चितवन – ‘मनोसामाजिक समस्या तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण’ विषयक प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम शनिबार नारायणगढमा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ को सहयोगमा केटिबी एड्भरटाइजिङ एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.ले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर–३ का वडाध्यक्ष विकास थापाले मानव जीवनमा सकारात्मक सोचाइ र आत्मविश्वास महत्वपूर्ण हुने बताए । ‘सबै कुरा सकारात्मक हुन्छ भन्ने छैन तर हामीहरुले नकारात्मक कुरालाई त्यागेर सकारात्मक बाटोमा हिँड्नु पर्छ’ उनले भने । यो कार्यक्रमबाट यस्ता प्रशिक्षण हरेक टोलमा पुर्याउनु पर्ने सन्देश प्राप्त भएको पनि उनले बताए ।
भरतपुर महानगरपालिकाका स्वास्थ्यविज्ञ सल्लाहकार डा. भोजराज अधिकारीले कुलत वा दुर्व्यसनका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या आउने बताए । उनले मनोसामाजिक स्वस्थताबारे बताउँदै एन्जाइटी, मेनिया, डिप्रेसनलगायतका मानसिक स्वास्थ्य समस्या आउनुमा दुर्व्यसनको हात रहने जानकारी गराए । ‘सोचाइ, अनुभूति र गराइको वृत्त मिल्यो भने हामीले चाहेको काम गर्छौं’ उनले भने, ‘सोच्न एउटा सोच्यौँ, अनुभूति अर्कै गर्यौँ भने चाहेको काम गर्न सक्दैनौँ ।’
मनोचिकित्सक डा. सिपी सेढाईंले दुर्व्यसनी हुनु आफैमा एउटा मनोसामाजिक समस्या भएको र यसले थप मानसिक समस्या निम्त्याउने बताए । भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले आज विश्व धुमपानरहित दिवस भएको स्मरण गराउँदै विश्वमा बर्सेनि १३ लाख मानिसहरुको मृत्यु धुमपानकै कारण हुने गरेको जानकारी दिए । फोक्सो, घाँटी र मुखमा क्यान्सर भएकामध्ये ८० प्रतिशतको कारण रक्सी, चुरोट वा सुर्तीको प्रयोग हुने गरेको उनको भनाइ थियो ।
केटिबी एड्भरटाइजिङ एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि.का अध्यक्ष किशोर चन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार अजिता अधिकारीले गरेकी थिइन् । कार्यक्रममा भरतपुर–३ भित्रका विभिन्न टोल विकास संस्था, आमा समूह, सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकलगायत करिब ४ सय जनाको सहभागिता रहेको कार्यक्रम संयोजक प्रकाश ज्ञवालीले जानकारी दिए ।



