चितवन हबको ११औँ एसक्युसी कन्भेन्सन सम्पन्न, जीवनाथ तिमिल्सिनालाई ‘ओमराज मैनाली मेमोरियल अवार्ड’

एटुजेड समाचार

चितवन – क्वेस्ट–नेपाल (QUEST-Nepal) अन्तर्गत चितवन हबको आयोजनामा ११औँ हब कन्भेन्सन अन स्टुडेन्ट्स क्वालिटी सर्कल (SQC)–२०२६ भव्य रूपमा सम्पन्न भएको छ ।

आइतबार भरतपुर–१५ स्थित उषा इङ्लिस बोर्डिङ स्कुलमा आयोजित कन्भेन्सनमा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कन्भेन्सन संयोजक, चितवन हब कोअर्डिनेटर तथा इडेन गार्डेन स्कुलका प्राचार्य अर्जुन जी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता क्वेस्ट–नेपालका अध्यक्ष एवं काठमाडौं युनिभर्सिटी हाई स्कुल (KUHS) का प्राचार्य नारद रिजालले गरेका थिए । कार्यक्रमको सह–संयोजन आतिथ्य विद्यालय उषा इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य नरेश ढकालले गरेका थिए ।

‘Cultivating Empathy through SQC’ अर्थात् ‘एसक्युसीमार्फत समानुभूतिको विकास’ भन्ने मूल नाराका साथ आयोजित कन्भेन्सनमा विद्यार्थीहरूले विभिन्न सिर्जनात्मक, बौद्धिक तथा प्रयोगात्मक गतिविधिमार्फत आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल डिस्कसनमा विद्यार्थीहरूले मूल विषयवस्तुमा केन्द्रित रहेर समानुभूतिको महत्व, यसको व्यावहारिक प्रयोग तथा सामाजिक जीवनमा यसको भूमिकाबारे आफ्ना विचार र अनुभव प्रस्तुत गरेका थिए ।

त्यसैगरी, विद्यार्थीहरूले विगत ६ महिनादेखि मेहनतपूर्वक तयार पारेका केस स्टडी प्रस्तुत गर्नुका साथै कोलाबोरेटिभ कोलाज आर्ट, एसक्युसी ट्रेजर हन्ट, मन्डेला आर्ट वर्कशप तथा ‘ह्वाई एन्ड हाउ’ (Why and How) लगायतका गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए ।

यस्ता गतिविधिले विद्यार्थीहरूको सिर्जनशीलता, सहकार्य, तार्किक क्षमता र समस्या समाधान गर्ने सीप अभिवृद्धिमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

कन्भेन्सनको विशेष अवसरमा एसक्युसी अभियानमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका जीवनाथ तिमिल्सिनालाई ‘ओमराज मैनाली मेमोरियल अवार्ड’ प्रदान गरी सम्मान गरिएको छ ।

स्वर्गीय ओमराज मैनालीले एसक्युसी अभियानको विकास र विस्तारमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै यस अभियानको प्रवर्द्धन र विकासमा तिमिल्सिनाले पुर्‍याउँदै आएको निरन्तर योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको समापनसँगै आगामी १२औँ हब कन्भेन्सनको आयोजनास्थलसमेत तय गरिएको छ । समापन सत्रमा ब्यानर हस्तान्तरण गर्दै आगामी वर्षको कन्भेन्सन गैंडाकोटस्थित स्मल हार्ट एकेडेमीमा आयोजनागर्ने घोषणा गरिएको हो ।

विद्यार्थीहरूमा गुणस्तरीय सोच, नेतृत्व क्षमता, सामूहिक भावना, समस्या समाधान गर्ने सीप तथा समानुभूतिको विकास गर्ने उद्देश्यले स्टुडेन्ट्स क्वालिटी सर्कल (SQC) अभियान सञ्चालन हुँदै आएको छ ।

सोही अभियान अन्तर्गत चितवन हबले विद्यार्थीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै हरेक वर्ष यस्ता रचनात्मक तथा सिकाइमा आधारित कार्यक्रम आयोजना गर्दै आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु