काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका बाबजुद मुलुकमा एलपी ग्यासको आपूर्ति तथा बिक्री–वितरण निरन्तर भइरहेको जनाएको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा ठूलो क्षति भएको थियो। त्यसैगरी, भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्ड कटान गरेपछि सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।
त्यसपछि नेपाल आयल निगमको निर्देशनअनुसार काठमाडौं, काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीलगायत जिल्लाका उद्योगमा रिफिल गरी काठमाडौं उपत्यकामा बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ।
संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुन्छ। पछिल्लो तीन दिनदेखि तराईका उद्योगमा सिलिन्डर रिफिल गरी काठमाडौं उपत्यकामा बिक्री–वितरण भइरहेको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार थप सिलिन्डर रिफिल गरी आपूर्ति व्यवस्था कायम राखिने संघले जनाएको छ।
संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकताअनुसार मात्र खरिद गर्न आग्रह गरेको छ।


