चितवन – भरतपुर महानगरपालिकाको आयोजनामा “समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम” को दोस्रो चरण आज भरतपुर–२२, पटिहानीस्थित वडा कार्यालयबाट सुरु भएको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालले एक समारोहबिच “समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम” को दोस्रो चरणको उद्घाटन गरेकी हुन् ।
“समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम” को उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै मेयर दाहालले १२ हजार ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको बताइन् । यस कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिँदै अर्को वर्ष ६० वर्षभन्दा मुनिका गर्दै सबै उमेर समूहसम्म पुग्ने महानगरको लक्ष्य रहेको उनले बताइन् ।
‘भरतपुरवासीलाई स्वस्थ्य नागरिक भएर सहज ढंगले जीवनयापन गर्न पाउन् भन्ने उद्देश्यले हामी अगाडि बढिरहेका छौँ’ उनले भनिन्, ‘महानगरको यो अभियानलाई टोल विकास संस्था, स्वास्थ्यकर्मीहरु र स्वास्थ्य स्वयंसेविकाहरुले पनि साथ दिनुहोला ।’
वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन तथा भरतपुर महानगरका स्वास्थ्यविज्ञ डा. भोजराज अधिकारीले महानगरको नेतृत्वको चाहनाअनुसार स्वास्थ्य शाखा, विज्ञ समूह, फिल्डमा खट्ने स्वास्थ्यकर्मीहरु र महिला स्वयंसेविकाहरु यो अभियानमा खटिएको बताए ।
‘अघिल्लो कार्यक्रममा २३ प्रतिशतभन्दा बढी उच्च रक्तचाप र १७ प्रतिशतभन्दा बढी मधुमेहका नयाँ बिरामी पत्ता लागेका थिए’ उनले भने, ‘यसपटक टोलटोलमा समुदायसँग मेयर कार्यक्रम जाँदैछ । यो जनताको कार्यक्रम हो । त्यसैले म सबै जनालाई यो अभियानमा जोडिन अनुरोध गर्दछु ।’
गत वर्ष ६८ वर्ष उमेरभन्दा माथिका १७ हजार जनालाई घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो । यसपालि ६० देखि ६८ वर्ष उमेर समूहमा पुग्ने लक्ष्य महानगरले लिएको छ । लक्षित वर्गलाई घरघरमा पुगेर स्वास्थ्य परामर्शसहित उनीहरुको तौल लिई रक्तचाप, रगत र पिसाब जाँच गरिने छ ।
भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दीपक सुवेदी, महाशाखा प्रमुख शान्तादेवी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


