वीरगंज – पर्सा र बाराका क्यासिनोहरुमा नेपाली नागरिकलाई भारतीय नागरिकको परिचयपत्र बनाएर जुवा खेलाउने गरेको पाइएको छ । कानूनतः क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध छ ।
क्यासिनो नियमावली, २०७० को परिच्छेद ३ मा दफा १८ मा नेपाली नागरिकले क्यासिनो खेल्न र क्यासिनो स्थलमा प्रवेश गर्न नपाउने भनेर स्पष्ट उल्लेख गरेको छ । तर पर्सा र बाराको तारे होटलहरूमा नेपाली नागरिकलाई नक्कली भारतीय कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउने गरेको पाइएको हो ।
क्यासिनो सञ्चालकहरुले सेटिङ मिलाएर एउटा छुट्टै गिरोह (एजेन्ट) मार्फत नेपाली नागरिकहरुलाई भारतीय आधार कार्ड बनाउने गरेको स्रोतको दावी छ । उक्त गिरोहको काम भनेको नेपाली ठूला धनाड्य व्यक्तिहरुसँग सम्पर्क गर्ने, मित्रता जोड्ने र अन्तत नक्कली भारतीय कागजात बनाएर क्यासिनोमा प्रवेश गराउने रहेको छ ।
मुख्य रुपमा वीरगञ्जको केन्द्रमा रहेको होटल सुरज र होटल दियालो लड्समा रहेको किँग्स क्यासिनोमा स्थानीय जुवाडेहरुले एक दिनमा लाखौ रुपैयाँ हार्ने गरेको छपकैयाका एक युवाले बताए । उनले भने ‘वीरगञ्जका तस्कर देखि व्यापारीहरु म्यारेज र फलास खेल्न किँग्स क्यासिनोमै पुग्ने गरेका छन् ।’
एउटा टेबुलमा ६ जना खेलाडीहरुले प्रति राउण्ड एक–एक गरी ६वटा क्वाइन्स बोर्ड तिर्नु पर्ने हुन्छ ,सो अनुसार एक राउण्डको म्यारेज खेलमा २ हजार बोर्ड लाग्ने गरेको छ । प्रत्येक दिन ७ देखि १० लाखसम्म उक्त क्यासिनोको आम्दानी हुने गरेको बताइन्छ । आफूहरु आइडी प्रुफ हेरेर विदेशी भए मात्र क्यासिनोमा प्रवेश गर्न दिएको एक सञ्चालकले बताए । उनले भने, ‘नेपाली भए पनि उनीहरु भारतीय आधार कार्ड लिएर आउने गरेका छन् ।
तत्कालीन प्रहरी प्रमुख कुमोध ढुङ्गेलले होटल भिष्वाको क्यासिनोबाट तथा अन्य ठाँउबाट नेपाली नागरिकहरुलाई अनाधिकृत रुपमा प्रवेश गराएर जुवा खेलाउने ४ जना तथा थुप्रैपटक थुप्रैजना पक्राउ पनि परेका थिए ।
बाराको पाँचतारे होटल इच्छामा रहेको स्माइल कलेक्सन प्रालि, पर्साको वीरगंज महानगरमा रहेका क्लार्क रिसोर्ट, लड्र्स दियालोको किङ्गस कलेक्सन प्रालि, सुरज होटलको एक इन्टरनेशनल र होटल भिस्वामा रहेको सेन्ट्रल मिडिया गु्रपको ह्याप्पी आवर क्यासिनोमा अधिकांश जुवाडे नेपाली रहेको स्रोतको दावी छ । यी क्यासिनोहरुमा ९० प्रतिशतभन्दा बढी ग्राहकहरू नेपाली नागरिक हुने गरेको बताइन्छ ।
विशेष गरी बारा, पर्सा, रौतहट लगायतका क्षेत्रबाट जुवाडेहरु क्यासिनो खेल्न आउने गर्दछन् । जुवा खेल्नेहरुमा यस क्षेत्रका उद्योगी व्यवसायी, बैंककर्मी, बीमाकर्मी, सरकारी कर्मचारीहरू समेत रहेका छन् ।क्यासिनो नियमावली, २०७० को उपदफा १४ ९२० मा नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गराएमा वा क्यासिनो खेलाएमा ईजाजतपत्र रद्द गर्न सकिने भनेर उल्लेख छ ।
यस्तो गैरकानूनी हर्कत गर्ने क्यासिनोहरुको ईजाजतपत्र नै रद्द हुने कानूनी व्यवस्था भएपनि सरोकारवाला निकाय मौन बस्दा क्यासिनोको अवैध धन्दा दिनप्रतिदिन बढिरहेका छन् । नेपाली नागरिकको लाखौं रकम स्वाहा भएका छन् । जसका कारण घरबार बिहिन हुनेहरुको संखया बढ्दै गएको छ भने परिवार र समाजमा कलह, झै–झगडा, कुटपिट, हत्या, हिंसाका घट्नाहरु भएका छन् ।
