना तोकेको थियो। अदालतको फैसला पश्चात फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि पर्सा जिल्ला अदालत वीरगञ्जमा पेश गरिएको जनाएको छ।
प्रहरी निरीक्षक पौडेलले गम्भीर प्रकृतिका मुद्दामा सजाय तोकिएर फरार रहने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउँदै फरार अभियुक्तको खोजी कार्यलाई अझ तीव्र बनाइएको जानकारी दिनुभयो। “अदालतको फैसला कार्यान्वयन गर्नु प्रहरीको प्रमुख दायित्व हो। फरार अभियुक्त जहाँ लुकेर बसे पनि कानुनको पहुँचबाट टाढा रहन सक्दैनन्,” उहाँले भन्नुभयो।
प्रहरीले जिल्लामा अदालतबाट सजाय ठहर भई फरार रहेका व्यक्तिहरूको खोजतलास अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।


