एडिलेड,अस्ट्रेलिया- विदेशमा बस्दा मातृभूमिको माया अझ प्रगाढ हुन्छ। आफ्ना परम्परा, संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभिप्रायसहित एडिलेडमा यस वर्ष गौरा पर्व भव्य रूपमा मनाइने भएको छ। सुदूरपश्चिम समाज साउथ अष्ट्रेलियाको आयोजना तथा नेपाली समुदायको सक्रिय सहभागितासहित यहि आइतबार, ३१ अगस्ट २०२५ मा Cosgrove Hall, Clovelly Park मा आयोजना हुने कार्यक्रम दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने बताइएको छ।
कार्यक्रम संयोजक रमेश जोशी भन्छन्, “गौरा पर्व हाम्रो पहिचान, हाम्रो संस्कार र हाम्रो परम्पराको दर्पण हो। विदेशमा पनि यसलाई जोगाएर नयाँ पुस्तासम्म पुर्याउनु हाम्रो प्राथमिक उद्देश्य हो। यस पर्वमार्फत हामी नेपाली समुदायभित्रको आपसी प्रेम, सहयोग र सद्भाव अझ सुदृढ बनाउने लक्ष्य राखेका छौँ।”
नेपालमा भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म मनाइने गौरा पर्वमा गौरा देवी–महेश्वरको पूजा, व्रत, कथा वाचन, ‘बिरुँडा’ अर्पण र प्रसाद ग्रहण गर्ने परम्परा हुन्छ। त्यस्तै, देउडा, धमारी, चैतजस्ता मौलिक लोकनृत्य र गीतमार्फत आपसी भाईचारा, सामाजिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरिन्छ।
संयोजक जोशीका अनुसार “यस पर्वले पति–पत्नीबीचको सम्बन्धलाई प्रगाढ बनाउने, टुटेका सम्बन्धहरू मिलाउने, दुःख–सुख बाँड्ने र समुदायलाई अझ नजिक ल्याउने परम्परा बोकेको छ। यही भावनालाई लिएर हामी यस वर्ष एडिलेडमा भव्य रुपमा कार्यक्रम आयोजना गर्दैछौँ।”
आयोजकहरूले एडिलेडमा बसोबास गर्ने सम्पूर्ण नेपाली, नेपालबाट आएका अभिभावक तथा नयाँ पुस्तालाई हार्दिक निमन्त्रणा गर्दै सहभागितामार्फत कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।


