चितवन – पर्वत थातथलो भई विभिन्न कारणले अस्थायी वा स्थायी रुपमा चितवन जिल्लामा बसोबास गरिरहेका पर्वतेहरुको साझा संस्था पर्वत–चितवन समाज जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको छ ।
पर्वतबाट चितवन आएर बसेका सम्पूर्ण पर्वतेहरुलाई भातृत्व, आपसी सद्भाव एवं सुखदु:खमा एकसाथ हुन सजिलो हुने हेतुले सम्पर्क समाज गठन गरिएको संस्थाका अध्यक्ष विकास पौडेलले बताए । एक वर्ष अगाडिदेखि छलफल चलाएर सम्पर्क समाज गठनका लागि प्रयास थालिएको बताउँदै अध्यक्ष पौडेलले आज त्यसले मूर्तरुप पाएको र यसलाई अगाडि बढाउन जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिए ।
थातथलो पर्वत भएका र विभिन्न समयमा स्थायी वा अस्थायीरुपमा चितवन जिल्लामा आई बसोबास गर्ने पर्वतेहरुको गत माघ ५ गते शनिबार बसेको भेलाले पौडेलको नेतृत्वमा सम्पर्क समाज गठन गरेको थियो । भेलाले ५ सदस्यीय विधान समिति समेत गठन गरेको थियो ।
‘संस्था जन्मिनु आफैमा ठुलो उपलब्धि हो भने संस्थालाई जीवन्त हुने गरी कर्म गर्नु महान उपलब्धि हो भन्ने कुरामा हामी सबै सचेत छौँ’ अध्यक्ष पौडेलले भने, ‘कुनै राजनैतिक विचार नराखी त्योभन्दा माथि उठेर सबैले सबैको हितमा काम गर्ने गरी हाम्रा यात्राहरु अगाडि बढ्ने छन् । यो यात्रामा निरन्तर लाग्नुहुने तदर्थ समितिका सम्पूर्ण साथीहरुप्रति हृदयत: सम्मान व्यक्त गर्दछौँ ।’