समाजमा यस्ता अप्रिय घटना हुन नदिन तथा कानून बमोजिम क्यासनो सञ्चालन गर्नका लागि अनुगमन तथा नियमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत एक समिति रहेको छ भने स्थानीय प्रहरी प्रशासनले पनि आवश्यकताका आधारमा अनुगमन गर्न सक्ने व्यवस्था छ ।
यहाँ धेरै नेपाली नागरिकहरु लाखौं तथा करोडौं रकमसम्मको जुवा खेल्ने गरेको र हारेपछि घर न घाटको भएर आत्महत्या गर्नसम्म बाध्य हुने गरेका छन् । केही महिना अगाडि भारत मोतिहारीका एक युवाले किंग्स क्यासिनोमा जुवा खेल्दा आफ्नो विवाहमा दाइजो बापत पाएको २० लाख नगदसहित सुन, चाँदी, मोटरसाइकल समेत सबै हारेपछि घर न घाटको बने । अन्तत उनले मोतिहारीको रेल्वे लाइनमा गएर आत्महत्या गरे । यो त एक प्रतिनिधिमूलक घट्ना मात्र हो । यस्ता केही घट्ना बाहिरा आउने गरेपनि धेरैजसो घट्नाहरु भित्रभित्रै मिलाउने गरेको बताइन्छ ।
केही समय पहिल्यै लर्डस दियालेको किंग्स क्यासिनोमा हारजितका कारण कुटाकुट भएको समाचार बाहिर आएको थियो । बारा र पर्सा जिल्लामा गरेर पाँचवटा क्यासिनो सञ्चालनमा छन् । यी क्यासिनोहरुको अधिकांश ग्राहक नेपाली नागरिक भएकाले सबैभन्द धेरै यसको आर्थिक र सामाजिक असर पनि नेपालमै पर्ने भएकाले यसलाई अबिलम्ब रोक्नुपर्ने दाबी गर्छन ।
आर्थिक मन्दी, स्थानीय प्रहरी प्रशासनको कडाइ लगायतका कारण हाल अन्य क्यासिनोहरुमा ग्राहकको कम हुँदै गएको छ । यता किङ्गस कलेक्सनमा अन्य ठाउँको तुलनामा प्रहरी प्रशासनबाट जुवा खेल्न सुरक्षित भएको हुनाले खेल्न जाने एक ग्राहले संख्या उल्लेख्य मात्रामा बढेको बताउँछन । खेल्न आउने का अनुसार त्यहाँ क्यासिनोमा रहेका टेबलहरु डन भनाउँदाहरूले किनेर राखेका हुन्छन् । उक्त टेबलबमा जुवा हार्दाकाे सबै पैसा ५०/५० प्रतिशत क्यासिनो सञ्चालक र टेबल किन्नेमा बाडिन्छ ।
धनाढ्यहरुलाई ललाई फकाई क्यासिनो सम्म पुर्याउने काम एजेन्ट मार्फत हुने गरेको बुझिन्छ । क्यासिनोमा आधुनिक मेसिन वा उपकरणका माध्यमबाट मात्र खेलाइने प्रावधान रहे पनि अहिले यी क्यासिनोहरूमा अवैध तरीकाले तास पनि खेलाइने गरेको बताइन्छ ।
क्यासिनो प्रकरणलाई लिएर विगतदेखि नै यहाँका स्थानीय प्रहरी प्रशासनका प्रमुखहरु अछुतो रहन सकेका छनैन् । सीडीओ र एसपीसँग जोडिएर क्यासिनोहरुमा हुने गरेका गैर कानूनी कार्यहरुको समाचार सार्वजनिक भएको सर्वविदितै छ । अहिले पनि वीरगंजमा नेपाली नागरिकलाई भारतीय नक्कली परिचयपत्र बनाएर प्रवेश गराउने लगायतका गैर कानून हर्कत हुँदा पनि स्थानीय प्रहरी प्रशासन मौन बस्नुलाई सामान्य मान्न सक्ने अवस्था छैन ।
क्यासिनोमा अहिले पनि नेपाली नागरिकलाई भारतीय परिचयपत्र बनाएर जुवा खेलाउने, हार्ने व्यक्तिलाई चर्को व्याजदरमा ऋण दिने र डर, त्रास, धाकधम्की दिएर रकम अशुल्ने कार्य भइरहँदा प्रहरी मौन बसिरहेको छ । जसका कारण दर्जनौं नेपालीहरु घरबारबिहिन भएर बिचल्लीमा परेका छन् भने कतिपयले आत्महत्या जस्तो अप्रिय बाटो रोज्न पुगेको तितो यथार्थ हाम्रो माझ स्पष्टै छ ।


