ई –क्यान चितवन अधिवेशन : ५८ मतका लागि तीन प्यानलबीच प्रतिस्पर्धा

भरतपुर – नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) चितवनको १४औँ साधारणसभा तथा ८औँ अधिवेशन भरतपुरमा सुरु भएको छ।

आज हुने अधिवेशनले ई–क्यान चितवनको नयाँ नेतृत्व चयन गर्नेछ।अधिवेशनमा कुल ५८ मतका लागि तीन प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ।

अध्यक्ष पदका लागि आइएमआइएस एजुकेशनका सञ्चालक भोजबहादुर खड्का, पेनग्युइन एजुकेशनका सञ्चालक सुदिप भट्टराई र आकारुई एजुकेशनका सञ्चालक प्रज्वल पौडेल नेतृत्वका प्यानल चुनावी मैदानमा उत्रिएका छन्।

अध्यक्षका प्रत्यासी भोजबहादुर खड्काले स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र संस्थागत सुशासन अहिलेको ई–क्यानको मुख्य आवश्यकता रहेको बताएका छन्। उनले नेतृत्वमा आएपछि सदस्य कन्सल्टेन्सीहरूबीच एकता सुदृढ गर्ने, पेशागत मर्यादा कायम गर्ने, विद्यार्थी तथा अभिभावकको हितलाई प्राथमिकतामा राख्ने र शैक्षिक परामर्श व्यवसायलाई विश्वसनीय तथा व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन्। साथै, सरकारी निकाय तथा सरोकारवालासँग समन्वय गर्दै नीतिगत सुधारका लागि पहल गर्ने र सदस्यहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने पनि उनको भनाइ छ।
अर्का प्रत्यासी सुदिप भट्टराईले आफ्नो नेतृत्वले अव्यवस्थित शैक्षिक परामर्श बजारलाई नीतिगत रूपमा सुदृढीकरण गर्दै देखिएका समस्यालाई सहभागितामूलक ढंगले समाधान गर्ने बताएका छन्।

त्यस्तै, अध्यक्षका अर्का प्रत्यासी प्रज्वल पौडेलले कन्सल्टेन्सी व्यवसायमा देखिएका विकृति अन्त्य गर्दै अनधिकृत रूपमा सञ्चालनमा आएका व्यवसायलाई संस्थागत गर्ने र टिम बिल्डिङमार्फत ई–क्यानलाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, निर्वाचन प्रक्रिया अघि बढिसकेको र मतगणना पश्चात् आजै मध्यरातसम्म नयाँ कार्यसमितिको घोषणा हुने ई–क्यान चितवनका वर्तमान अध्यक्ष दिपकचन्द्र भट्टराईले जानकारी दिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु