मुखमा राम राम, बगलिमा छुरा ! यो उखान हाम्रो समाजमा प्रचलित छ । अगाडि पर्दा मीठो, मसिनो र नम्र स्वरले मस्का लगाइलगाइ बोल्ने तर पिठ पछाडि कुरा काटिहाल्ने कुरौटे वा घात गरिहाल्ने घाती ब्याक्तिहरुको कमि छैन हाम्रो समाजमा । यस्ता ब्यक्तिहरुलाई उनिहरुको बोलाइको तरिकाबाटै सहजै चिन्न सकिन्छ । मानिसका बोलाइ, बोल्ने तरिका र बोल्नुका स्वभावहरु विभिन्न प्रकारका हुन्छन जुन व्यक्ति विशेषको नम्रता, पारिवारिक बाताबरण, सामाजिक संस्कार, अनुभव, बानी, भावनात्मक अवस्था र उद्देश्यमा आधारित हुन्छन ।
मधुर स्वरमा नम्र भएर, अरुलाई आदर सत्कार गरेर, शान्त भएर, खुलस्त रुपमा मीठो र सत्य बोली बोल्नेहरु सबैको मनमा बस्न सफल हुन्छन यसमा दुइमत छैन तर आबश्यकता भन्दा बढी “चिप्लो पारेर बोल्ने चिप्लेहरुको” स्वभाव सधै स्वार्थी, अवसरवादी, बिस्वासघाती र कुटनीतिक प्रकृतीको हुन्छ । उनिहरुले कसैसंग बोल्दा जहिले पनि अत्याधिक झुठा प्रशंसा गर्ने, सबैको मन जित्न खोज्ने, सधैँ सकारात्मक जस्तो कुरा गर्ने तर मनमा कलुषित भावना बोकेर बदला लिने, आफ्नो स्वार्थ पुर्ती गर्ने वा अरुको कुभलो गर्ने योजना बोल्दा बोल्दै बनाइसकेका हुन्छन । यस्ता मानिसहरुसित बोल्दा अर्थात भित्री गोप्य कुराहरु खोल्दा धेरै बिचार गर्नुपर्ने हुन्छ । अरुको कुरा धुतेर अन्तिममा उसैलाइ प्रहार गर्ने यिनको नियत र चालबाजी नै रहेको हुन्छ । जता पनि ठिक्क पारेर बोल्ने यस्ता दुइजिब्रे चिप्लेहरु अरुकोबारेमा समाजमा भ्रम फैल्याउन माहिर हुन्छन । यिनिहरुको आफ्नो बिचार भन्ने नै हुदैन, अरुकै बोलिमा हो मा हो मिलाउदै जान्छन ।
बोल्दा धेरै चिप्लो घस्ने चिप्लेहरूको बोलिमा नम्रता देखिए पनि त्यसको पछाडि कुनै न कुनै स्वार्थ लुकेको नै हुन्छ । यिनीहरू एक ठाउँमा एकथरी कुरा र अर्को ठाउँमा अर्कै कुरा बोल्ने गर्दछन । सत्यतालाई पनि घुमाएर, आफुले चाहे अनुसारको सन्दर्भ मिलाएर बोल्ने प्रवृत्तिका हुन्छन । अरूलाई बढि नै मात्रामा जि हजुरी लगाएर बोल्ने, झुठो प्रशंसा गरेर मन जित्ने प्रयत्न गर्दछन । चिप्लो बोलीले क्षणिक सम्बन्ध बनाइ स्वार्थ पूरा भएपछि वा नहुने देखेपछि परिस्थिति अनुसार उनीहरूको व्यवहार समेत बदलिदै जान्छ । छेपाराले रंङ्ग फेरे झै फेर्छन । त्यस्ता व्यक्तिहरू बाहिरी रूपमा सभ्य र राम्रा देखिन सक्छन तर उनिहरुको भित्री मनोवृत्ति भने इमान्दारीपूर्ण हुँदैन ।
चिप्लो बोल्ने, मस्का लगाएर बोल्ने, मसिनो स्वरमा कुरा चपाएर बोल्ने वा चाकडी चाप्लुसीको झल्को दिने शैलिमा बोल्ने सबै मान्छेहरूमध्ये अपबादमा कोहि राम्रै हुन पनी सक्लान तथापी त्यस्ता मानिसहरुको बोली र व्यवहारलाई सजग भएर परिक्षण भने गरिरहनुपर्छ । यदि उसको व्यवहार सहयोगी, इमानदारी र कर्म राम्रो छ भने चिप्लो बोल्ने उसमा भएको सकारात्मक गुण हो भन्ने पनि बिर्सिनु भएन । त्यसैले कसैको बोली मात्र होइन, उसको व्यवहार र कर्म पनि हेरेर मूल्यांकन गर्नु उचित हुन्छ । यदि उनिहरुको हरेक बोलिले शंका उत्पन्न गर्छ, उनिहरुको बोली र ब्याबहार फरक देखिन थाल्छ, कर्म र कथनिमा मेल खादैन, अघाडी ठिक्क पार्ने तर पछाडी घात गरेको सानो भन्दा सानो प्रमाण / सुचना भेटिन्छ भने त्यो मान्छे ठिकछैन भन्नेमा निश्चिन्त हुन सक्नुहुनेछ । कसैले केवल चिप्लो पारामा मात्र कुरा गर्छ र कहिल्यै आलोचना स्वीकार गर्दैन वा सत्य बोल्दैन भने त्यो नै पहिलो संकेत हो कि उसले आफ्ना स्वार्थका लागि बोलिमा मिठास प्रयोग गरिरहेको हुन सक्छ ।
चिप्लेहरुलाई समाजमा कुरौटे पनि भनेर शंका गर्दछन । “कुरौटे” भन्ने शब्दले नेपाली समाजमा सामान्यतया धेरै कुरा गर्ने, सधै दोहोरो अर्थ लगाउन मिल्ने खालका शब्दहरुको प्रयोग गरेर बोल्ने, कुरालाई सधै अलमलमा पर्ने, स्पष्ट नबोल्ने, अघाडी ठिक्क पार्ने तर पछाडी उसैको बारेमा समाजमा नराम्रा कुरा गरेर भ्रम फैल्याउने, यताका कुरा उता पुर्याउने अनि उताका कुरा यता ल्याएर लगाउने, कसैको घरपरिवार र सम्बन्धमा फाटो ल्याउने खालका कुरा गरिदिने, कसैलाइ उचाल्ने र कसैलाइ पछार्ने गरि कुरा गर्ने, कानेखुशी गरेर कुरा गर्ने, साउती लगाउने, गोप्य हो है कसैलाइ नभन्नु भन्दै आफैले सबैजनालाइ भन्दै हिडने, थाहा पाउनु भो त्यता त यस्तो भएछ नि भन्दै हल्ला पिटाउदै हिडने, अनावश्यक कुराहरु लम्ब्याउने र बारम्बार उही कुरा दोहोर्याउने, बिनाकारण तर्कगर्ने लगायतका प्रबृती भएका खवरिलाल मानिसहरु भन्ने बुझाउछ ।
यस्ता चिप्लो बोल्ने चिप्लेहरुलाई हाम्रो टोल, छिमेक, गाउघर वा समाजमा सबैले नारदमुनी भनेर पनि चिन्ने गर्दछन । समाजमा नारद भन्ने बित्तिकै हावामा कुरा फैल्याउने, आफै कुरा बनाउने, कुरा कम्पनीका मालिक भनेर चिप्लेहरुलाई नै चिनिन्छ । हाम्रो समाजले कहिलेकाहीँ व्यंग्यात्मक रूपमा कुरौटे वा चिप्लेहरुलाई नारद जस्ता महान ऋषिसंग जोडेर उनको अपमान गरिरहेका छन । नारद हिन्दू धर्मका एक प्रसिद्ध ऋषिमुनि हुन । उहालाई प्राय देवता र मानवबीचको सन्देशवाहक, ज्ञानदात्री र भक्तिमार्गको प्रचारकका रूपमा चिनिन्छ । उहा भगवान विष्णुका परम भक्त मानिनुहुन्छ । संगीत र वीणाका ज्ञाता, लोक कल्याणको निम्ति निरन्तर खटिनुहुने उहालाई किन कुरौटे मानिससंग दाजिएको होला ? नारद जस्ता विद्वान ॠषिसंग आफ्नो परिचय जोडिएकोमा कुरौटेहरु पनी खुब मख्ख पर्दा हुन गाठे ! प्राचीन कथाहरूमा नारदले देवताहरू वा राजाहरू बीचमा विभिन्न सूचना, गोप्य कुरा वा सुझाब दिएर, संचार संबाहक बनेर परिस्थितिमा नया मोड ल्याइदिने ब्यक्तिलाई हाम्रो समाजले कुरौटेसित तुलना गरेको देख्दा हामिलाई पनि दुख लाग्नु स्वाभाबिकै हो ।
चिप्लो बोल्नेहरू प्राय कम बोल्छन् तर प्रभाव पार्ने शब्द र कुरा प्रयोग गर्छन । उनीहरूको उद्देश्य अरूको मन जित्नु, सधै अरुलाई प्रभावित पारेर स्वार्थपूर्ति गर्नु हुन्छ, त्यसैले उनीहरूले आफ्नो बोलीमा सन्तुलन राख्न खोज्छन । चिप्लेहरुका मिठा कुरा सबै सत्य हुँदैनन । चिप्लो बोलीले चित्त त बुझाउँछ, तर चरित्र बुझाउदैन । यस्ता चिप्लेहरुले आफ्ना कुरा बिरालोले …. लुकाएझै लुकाउछन तर अरुको बारेमा सधै चियोचर्चो गरिरहन्छन । साँचो मित्र वा साँचो मान्छे कहिलेकाहीँ कठोर सत्य बोल्न सक्छ, तर उसमा स्वार्थ हुँदैन । निर्धक्कसंग फटाफट बोल्ने मान्छेको मनमा पाप हुदैन । त्यस्ता मान्छेहरु कडा स्वभाबका जस्ता देखिए पनि पबित्र मनका हुन्छन । त्यसैले होला नीतिशास्त्रमा पनि “मृदुभाषिणः प्रियं वदन्ति न तु सर्वदा सत्यं वदन्ति” अर्थात मीठो बोल्ने सबैले साँचो नै बोल्छन् भन्ने हुँदैन भनेरै लेखिएको छ ।
मैले भोगेको एउटा घटना यहानेर पाठकमित्रहरुमा सुनाउने अनुमती चाहान्छु । COVID 19 को महामारिको समयमा मलाइ सायद टोलकै एकजना कुनै चिप्लेले दिनु तनाब दियो । त्यो समयमा एभरेस्ट पेन्टका प्रोपाइटर निरौलाजि हाम्रै घरमा बस्नुहुन्थ्यो । कोरोना कै कारणले फेक्ट्री बन्द गर्नु परेकोले उहाँ बिराटनगर जानुभयो । करिब चार महिनापछि उहाँ घरबाट फैक्ट्रीको अबस्था हेर्न भनी आफ्नै गाडिमा एक्लै सुरक्षित हुँदै आएर आफ्नै कोठामा बस्नुभयो । मैले भारततिरको नया मान्छे ल्याएर घरमा राखेकोले टोलमा कोरोना फैल्याउन सक्ने भन्दै कसैले वडामा खवर पुर्याएछन । मलाई वडा र प्रहरीबाट को हो, के हो, किन बस्न दिएको ? आदि भन्दै सोधपुछ हुन थाल्यो । अन्त्यमा धेरै संघर्ष र खर्च गरेर उहाको कोरोना परिक्षण गरि आएको नेगेटिभ रिपोर्ट पेश गरेपछी सबै जना चुप लागे । कोरोनाले भन्दा बढी अघाडी पर्दा नमस्कार सर, भन्ने तर पछाडी षडयन्त्र गर्ने वा घात हुने गरि कुरा लगाउने चिप्लेले दिएको तनाब झेल्न बाध्य थिए म । शत्रुलाई पनि यस्तो घात गरिदैन जब कि म त साथी नै थिए । हेर्नुहोस त चिप्लेहरुको कलुषित भावना ! हे चिप्लेज्यु, आइन्दा कसैलाई पनि यस्तो घात नगर्नुहोला है भन्न चाहान्छु ।
चिप्लो बोल्नेको ठिक बिपरित कोहि मानिसहरु अलि रुखो जस्तो लाग्ने गरि कड्किएर, कठोर जस्तो बुझिने तर स्पष्ट रुपमा सत्य बोल्ने खरो र हक्की स्वभाबका पनि हुन्छन । यस्ता ब्याक्तिहरु न्यायिक मनका हुन्छन तर यिनिहरुको आलोचना बढी गरिन्छ हाम्रो समाजमा । कोहि भने अरुका कुरा ध्यान दिएर सुन्ने तर कम बोल्ने, बोल्नै परे बोल्नु अघि धेरै सोचेर, गम्भीर भएर चाहिने जती मात्रै बोल्ने अर्थात स्पष्ट उद्देश्यसहित थोरै तर सटिक बोल्ने खालका हुन्छन । यस्ता ब्याक्तिहरु बास्तबमै बुद्धिमान, गम्भीर, अनुशासित र बिश्वासयोग्य मानिन्छन । यस्ता ब्याक्तिहरुसित कसैले आफ्नो समस्या समाधानको लागि सल्लाह मागेमा उचित परामर्श पाउन पनि सकिन्छ ।
कोहि मानिसहरु भावुक, संवेदनशील, प्रेमिलभावले बोल्ने स्वभाबका पनि भेटिन्छन । यस्ता ब्याक्तिहरुले बोल्दाखेरी भावनाले भरिने, रोएर बोल्ने, चिच्याएर बोल्ने वा भावनात्मक रूपमा अनुरोध गरेर बोल्ने हुन्छन । यस्ता ब्याक्तिहरुको मनमा छक्कापंजा वा धोखाधडी हुदैन । उनिहरु सत्य बोल्न अलि डराउछन तर पनि सत्य नै बोल्छन, कहिल्यै भिडको भावना बुझेर उतैतिर लहै लहैमा लागेर बोल्दैनन ।
बोलिमा मिठास मिसाएर, विनम्र र मृदुभाषी भएर बोल्नेहरु पनि प्रसस्तै भेटिन्छन हाम्रो समाजमा । संवेदनशील, शालिन, सहनशीलरुपमा नरम स्वरमा बोल्ने, अरूको सम्मान गर्ने, झगडा नचाहने, कुनै दुर्भावना मनमा नराख्ने, सफा मनका धनी, शान्तीपृय बोली बोल्नेहरु पनि हुन्छन । कोहि हरेक बोलिमा ठट्टा मिसाएर बोल्ने, मनमा कुनै पाप भावना नभएका रमाइलो स्वभाबका, बिषयबस्तु र बाताबरणलाई नै सहज बनाउने, हसिलो चाखिलो भएर बोल्ने मानिसहरु पनि भेटिन्छन । यिनिहरुको हरेक बोलिले पेचिलो परिस्थितीलाई पनि हलुका बनाइदिन सक्छ भने उत्तिखेरै कहिले काही तार्किक कुरा गरेर माहौललाई गम्भीरतामा पनि बदल्ने हैसियत समेत राख्दछन ।
कोहि डर देखाएर, धाक धम्की वा चेतावनीको संकेत दिने तवरले बोल्ने अहंकारी, घमण्डी अर्थात आदेश दिएर बोल्ने सत्तामुखी स्वभाबका हुन्छन भने कोहि अरुले आफ्ना कुरा सुनुन वा नसुनुन तर पतर पतर बोलेको बोल्यै गर्ने फतुर स्वभाबका हुन्छन । यस्ता ब्याक्तिहरु बोलेको अरुलाई खासै मन पर्दैन अनि बाध्य भएर मन लागि नलागि उसका कुरा सुनिदिनुपर्ने हुन्छ वा प्रशंङ्ग अन्तै मोडन बाध्य हुन्छन । कोहि अरूलाई दबाउन खोज्ने, खसाल्न खोज्ने वा होच्याएर बोल्ने स्वभाबका हुन्छन भने कोहि अरुको बोलिमा जवाफ फर्काइ हाल्नुपर्ने, आफ्नो तर्क जबरजस्ती स्थापित गराउन खोज्ने हिसाबले बोल्ने हुन्छन । कोहि फकाइ फकाइ, घुमाइ फिराइ आफ्नै कुरामा अरुलाई सहमत गराउन खोज्ने स्वभाबका हुन्छन भने कोहि बोल्दै नबोल्ने तर बोले भने मकै पडकेजस्तो पडकेर बोल्ने पनि हुन्छन ।
केही मानिसहरु बोल्दा डराएर बोल्ने, दहकस मानी मानी बोल्ने, कन्फ्युज वा हिचकिचाएर बोल्ने, आफ्नो कुरा प्रष्टसंग राख्न नसक्ने हुन्छन भने कोहि हासी हासी बोल्ने त कोहि असाध्यै जिद्धी र लिडेढिपी गरेर बोल्ने खालका हुन्छन । कोहि बोलेरै महाभारतको युद्द जितेको जस्तो गफ दिएर बोल्ने हुन्छन भने कोहि हरेक बोलिपिच्छे उखानटुक्का हालेर वा उदाहरण दिएर बोल्ने भेटिन्छन । कोहि सत्य मात्रै बोल्ने हुन्छन भने कोहि सधै झुटो मात्रै बोल्ने हुन्छन । कोहि बोल्नै नसक्ने हुन्छन भने कोहि बोलेरै नथाक्ने हुन्छन । कसैले आफुले बोलेको कुरा अरुलाइ सजिलै सम्झाउन सक्ने खुपी भएका हुन्छन भने कोहि जति बोले पनि अरुलाइ बुझाउनै नसक्ने वा उसले के भन्न खोजेको हो भन्ने बुझ्नै नसकिने खालका बोली बोल्ने हुन्छन । कोहि हरेक शब्दैपिच्छे चाइनेजो, भन्नपर्यो, मतलब जस्ता थेगा हालेर बोल्ने हुन्छन भने कोहि सानो कुरोलाई भन्नुपर्दा पनि लामो पारेर सुन्नेलाई नै पट्याएर लाग्ने गरि बोल्ने हुन्छन ।
कोहि सत्यलाई आत्मसाथ गरेर ज्यान जाए तर वचन नजाए अर्थात “हम बोले तो राम बोले” भन्ने स्वभाबका हुन्छन । यस्ता ब्याक्तिहरु आफ्नो बचनमा अडिक रहन्छन भने कसै कसैले आफ्ना बोली र कुराहरु बारम्बार फेरिरहन्छन । कोहि आखामा आँखा जुधाएर दृढ बिश्वासका साथ बोल्न सक्ने हिम्मतिला हुन्छन भने कोहि लजाएर शिर आँखा झुकाएर भुइतिर हेर्दै अझ खुट्टाको बुढिऔलाले जमिन कोतर्दै बोल्ने लज्जालु स्वभाबका हुन्छन । कोहि आफूले बोलेको मात्रै सहि, अरुले बोलेको गलत भन्ने स्वभाबका हुन्छन भने कोहि जसले जे भन्छ त्यही ठिक भन्ने खालका आफ्नो तर्क र बिचार केही नभएका पंगुराम हुन्छन ।
कोहि सबैको बोलिको कदर गरेर आफ्नो छुट्टै निश्कर्ष निकालेर बोल्ने हुन्छन भने कोहि नबोले पछाडि परिन्छ भनेर बोल्नकै लागि मात्र बोल्ने हुन्छन । कसैले अरुको बोलिलाई बिस्वासै गर्दैनन भने कसैले जसले जे बोले पनि पत्याइहाल्ने स्वभाबका हुन्छन । कोहि बोल्दा बोल्दै रिसाउने झर्किने खालका हुन्छन भने कोहि आफ्नो बारेमा जसले जेसुकै, जस्तोसुकै आलोचना गरेपनी सबै कुरालाई पचाएर हासी हासी बोल्ने हुन्छन । कोहि घोक्रो फुलाएर बोल्ने हुन्छन त कोहि कोइलिको जस्तो सुरिलो स्वर निकालेर बोल्ने हुन्छन ।
मानिसका सबै खाले बोल्ने तरिका, स्वभाव र शैलिकै कुरा गर्दै जाने हो भने त नया रामायण नै बन्ने रहेछ कि क्या हो भन्ने पो लाग्यो मलाइ त । माथी उल्लेखित विभिन्न प्रकारका तरिकाले बोल्ने मानिसहरुको स्वभाबको बारेमा बुझेर आफ्नो पनि बोल्ने तरिकालाई सकारात्मक सोच राखेर, निर्धक्क भएर, नम्रभावमा, स्पष्ट रुपमा, पछिसम्म फरक नपर्ने गरि सत्यको पक्षमा, न्यायिक मनले शान्त भएर, मीठो स्वरले, सबैको मन जित्नेगरी बोल्ने प्रेरणा सबैलाइ मिलोस । कसैलाई कुनै कुरामा चित्त बुझेको छैन भने ब्याक्तिकै अघाडी स्पष्टरुपमा भनौ तर पछाडी बसेर कसैकोबारेमा पनि कुरा काटेर समय खेर नफालौ !


