बीरगंज – मानव बेचबिखन तथा ओसार पसार विरुद्दको राष्ट्रिय दिवस भाद्र २० को अवसरमा नेपाल सरकार महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय द्वारा जिल्ला प्रहरी कार्यालय, पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र सम्मानित भएका छन् । ७७ वटा जिल्ला मध्ये भएको प्रतिष्पर्धामा मानव बेचबिखन विरुद्द खरो उत्रियको पर्सा प्रहरीले बाजी मारेको हो ।
मानव बेचबिखन एउटा गम्भिर अपराध हो । बर्ष भरी प्रहरीले गरेको मानव बेचबिखन विरुद्धको कार्य विवरणका आधारमा महिला तथा बालबालिका मन्त्रालयको छनौट समितिले उत्कृष्ट जिल्ला छनौट गर्ने परम्परा अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा प्रथम स्थान प्राप्त गरी सम्मानित हुन सफल भएको हो ।
प्रहरी उपरीक्षक गौतम मिश्र ७ महिना अगाडि जिल्ला प्रहरी कार्यालय, पर्सामा हाजिर भएपछि मानव बेचबिखन सम्बन्धि कसूरको विरुद्दमा दह्रो अभियान नै छेडेका थिए ।
उनि हाजिर भए पश्चात् १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ गरी सफल अनुसन्धान, करिब ३ सय जना जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई सकुशल उद्दार गरी मानव बेचबिखन सम्बन्धि ३ सय ५० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बिभिन्न सरोकारवाला निकायहरू संग समय समयमा गरिएका अन्तरक्रिया कार्यक्रमले समग्र जिल्लामा यस्ता किसिमका अपराधहरूको न्यूनिकरण गर्नुका साथै कानूनी दायरामा ल्याउन अहम भूमिका खेलेको पाइन्छ ।


