वीरगञ्ज – नेपाल प्रहरीको प्रधान कार्यालयले हालै प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ । एकै पटक ६ सय ६५ जना प्रहरी निरीक्षकहरूको नयाँ जिम्मेवारी तोकिएको सरुवाले विभिन्न जिल्ला र कार्यालयहरूमा नयाँ नेतृत्व र व्यवस्थापनको अपेक्षा गरिएको छ ।
पर्सा जिल्लाको इलाका प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी निरीक्षक निरोज चौलागाइँलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ । उनको स्थानमा बिर्तामा प्रहरी निरीक्षक विक्रम सुबेदीलाई खटाइएको छ ।
त्यस्तै, वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ । अब श्रीपुरको जिम्मेवारी प्रहरी निरीक्षक नवीन थापा मगरले सम्हाल्नेछन् ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्सामा ट्राफिक प्रहरी निरीक्षकको रूपमा कार्यरत लोकराज भट्टलाई मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँमा पठाइएको छ । उनको स्थानमा प्रहरी निरीक्षक युवराज कटुवाल पर्सा आउने भएका छन् ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरूपराज शर्मालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा सरुवा गरिएको छ भने उनको ठाउँमा प्रहरी निरीक्षक प्रदीप पौडेललाई खटाइएको छ ।


