काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरुलाई सधैँ अपमान गरेको आरोप लगाउनुभएको छ ।
एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलवार आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई धामीझाँक्री भनेर अपमान गरेको बताउनु भयो ।
गणतन्त्र नेपालको प्रधानमन्त्री भईसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरु प्रयोग गर्ने गरेको उहाँको आरोप छ । उहाँले कुनैपनि नेतृत्वलाई महिलाहरुको अपमान गर्न नसुहाउने भएपनि केपी ओलीलाई भने सुहाउने भन्दै व्यङ्ग्य पनि गर्नुभयो ।
ओलीमा महिलालाई हेर्ने सकरात्मक सोच र दृष्टिकोण नै नभएको उहाँको दाबी छ । उहाँले महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताउनु भयो । महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उहाँको भनाई छ ।


