भाग्य भनेको व्यक्तिले आफ्नो जीवनमा भोग्ने सुख-दुःख, सफलता-असफलता, धनी गरिब आदि जस्ता घटनाक्रमहरूको एक रहस्यमय वा पूर्वनिर्धारित शक्ति हो भन्ने मान्यता रहिआएको छ । धेरै संस्कृतिहरूमा भाग्यलाई पूर्वजन्मको कर्म, दैवीय शक्ति, संयोग, व्यक्तिगत प्रयास र परिश्रमको फल अर्थात परिणाम भनेर विभिन्न तरिकाले बुझिन्छ ।
हिन्दू तथा बौद्ध दर्शन अनुसार भाग्य भनेको व्यक्तिले विगतमा गरेका कर्महरूकै परिणाम हो । जसले बिगतमा राम्रो कर्म गरेको थियो वा अहिले गरेको छ, उसले राम्रो भाग्य पाउँछ भने जसले नराम्रो कर्म गर्छ, उसको भाग्य पनि खराब हुन्छ । मानिसको जीवनमा हुने सबै कुरा ईश्वरको इच्छा वा भाग्यमा लेखिएको हुन्छ भन्ने मान्यता पनि छ ।
बैज्ञानिक तर्कलाइ हेर्ने हो भने भाग्य भनेको लगनशीलता, मेहनत र सही निर्णयहरूबाट निर्माण हुने कुरा हो । कर्म वा परिश्रम नै भाग्य हो भन्ने मान्यता यस दृष्टिकोणमा पर्छ । केही व्यक्तिहरू भाग्यलाई शुद्ध संयोग वा परिस्थिति जन्य घटनापनि मान्छन । वैज्ञानिक रूपमा पनि प्रमाणित छ कि सकारात्मक सोच भएका व्यक्तिहरूले बढी अवसरहरू प्राप्त गर्दछन ।
त्यसैगरी भाग्यमानी भनेको आफ्नो जीवनमा शुभ अवसर, सफलता वा सुखद परिस्थितिहरू प्राप्त गर्ने व्यक्ति हो । जसको जीवनमा राम्रो अवसरहरू आइ रहन्छन, जो मेहनती भएर अवसरलाई सही तरिकाले उपयोग गर्छन, जो समयको तालमेल मिलाउदै कठोर परिश्रम गर्छन, जसले आफ्नो कर्मबाट राम्रो परिणाम निकाल्न सक्दछन, जसले राम्रो परिवार साथीसंगी र वातावरण पाएका हुन्छन, जसले जन्मिदै सहज जीवन पाउछन वा जसलाई अनपेक्षित रूपमा सफलता प्राप्त हुन्छ, उनिहरू भाग्यमानी ठानिन्छन । भाग्यमानी भनेकै अवसरलाई पहिचान गर्न र उपयोग गर्न सक्ने व्यक्ति हो ।
भाग्य विभिन्न प्रकारका हुनसक्छन अर्थात सफलता वा प्राप्तिहरूलाई विभिन्न प्रकारका भाग्यहरुसँग जोड्न सकिन्छ । जस्तै, अघिल्लो जन्म वा विगतमा गरिएका कर्महरूको प्रभावले निर्माण हुने भाग्य, भगवान वा अदृष्य शक्तिको कृपाले प्राप्तहुने दैबिय भाग्य, अहिलेको परिश्रम र कर्मले निर्माण गरिने भाग्य, जन्मजात प्राप्तहुने भाग्य, संयोगजन्य भाग्य, सकारात्मक सोच परिश्रम र सही निर्णयबाट आफैले निर्माणगर्ने कर्मजन्य भाग्य, विश्वासजन्य भाग्य, परिस्थितिजन्य भाग्य आदि । त्यसैले कुनै सफलता जन्मजात भाग्यको कारण आउँछ भने कुनै मेहनत, संयोग वा सामाजिक प्रभावका कारण प्राप्त हुन्छ ।
भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अडिदैन भन्ने हाम्रो समाजमा प्रचलित भनाइले कर्मको महत्त्व दर्शाउँछ । भाग्यमा मात्र विश्वास गरेर प्रयासै नगर्ने हो भने सफलता सम्भव हुँदैन भन्ने सन्देश यसले दिन्छ । कसैले लटरीको रसिद नकाटी त उसलाइ चिठ्ठा पर्दैन नि ! भाग्य राम्रो छ भन्दैमा मेहनत नगर्ने हो भने सफलता आउँदैन । भाग्यले मानिसलाई अवसर दिनसक्छ, तर त्यसलाई उपयोग गर्न कर्म अनिवार्य रुपमा गर्नैपर्छ । माथिको यो उखानले हामीलाई मेहनत, बुद्धिको प्रयोग र सही निर्णयको महत्त्व सिकाउँछ । भाग्य र कर्म दुवै मिलेर मात्र सफलता प्राप्त हुन्छ । त्यसैले भाग्यमा मात्र निर्भर हुनु बेकार हो, सही ठाउँमा सही कर्म र परिश्रम गर्न आवश्यक छ ।
भाग्य र भाग्यमानीको बिषयमा लेख्दै गर्दा अभागीको बारेमा पनि केही बुझ्नु जरुरी हुन्छ । अभागी भन्नाले जीवनमा बारम्बार दुर्भाग्यपूर्ण घटना भोग्ने वा आफ्नो प्रयास अनुसार राम्रो परिणाम नपाउने व्यक्ति भन्ने बुझिन्छ । जो राम्रा अवसरहरूबाट वञ्चित हुन्छन, जसले राम्रो परिवार शिक्षा स्वास्थ वा सहयोगी वातावरण पाएका हुदैनन, कसैले जति मेहनत गरे पनि सफलता हातपार्न सकिरहेका हुदैनन, जो निर्णय लिदा बारम्बार गल्ती गर्छन अर्थात गलत समयमा गलत निर्णय लिने वा अवसर छुटाउने गर्दछन, जसले सधै नकारात्मक सोच राख्छन र आफ्नो क्षमताको प्रयोग गर्न नसकी सधै भाग्यलाई दोष दिँदै निष्क्रिय बस्ने गर्दछन, जो संयोगवस दुर्भाग्यपूर्ण घटनामा फस्छन, तिनिहरुले आफुलाइ अभागी सम्झिन्छन ।
केही मानिसहरू लगातार प्रयास गर्दछन् तर परिस्थिति अनुकुल नहुनाले असफल भइरहन्छन । अभागी हुनु केवल संयोग मात्र होइन । अभागी भनिने ब्याक्तिले पनि सकारात्मक सोचका साथ, कठोर परिश्रम, सही निर्णय, आत्मबिश्वास, आत्मबल र राम्रो गुरुको मार्गनिर्देशनबाट आफ्नो भाग्यलाइ अर्थात जीवनलाइ आफैले परिवर्तन गर्न सक्छन । असफलतामा पनि हरेस नखाइ लगातार अघि बढने प्रयासगर्नेहरू अन्ततः सफल हुन्छन, जसले अभागी हुनु कुनै स्थायी अवस्था होइन भन्ने प्रमाणित गर्छ । अभागी भनेको परिस्थितिले वा आफ्नो सोचले असफल बनाएको व्यक्ति हो ।
अब यहाँ एउटा कौतुहल उठन सक्छ कि के चिठ्ठा पर्नु वा कुनै आकस्मिक लाभ हुनु भाग्य हो त ? चिठ्ठा पर्नु, अचानक ठूलो अवसर मिल्नु वा कुनै अप्रत्याशित लाभ हुनु धेरै हदसम्म भाग्यसँग जोडिन्छ तर, त्यो स्थायी भाग्य होइन किनभने त्यो केवल एकपटकको संयोग मात्र हो । कुनै व्यक्तिले नियमित रूपमा चिठ्ठा काटदा वा खेल्दा कहिल्यै पनि नपरेको हुनसक्छ तर अर्को व्यक्तिले पहिलो पटक खेल्दा नै जित्न पनि सक्छ । आखिर कसैलाइ न कसैलाइ त उक्त चिठ्ठा पर्नु नै थियो, एक जनालाइ पर्यो कुरा