वृद्ध भत्ता पाउने उमेर ६८ बाट ७० वर्षमा बढाउने तयारी

एटुजेड समाचार

काठमाडौं – सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । बिहीबार सार्वजनिक हुने बजेट मार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । अहिले ६८ वर्ष पूरा भएका लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँदै आएका छन् । यो उमेर बढाएर ७० वर्ष पुर्‍याउँदा अहिले पाइरहेका लाभग्राहीको सेवा भने काटिने छैन ।

नयाँ प्रावधान अनुसार १ साउन २०८२ देखि ७० वर्ष पुग्ने लाभग्राहीले मात्र नयाँ वृद्ध भत्ता पाउने छन् । यसअघि नै ६८ वर्ष पुरा भई वृद्ध भत्ता पाइरहेकाको भने रकम काटिने छैन ।

सरकारले सामाजिक सुरक्षामा बढ्दो दायित्व न्यूनीकरण गर्न भन्दै वृद्ध भत्ता पाउने उमेर बढाउन लागेको हो । सरकारलाई यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत उमेर बढाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्बाट यसबारे निर्णय समेत भइसकेको छ ।

अहिले साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिक र देशभरिका दलित नागरिकले ६० वर्ष उमेर पुगेसँगै वृद्ध भत्ता पाउँछन् । उनीहरूलाई मासिक २ हजार ६ सय ६० रुपैयाँ दिने गरिन्छ । विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन् ।

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन् । यसबाहेक अपांगता भएका, लोपोन्मुख आदिवासी, जनजाती र तोकिएका क्षेत्रका बालिबालिकालाई समेत मासिक भत्ता दिने गरिन्छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु