चितवन – बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेल्ने चितवनको खेलाडीलाई बिदाई गरिएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिले आज (मंगलबार) सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाई गरेको हो ।
प्रतियोगिता जेठ १३ देखि १५ गतेसम्म काठमाडौं र ललितपुरमा हुँदैछ । प्रतियोगिताका लागि चितवनबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक सय २ जनाको टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ । उनीहरुलाई चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, कार्यालय सचिव रामजी ढकाललगायतले खेल सामग्रीसहित बिदाई गरे ।
सो अवसरमा कार्कीले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिन शुभकामना दिए । उनले अनुशासित भएर खेल प्रस्तुत गर्न पनि आग्रह गरे । खेलाडीहरुका लागि समितिले पहिलो पटक बन्द प्रशिक्षण राखेको बताउँदै उनले नतिजा राम्रो आउने विश्वास व्यक्त गरे । उनले खेलाडीहरुको खेल क्षमता बिकासमा समितिले सधैं जोड दिएको बताए ।
चितवनको खेलकुदलाई नयाँ गति दिने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो । चितवनबाट नै अन्तरराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नु आफ्नो लक्ष्य रहेको पनि उनले बताए । जिल्ला खेलकुद बिकास समितिले प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्डका लागि पहिलो पटक बन्द प्रशिक्षण राखेको थियो । प्रतियोगिता अघिको बन्द प्रशिक्षणले राम्रो नतिजाका लागि मद्त पुग्ने प्रशिक्षकहरुको विश्वास छ ।


