एसपी कुलदिप चन्दद्वारा निर्वाचन स्थल अनुगमन

इलाम – आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले जिल्लाका विभिन्न निर्वाचन केन्द्रहरूको स्थलगत अनुगमन गर्नु भएको छ।

अनुगमनका क्रममा एसपी चन्दले सदरमुकामसहित ग्रामीण तथा शहरी क्षेत्रका विभिन्न मतदान केन्द्रहरूमा पुगेर सुरक्षा व्यवस्थाको अवस्था, मतदान प्रक्रिया, मतदाताको सहभागिता तथा कर्मचारीहरूको तयारीको प्रत्यक्ष अवलोकन गर्नु भएको थियो। उहाँले मतदान केन्द्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा कर्मचारीहरूसँग छलफल गर्दै उनीहरूलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिनु भएको छ।

एसपी चन्दले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि प्रकारको अवाञ्छित गतिविधि, डर–त्रास वा प्रभाव पार्ने प्रयास सह्य नहुने स्पष्ट पार्नु भयो। मतदान केन्द्र वरपर शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिन आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिएको बताउँदै उहाँले सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नु भयो।

अनुगमनका क्रममा उहाँले मतदाताहरूका लागि बनाइएका प्रतीक्षालय, मतदान कक्ष, मतपेटिका व्यवस्थापन, अपाङ्ग, गर्भवती महिला तथा ज्येष्ठ नागरिकमैत्री सुविधाको समेत निरीक्षण गर्नु भएको थियो। साथै मतदाताले कुनै झन्झटबिना, स्वतन्त्र र निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गरिएको जानकारी दिनुभयो।

एसपी चन्दले निर्वाचन अधिकृत, स्थानीय प्रशासन तथा सरोकारवाला निकायबीचको समन्वय प्रभावकारी रहेको बताउँदै समन्वयकै कारण निर्वाचन व्यवस्थित र सुरक्षित रूपमा अघि बढिरहेको उल्लेख गर्नु भयो। उहाँले सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउन नियमित गस्ती, मोबाइल पेट्रोलिङ, निगरानी टोली र सूचना संकलन प्रणालीलाई सक्रिय बनाइएको जानकारी दिनुभयो।

Forbes

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार निर्वाचन अवधिभर जिल्लालाई विभिन्न सुरक्षा संवेदनशीलता अनुसार वर्गीकरण गरी आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रम, शान्ति सुरक्षा बैठक तथा समुदायस्तरको समन्वयलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

प्रहरी प्रशासनले नागरिकलाई कुनै पनि शंकास्पद गतिविधि, अफवाह वा समस्या देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा सुरक्षाकर्मीलाई जानकारी गराउन आग्रह गरेको छ। निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्वका रूपमा लिँदै सबै पक्षको सक्रिय सहभागिताबाट शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने विश्वास प्रहरी प्रशासनले व्यक्त गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु