चितवन – नेपाली कांग्रेसमा लागेर जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य भइसकेका तीर्थराज भुसालले अब आफू कुनै दलभित्र नरही स्वतन्त्र रहने बताएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जननायक बिपी कोइराला र मेरा पिता आनन्द भुसालको प्रेरणा एवम् मार्ग निर्देशन अनुरुप म तीर्थराज भुसाल सानै उमेरदेखि नेपाली कांग्रेसको सदस्य भई क्रियाशील हुँदा विगतमा नेपाली कांग्रेस चितवनको सभापति एवम् प्रतिनिधिसभाको निर्वाचित सांसदका हैसियतले लोकतन्त्रको प्रवर्धन र संरक्षणमा क्रियाशील रहेको थिएँ । तत्कालीन समयमा राजनीतिक दलहरुमा बिकृती र विसंगति पैदा भई मुलुकमा असहज परिस्थिति सिर्जना हुँदै गयो ।’
‘तत्काल नेकपा एमाले र नेकपा माओवादी एकीकृत भई बनेको नयाँ दल नेपाल कम्युनिष्ट पार्टीले मुलुकमा स्थायित्व दिन सक्छ कि भन्ने अपेक्षाका साथ म उक्त नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको थिएँ । मेरो चाहना र अपेक्षा विपरीत छोटो समयमा नै उक्त पार्टीमा ठूलो विग्रह पैदा भई सो पार्टी विघटन भएपश्चात हालसम्म मैले कुनै पनि राजनीतिक दलको सदस्यता नलिई स्वतन्त्र रुपमा रहेको व्यहोरा यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराँउदछु’ विज्ञप्तिमा भनिएको छ ।
अब उप्रान्त स्वतन्त्र नागरिकको हैसियतले मुलुक, समाज र लोकतान्त्रिक पद्धतिको संबर्धन र संरक्षणका लागि सधैँ क्रियाशील रहने प्रतिवद्धता भुसालले व्यक्त गरेका छन् ।


