मंगोलिया – प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन एर्डेनले राजीनामा दिएका छन् । संसद्मा विश्वासको मत गुमाएपछि उनले राजीनामा दिएका हुन् । सन् २०२१ मा उनले सत्ता सम्हालेका थिए । गत वर्षको चुनावमा ओयुन एर्डेनको मंगोलियन पिपुल्स पार्टी (एमपीपी) ले बहुमत ल्याउन नसकेपछि तीन दलको गठबन्धन सरकार बनेको थियो ।
दुई सातायता राजधानी उलानबटारमा प्रधानमन्त्रीको परिवार भ्रष्टाचारमा संलग्न भएको भन्दै विरोध प्रदर्शन भएको थियो । यही प्रदर्शन बढ्दै गएको पृष्ठभूमिमा संसद्मा गोप्य मतदान भएको थियो । ६४ जनाको मत पाउनुपर्नेमा ओयुन एर्डेनले ४४ मत मात्र प्राप्त गरे । नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा भने रहनेछन् ।
प्रधानमन्त्रीका परिवारका सदस्यले सरकारी कोष दोहन गरेको र विलासी जीवनशैलीको आनन्द लिएको आरोप लाग्दै आएको छ । गत महिना एएफपीलाई दिएको एक बयानमा प्रधानमन्त्रीको कार्यालयले आरोपहरुको खण्डन गर्दै अस्वीकार गरेको थियो । चार वर्षभन्दा बढी प्रधानमन्त्री पदमा रहेका ओयुन एर्डेनले मतदानअघि संसद्मा बोल्दै अदृश्य स्वार्थ समूहले सरकार ढाल्न संगठित अभियान चलाएको आरोप लगाएका थिए ।
सोमबार पनि सयौं युवाले सेतो प्लेकार्ड बोकेर संसद् भवनअघि नाराबाजी गरेका थिए । उनीहरुले नारा लगाएका थिए, ‘राजीनामा त सजिलो हो ।’ धेरैजसो प्रदर्शनकारीले आफूहरू जरा गाढिएको भ्रष्टाचार र सामाजिक अन्यायप्रति आक्रोश व्यक्त गर्न आएको बताएका छन् । किन सुरु भयो मंगोलियामा प्रदर्शन ?बीबीसीका अनुसार प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन एर्डेनका छोराले विलासी जीवनशैली झल्काउने तस्बिर सामाजिक सञ्जालमा राखेपछि सर्वसाधारणमा असन्तुष्टि सुरु भएको थियो । भाइरल भएका तस्बिरमा प्रधानमन्त्रीका छोरा र उनकी प्रेमिकाले इन्गेजमेन्टको छुट्टी मनाइरहेको र त्यस क्रममा महँगा ब्याग ‘सो अप’ गरेको देखिन्छ । यही तस्बिर सार्वजनिक भएपछि सर्वसाधारणले उनीहरूको विलासी जीवनशैलीमाथि प्रश्न उठाउन सुरु गरेका थिए ।
प्रधानमन्त्रीका छोराकी प्रेमिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘ह्याप्पी बर्थ डे टु मी ।’ अर्को तस्बिरमा भने यो जोडीले स्विमिङ पुलमा चुम्बन गरिरहेको देखिन्छ ।बीबीसीले लेखेको छ, ‘प्रर्दशनकारीले ओयुन एर्डेनका परिवारले कसरी विलासी जीवन धान्न सकेका छन् भनेर प्रश्न उठाएका थिए ।’ अलजजिराले भने प्रधानमन्त्रीको परिवारको विलासी जीवनशैलीप्रति जनआक्रोश उकालो लाग्दै गएको लेखेको छ ।

