चितवन – ४३ बर्षअघि बनेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ (भरतपुर) र गैँडाकोट (नवलपरासी) जोड्ने नारायणी नदीको पुल पुरानो र जीर्ण बन्दै गएको छ भने नयाँ सिग्नेचर पुलको निर्माण कार्य सुरु हुन सकेको छैन ।
वि.सं २०३८ साल अघिसम्म नारायणी नदीमा डुंगाको सहायताले वारपार गरिन्थ्यो । त्यसपछि वि.सं २०३९ सालमा अहिलेको नारायणी पुल निर्माण भएको थियो ।
पुल पुरानो हुँदै जाँदा बढ्दो सवारीसाधनको भार, पैदयात्रीको चाप र नारायणी नदीमा आउने बाढीका कारण पुल जोखिममा रहेको छ । यी विभिन्न कारणले पुल भाँचिने र भत्किने सम्भावना पनि हुन सक्छ । यस पुलको बिकल्पमा अर्को पुल समयमै निर्माण हुन सकेन भने पूर्व पश्चिम राजमार्गको सम्बन्ध नै टुट्ने भरतपुर ३ निवासी पूर्व वडाध्यक्ष एवम् समाजसेवी बामदेव खनाल बताउँछन् ।
उनी २०१५ सालदेखि नारायणगढमा बस्दै आएका पुराना बासिन्दा हुन् । उनका बुबा १९९० सालमा चितवन आएका थिए । खनालले नारायणी नदीको पुरानो अवस्थाको स्मरण गर्दै पूर्व -पश्चिम राजमार्ग जोड्नका लागि राजा महेन्द्रको पालामा पुल बनाउने प्रस्ताव भएको बताए ।
सोही अनुसार हाल सञ्चालनमा रहेको नारायणी नदीको पुल २०३९ साल कृष्ण जन्माष्टमीका दिनमा उद्घाटन भएको उनको भनाई छ । उनी भन्छन्, पूर्व पश्चिम राजमार्गको मुटुमा रहेको उक्त पुल भाँचियो र बिग्रियो भने राजमार्ग नै ठप्प हुन्छ ।
नारायणी नदीमा नयाँ बन्ने भनिएको ‘सिग्नेचर ब्रिज’ (पुल) को शिलान्यास गरेपनी पुलको काम शुरु हुन नसकेको उनको भनाई छ । ‘अति संवेदनशील, अति आवश्यकता र पहिलो प्राथमिकता साथ लागेर उक्त पुलको बिकल्पमा अर्को पुल समयमै निर्माण गर्नुपर्छ, त्यसका लागि स्थानीयदेखि केन्द्रीय सरकारसम्मलाई बिशेष आग्रह गर्न चाहन्छु’ उनले भने।
नारायणी नदीमा नयाँ बन्ने भनिएको ‘सिग्नेचर ब्रिज’ को ठेक्का लागेको दुई वर्ष चार महिना तथा शिलान्यास गरेको डेढ वर्ष बितिसकेको छ ।
गत वर्ष वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढस्थित नारायणी नदी किनारमा पुलको शिलान्यास गरेका थिए । सिग्नेचर पुल निर्माणको काम अझै सुरु भएको छैन ।
हाल सिग्नेचर पुलको डिजाइनको प्रक्रिया चलिरहेको सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बताए । पुल निर्माणका लागि २०८० जेठ १९ गते निर्माण कम्पनीसँग सम्झौता भए पनि ठेक्का लगाएपछि मात्रै सो क्षेत्रको सर्भे गरेर डिजाइन बनाउनु पर्ने भएकाले बढी समय लागेको उनको भनाइ छ।
‘सो पुलको निर्माण गर्नका लागि ४८ महिना अर्थात् चार वर्षको अवधिमा सम्पन्न गर्ने ठेक्का कम्पनीसँग सम्झौता भएको छ’ उनले भने । नेपालमा नै पहिलो नेपालीले सो पुल निर्माण गर्न लागेको हुँदा अन्य पुलभन्दा जटिल र समय लाग्ने हुनाले डिजाइनको काम फाइनल हुन बाँकी रहेको भनाई थियो।
डिजाइन करिब सकिए पनि केही परिमार्जन गर्नुपर्ने भएकाले अझ लामो समय लागेको उनले बताए। डिजाइन एण्ड बिल्डका आधारमा बन्ने यो पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । पुलको डिजाइन नै निर्माण कम्पनीले तयार गर्ने गरी ठेक्का सम्झौता भएको थियो । मूल्यअभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा पाएको छ ।
नारायणीमा पुरानो पुलकै आडबाट नयाँ पुल बन्दै छ । पुरानो पुलभन्दा फरक डिजाइन र आकर्षक हुने भएका कारण यसलाई सिग्नेचर ब्रिज भनेर प्रचार गरिँदै आएको छ । यहाँ नयाँ पुल बने पनि पुरानो पुल कायमै रहने छ ।


