गाडीका स्टाफहरूले यात्रुहरूलाई ताना–तान गर्ने काम बन्द गर्नुपर्छ : एसएसपी नवराज अधिकारी

काठमाडौँ — सार्वजनिक सवारीसाधनको सेवामा सुधार ल्याउन गाडीका स्टाफहरूले यात्रुहरूलाई जबरजस्ती ताना–तान गर्ने, होहल्ला गर्ने तथा असभ्य व्यवहार देखाउने प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले बताएका छन्।

ट्राफिक व्यवस्थापनसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एसएसपी अधिकारीले पछिल्लो समय बसपार्क, चोक तथा भीडभाड हुने स्थानमा सवारीसाधनका स्टापहरूले यात्रुलाई तान्ने, कराउने र दबाब दिने गुनासो बढ्दै गएको उल्लेख गरे। यस्तो व्यवहारले यात्रुहरूलाई असहज बनाउनुका साथै सवारी सेवाप्रति नकारात्मक धारणा विकास गरिरहेको उनको भनाइ थियो।

उनले यात्रुहरूलाई कुन सवारी चढ्ने भन्ने स्वतन्त्र अधिकार रहेको भन्दै त्यसमा हस्तक्षेप गर्नु गलत भएको बताए। “यात्रुहरू आफैं निर्णय गर्न सक्षम छन्। जबरजस्ती बोलाउने, तान्ने र झगडा गर्ने कार्यले दुर्घटनाको जोखिमसमेत बढाउँछ,” एसएसपी अधिकारीले भने।

एसएसपी अधिकारीका अनुसार सवारीसाधनको अनुशासन, सुरक्षा र सेवा स्तर सुधार्न ट्राफिक प्रहरीले नियमित अनुगमन गरिरहेको छ। नियम विपरीत यात्रु तान्ने, सवारी रोक्ने वा अव्यवस्थित रूपमा सवारी सञ्चालन गर्ने गाडी र स्टाफहरूलाई आवश्यक कारबाही गरिने उनले स्पष्ट पारे।

उनले सवारी व्यवसायीहरूलाई पनि आफ्ना स्टाफहरूलाई अनुशासित र जिम्मेवार बनाउन निर्देशन दिन आग्रह गरे। “सवारी सेवा केवल व्यवसाय मात्र होइन, सार्वजनिक उत्तरदायित्व पनि हो। यात्रुहरूप्रति सभ्य र सम्मानजनक व्यवहार गर्नुपर्छ,” उनले जोड दिए।

कार्यक्रममा एसएसपी अधिकारीले यात्रुहरूलाई समेत ट्राफिक नियम पालना गर्न, तोकिएको स्थानबाट मात्र सवारी चढ्न र अव्यवस्थित गतिविधिमा संलग्न नहुन आग्रह गरे। सबै पक्षको सहकार्यबाट मात्र सुरक्षित, व्यवस्थित र भरपर्दो सार्वजनिक यातायात सेवा सम्भव हुने उनको भनाइ थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु