हेटौंडा – सुवास भट्ट लाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले २०८२ साल माघ महिनाको लागि बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ।
इलाका प्रहरी कार्यालय रत्ननगर–टाँडीका प्रमुखसमेत रहेका डिएसपी भट्टले अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गरेको आधारमा उक्त सम्मान प्रदान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार जटिल प्रकृतिका मुद्दाको सफल अनुसन्धान, फरार प्रतिवादी पक्राउ, तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको मूल्याङ्कनका आधारमा भट्टलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।
गत पुस २६ गते रत्ननगर नगरपालिका–४ सिनेमारोडकी ६३ वर्षीया सुकमाया देवी तामाङलाई ढोका फुटाएर हत्या गरिएको थियो । हात, खुट्टा र मुख बाँधिएको अवस्थामा मृत फेला परेकी उनको साथबाट सुनका गरगहना, नगद र मोबाइल लुटिएको थियो ।डिएसपी भट्टको नेतृत्वमा भएको सफल अनुसन्धानबाट घटनामा संलग्न ५ जना तथा चोरीको सुन खरिद गर्ने २ जना गरी ७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट लुटिएको १ तोला ५९.६ लाल सुन र अपराधमा प्रयोग भएका सवारी साधनसमेत बरामद गरिएको थियो ।
यसैगरी, उनको नेतृत्वमा गत मंसिर ७ गते रत्ननगर–१४ मा २१ वर्षीया सुस्मिता घिमिरे र उनकी बहिनी सुतिरहेको अवस्थामा कोठामा प्रवेश गरी हतियार देखाएर सुनको सिक्री लुट्ने प्रतिवादीहरूलाई माघ १८ गते पक्राउ गर्न सफल भएको थियो । नवलपरासीको बन्धक घटनाको पर्दाफासमा पनि डिएसपी भट्टको महत्वपूर्ण भूमिका रहेको छ । पक्राउ परेका डाँकाहरू यसअघि नै चोरी तथा डाँका मुद्दामा १४ वर्ष र २० वर्ष कैद सजाय भुक्तानी गरिसकेका अपराधी रहेको अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका क्रममा उनीहरूले नै गत मंसिर २ गते नवलपरासी–८ कावासोतीमा एकै परिवारका ६ जना सदस्यलाई हतियार देखाई बन्धक बनाएर धनमाल लुटपाट गरेको तथ्य डिएसपी भट्टको पहलमा खुल्न आएको थियो । यस कार्यमा जिल्ला प्रहरी कार्यालय नवलपरासीसँग आवश्यक समन्वय गर्न उनले प्रमुख भूमिका निर्वाह गरेका थिए ।
सम्मानपछि संक्षिप्त प्रतिक्रिया दिँदै डिएसपी भट्टले यस उपलब्धिलाई सम्पूर्ण प्रहरी टोली र समुदायको सहकार्यको परिणाम भएको बताए। उनले आगामी दिनमा समेत निष्पक्ष, पारदर्शी र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
बागमती प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना कार्यसम्पादन, अनुशासन, अनुसन्धान क्षमता तथा नेतृत्वदक्षताको मूल्याङ्कन गरी उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।