सकियो । चिठ्ठाखेल्दा पर्नु/नपर्नु एउटा सम्भाव्यता (Probability) को खेल हो, जसमा कसैलाई अवसर मिल्छ र कसैलाई मिल्दैन । चिठ्ठा जित्नु भनेको व्यक्तिको मेहनतको परिणाम होइन, केवल संयोग मात्र हो । चिठ्ठा जित्नेले यदि त्यस रकमलाई बुद्धिमानीपूर्वक लगानी गरेन भने त्यो पैसा छिट्टै सकिन्छ पनि । यसले के देखाउँछ भने भाग्यले अवसर त दिन सक्छ, तर त्यसलाई दीर्घकालीन सफलता बनाउन मेहनत, सोच र बुद्धि अनिवार्य हुन्छ ।
भाग्य भनेको मौकाको सदुपयोग गर्न सक्ने क्षमता पनि हो । केवल राम्रो अवसर प्राप्तगर्नु मात्र भाग्य होइन, त्यो अवसरलाई सही तरिकाले उपयोग गर्नसक्नु नै वास्तविक भाग्य हो । मौकाले मात्रै केही गर्दैन, मौकामा सही निर्णय गर्न आवश्यक छ । अवसरहरु धेरैलाई आउँछन तर जसले त्यसलाई बुझेर सही समयमा सही निर्णय गर्छ, ऊ नै भाग्यमानी हुन्छ । मानौ कुनै व्यक्तिलाई राम्रो जागिरको प्रस्ताव आउन सक्छ तर यदि उसले समयमा निर्णय गरेन भने अवसर गुम्छ नै । मेहनत र पुर्ब तयारी बिना अवसर पनि व्यर्थ जान्छ । भाग्यले अवसर दिनसक्छ तर त्यसलाई आफ्नो पक्षमा पार्न ज्ञान, योजना र परिश्रम चाहिन्छ ।
भाग्यको मात्रै भर परेर बस्नु कदापी ब्याबहारिक हुँदै होइन । मानिसको जिवनमा भाग्य मात्र निर्णायक हुँदैन किनभने भाग्य स्थिर छैन, कर्मले नै भाग्य बनाउँछ । निरन्तर प्रयास गर्ने व्यक्तिले एकदिन सफलता प्राप्त गर्छ गर्छ । उदाहरणको लागि थॉमस एडिसनलाई नै हेरौ ! जिवनमा उनले झण्डै हजार पटक प्रयास गरेर बिजुलीको बल्ब बनाए, यदि उनले हार खाएर बीचमै छाडेका भए संसारमा बत्ती बालिने बिजुलीको बल्ब नबन्न सक्थ्यो वा कसै न कसैले त बनाउथ्यो भनियो भने पनि ढिलो बन्न सक्थ्यो । भाग्यलाई दोष दिएर निष्क्रिय बस्नु कमजोर मानसिकता हो । जसले परिश्रम गर्छ, ऊसैले अवसरहरू सिर्जना गर्न सक्छ । भाग्यले साथ दिएन भनेर हार मान्नेहरूले कहिल्यै जित्दैनन । सफल मानिसहरू बाधा आए पनि नयाँ तरिका अपनाएर अगाडि बढ्छन ।
हिन्दू धर्मशास्त्रमा भाग्यको बारेमा विभिन्न श्लोकहरू पढन पाइन्छ । तल उल्लेखित यी श्लोकहरूले कर्म, भाग्य, प्रयास र परिश्रम बीचको सम्बन्ध दर्शाउँछन ।
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥”
(भगवद्गीता २-४७)
तिमीलाई कर्म गर्ने अधिकार छ, तर त्यसको फलमा अधिकार छैन । फलको आशा गरेर कर्म नगर, न त निष्क्रिय नै बन । कर्म गरेर मात्र भाग्य निर्माण गर्न सकिन्छ भन्ने नै यसको सन्देश हो ।
“उद्यमे न हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः॥” (हितोपदेश)
अर्थात केवल इच्छाले मात्र कार्य पूरा हुँदैन, परिश्रम जरुरी छ । निदाएको सिंहको मुखमा आफैं हरिण आएर पस्दैन ।
“यथैव माला सुकृतेषु बद्धा, यथैव मूले फलमागतं स्यात्।
तथैव कर्माणि पुनर्भवन्ति, सहैव जन्तुः सुख-दुःख-हेतोः॥” -(महाभारत, वन पर्व)
अर्थात जसरी मोतीहरू उनेर माला बनाइन्छ, जसरी रूखमा फल आउँछ, त्यसरी नै कर्म अनुसार नै सुख-दुःख भोग्न पाइन्छ । भाग्य भनेको अघिल्लो वा अहिलेसम्म गरिएका कर्महरूको परिणाम मात्र हो भन्ने नै यसको सन्देश हो ।
“श्लाघ्यते स गुणैः पुंसां न तथा जन्मना क्वचित्।
न हि रत्नं विजानन्ति काचसङ्गतमानुषाः॥”
(नीतिशतक, भर्तृहरि)
अर्थात व्यक्तिको वास्तविक मूल्य उसको जन्म भन्दा गुणबाट निर्धारण हुन्छ । सामान्य मानिसहरूले रत्न र साधारण काँच बिचको भिन्नता बुझ्दैनन । जन्मकै कारण कोही भाग्यमानी हुँदैन, उसले आर्जन गरेको गुण वा मेहनतले मात्र ऊ सफल बन्छ, आफ्नो भाग्य आफैले बनाउन वा परिवर्तन गर्न सकिन्छ ।
“न देवो दण्डमादाय रक्षत्यप्रमदतः प्रजाः।
यं तु रक्षितुमिच्छन्ति बुद्ध्या संविभजन्ति तम्॥”
(मनुस्मृति ८-१५)
अर्थात भगवानले दण्डदिएर मानिसको रक्षा गर्दैनन । जसलाई बचाउन चाहन्छन्, तिनलाई बुद्धि दिन्छन ताकि उनीहरूले अप्ठेरो समयमा आफूलाई जोगाउन सकून ।
भाग्यलाई कसरी बुझ्ने भन्ने कुरामा व्यक्तिगत सोच, अनुभव र संस्कृतिको ठूलो भूमिका हुन्छ । कोही भाग्यलाई विश्वास गर्छन् भने कोही आफ्नो कर्मलाई प्रमुख ठान्छन तर कर्म र अवसरको सही मिश्रणले नै भाग्य निर्माण गर्छ भन्ने बिर्सिनु हुदैन । भाग्य महत्वपूर्ण भए पनि परिश्रम, धैर्य र सही निर्णयहरू बिना भाग्यले मात्र सफलता दिन सक्दैन । त्यसैले, साँचो भाग्यमानी भनेको जसले अवसरलाई चिन्न र उपयोग गर्न सक्छ, ऊ नै हो ।
अन्त्यमा, कुनै पनि सफलता केवल भाग्यको कारणले मात्र आउँदैन, यो त परिश्रम, संयोग, सोच र परिस्थिति सबैको मिश्रणबाट आउछ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परिश्रम र सही निर्णय नै हो, जसले भाग्यलाई अनुकूल बनाउन सक्छ । भाग्य भनेको केवल अवसर प्राप्त गर्नु मात्र होइन, त्यस अवसरलाई सही तरिकाले उपयोग गर्न सक्ने क्षमता पनि हो । साँचो अर्थमा भाग्यमानी व्यक्ति भनेको अवसरको सही सदुपयोग गर्ने व्यक्ति नै हो ।
जिवनमा मेहनत गर्नेहरू भाग्यशाली बन्छन्, भाग्य पर्खेर बस्नेहरू पछि पर्छन । कर्म नगर्नेहरू भाग्यलाई दोष दिन्छन तर बुद्धिमानहरू आफ्नो भाग्य आफैं बनाउँछन् । भाग्य र कर्मलाई सन्तुलन राखेर समयको प्रवाह अनुसार दुरदर्शी निर्णय गर्नेहरू नै साँचो अर्थमा भाग्यमानी हुन्छन ।


