अंकल ! ट्राफिकले रोक्यो, भन्दिनुपर्यो

बिहानीको हिडाइ अर्थात चलचल्तिको फेसन अनुसार भन्ने हो भने मर्निङ्गवाकबाट घर आउनासाथ पोखराबाट आफन्ती को फोन आयो ! मैले नमस्कार गर्न नभ्याउदै उहाले हतारिदै बगर बाट हेम्जा जाने रुटमा साउद थरका हवल्दारले मेरो बाइकको चापी थुते, जरिवाना काटन पनि मान्दैनन, मोटरसाइकलपनि छोडदैनन, अघाडी जानपनि दिदैनन, मानबसेवा आश्रमको लागि बाइकमा दुध लिएर जादै थिए ! दिल प्रसाद दाजिको फोन पनि लागेन, दूध फाटने भयो, लौन छोडिदिनको लागि भन्दिनु पर्यो, म त सार्है अप्ठेरोमा परे – उहाले सासै नफेरी आत्तिएर आफ्नो कुरा राख्नु भयो । मैले सोधे – किन रोके त ! लाइसेन्स बिलबुक थिएन र ? सबै छ तर ३ बर्ष रिन्यु फेल भएको थियो । पहिले बाइकको रिन्यु गर्न नेपालगन्जनै जानु पर्ने अबस्था भएकोले नबिकरण हुन सकेको थिएन तर अहिले यहिबाटै रिन्यु गर्नमिल्ने थाहा पाएपछि हिजो यातायततिर कामगर्ने साथिलाइ दिएको थिए, आजै रिन्यु गरेर ल्याइ दिन्छु पनि भनेको छ । रिन्यु फेल भएका मोसालाइ नछोडनु भन्ने आदेश छ रे ! अफिसमै लैजाने रे ! मैले उहालाइ शान्त पार्दै भने – ल ल नआत्तिनु, के रहेछ म बुझिदिउला, फोन काटियो ।

मनै मनले सोचे जाबो रिन्यु फेल भएको बिषय न हो, त्यत्तिको भरमा दूध बोकेको बाइक त नरोकेको भएपनि हुने । जरिवाना जति लाग्छ नतिरी सुखै छैन, ढिलोचाडो तिरिनै हाल्लान । ५ बर्ष कटेछ भने बाइकको नम्बरै खारेज हुन्छ जुन घाटा सवारी धनिलाइ नै लाग्ने हो । यो त्यत्रो ठूलो अपराध त हैन, किनदुख दिन्छन ट्राफिकहरुले भन्नेपनि मनमा उठ्यो तर एकपक्षको मात्रै कुरासुनेर मैले कुनै धारणा बनाउनु उचितहुदैन भन्ने सोचेर साउदजिलाई फोनमा सम्पर्क गर्दा मलाइ जे सुनाइयो त्यहीनै सत्य रहेछ । मैले आफ्नो परिचय दिएर एक पटकलाइ जरिवाना काटेर छोडिदिन उहालाइ अनुरोध गरे तर मान्नु भएन, मेरो कुरै सुन्नु भएन ।

समस्या त पर्यो, समाधान त खोज्नु नै छ । कास्किका प्रहरी उपरिक्षक श्यामबाबु ओलिया र म बिच राम्रै सम्बन्ध छ तर पनि मैले सानो कुराको लागि उहालाइ नै भन्नू उचित ठानिन अनि पोखरा ट्राफिकमा अहिले को इन्चार्ज छन ? भनेर पुर्ब प्रहरी संगठन कास्किका अध्यक्ष धर्म पौडेललाइ फोन गरे । उहाले यसबारेमा लामोसमय ट्राफिकमै पुर्बकार्यरत हाल स्याङ्जा पोखरा सम्पर्क सदन का अध्यक्ष शिव थापालाई सोध्न भन्नुभयो । इन्चार्जको फोन लागेन, मैले उहाँ मार्फत हाल कार्यरत प्रनानी शिव पाठकको नंम्बर लिएर फोन गरे । पाठक जि ले घटनाको गम्भिर्यता बुझ्नु भयो अनि भोलिपल्ट रिन्यु गरेको बिल बुक अफिसमा उहालाइ देखाउने बिश्वासमा उक्त बाइक छोडिदिन ड्युटिमारहेका साउदलाइ फोन गर्नुभयो, बाइक छोडियो कुरोसकियो, आज उहाको बिलबुक नबिकरण भएर पनि आइसक्यो । त्यति सानोकुरामा मेरैअनुरोध स्विकार गरिदिएको भएपनी त हुन्थ्यो नि ! फिल्डमा खटिने कमाण्डरले यस्ता कुरामा बिबेक नपुर्याउदा नै प्रहरी मेरो साथी भन्ने नारा आज अलपत्र छ ।

यस्ता सामान्य कुराहरुमा प्रहरी पनि सम्यम, ब्याबहारिक हुनु आबश्यक छ । गल्ती मानिस बाटै हुन्छ, परिस्थिती बाटै हुन्छ र सुधारको मौका दिने भनेको पनि मानिसले नै हो भन्ने कोमल हृदय र फराकिलो सोचपनि ट्राफिकमा हुनुपर्दछ । चालकको सानो भन्दा सानो गल्तीमा पनि बर्दिको रवाफ देखाउने, मै हु भन्ने अहमताको सोच राख्ने, म त कडाखाले ट्राफिक प्रहरी हु भन्ने भ्रम पाल्ने, सानो कुरामापनि झर्केर अमर्यादित शब्द बोल्ने, आफै चालक सित बादबिबादमा उत्रिने प्रहरीहरु पनि छन, राम्रा प्रहरी पनि छन । हाम्रो समाज जस्तो छ त्यस्तै प्रहरीछन अर्थात हाम्रै समाजबाटै आएका प्रहरी हुन तरपनि प्रहरीले आफ्नो कार्यशैली सुधार्न जरुरी देखिन्छ । आफुलाइ कुनै सहयोग चाहिदा जनतासमक्ष सजिलै हात फिजाउन पछि नपर्ने प्रहरीले अरु लाइ अलिकती छुट दिन किन कन्ज्युस्याइ गर्छन ? बुझिनसक्नु छ । चालक को सानो गल्ती भेटनासाथ बल्ल फेलापरिस भनेझै गरेर अहंकार को भावना जस्तो देखिने सोच किन राख्छन कुन्नी ? यी केही तिता सत्यहरु हुन ।

मलाइ मात्रै होइन कि सबैलाइ दिनहु जस्तो कोहि न कोहि चिनेजानेका, आफन्त तथा साथिभाइहरुले फोन गरेर भन्ने गरेको गुनासो बा सहयोगको अपेक्षाले गर्ने फोन भनेकै प्राय: धेरैजसो ट्राफिक प्रहरीले बाइक रोकिदियो, गाडी रोकिदियो, लौन भनिदिनु पर्यो आदि इत्यादी यस्तै प्रकृती का हुन्छन । प्रहरीको चेकिङ्गमा पर्यो कि फोन घुमाइ हाल्ने, प्रहरीले सानो केशमा सोधपुछ गर्न बोलायो वा पक्राउ गर्यो वा एकछिन जाममा पर्नासाथ आत्तिइहाल्ने अनि चिनेजानेका को को छन सबैलाइ हारगुहार गरि हाल्नु पर्ने हाम्रो नियतीनै बनिसकेको छ । हाम्रो देशको हरेक सरकारी वा संस्थानका कामकारबाहीहरु ऎननियम कानुन अनुसारको सिष्टमले भन्दापनि भनसुनको अधार मा चल्ने पद्धति हाबी छ । प्रहरी संगठनमा मात्रै होइन, हरेकको काममा चाहे निजामती, शसस्त्र, सेना, शिक्षक वा संघसंस्थामै किन नहोस, चिने जानेको कोहि छ भने उत्तिखेरै काम हुन्छ तर कोहि चिनेका छैनन भने लाइन लाग्दा लाग्दै दिनै जान्छ तर काम बन्दैन ।

Forbes

सबारी चलाउदा बाइक भए चालकले हेल्मेट लगाउने र सानो गाडी भए सिटबेल्ट बाध्नुपर्ने सुरक्षाको हिसाबले अनिबार्य नियम हो । चालकले आफुले चलाएको सवारी को बिलबुक, जाचपास, रोडप्रमिट र सवारी चालक अनुमती प्रमाणपत्र साथमै लिएर हिडनुपर्ने हुन्छ नै । चालकले बोक्नुपर्ने कागज बोकेको छ, ठिक तरिकाले चलाएको छ र सवारीको अबस्था पनि दुरुस्त राखेर चलाएको छ भने त्यस्तो चेकिङ्गले कसैलाइ पनि कुनै समस्या पार्दैन भन्ने चेतना हुदाहुदैपनि हामिले मौका हेरेर, आबश्यकताले, अपर्झटमा वा हेलचक्र्याइ गरेर कतिपय अबस्थामा जे त होला, जेपर्ला पर्ला भन्ने सोच राखेर सडकमा सवारी चलाउदा समस्यामा पर्ने गरेको देखिन्छ । अहिले त लाइसेन्स वा बिलबुक लगायतको फोटो मोबाइलमा खिचेर वा नागरिक एपमा राखेको बिबरणनै मोबाइलबाट देखाइदिए हुने सजिलो अबस्था पनि स्विकार्य हुँदै गएको कारण कागजपत्र बोक्नुपर्ने झण्झट पनि छैन फेरि पनि हामी यस्तै समस्याबाट दिनहु दिक्कै बन्दैछौ ।

ट्राफिक नियमको पालना गरेर सवारी चलाउनु चालकको आफ्नै सुरक्षाको लागि हो तर हामिकहा ट्राफिक प्रहरी लाई देखाउनको लागि मात्रैहो भन्नेखालको मनोभावनाछ, ट्राफिक वा प्रहरीको आँखा छल्ने प्रबृत्ति बढदो छ । अझ प्रहरीलाई थर्काउन पाए वा सोर्सफोर्स लगाएर छुटाउन पाए आफैमा मख्खपर्दै आत्मरतीमा रमाउनेको पनि कमि छैन। मापसे – लापसे गरेर सवारी चलायो, बिना लाइसेन्स बिलबुक चलायो, हेल्मेट नलगाइ चलायो, ट्राफिक संकेत पालना नगरी चलायो, समयमै नबिकरण नगरी चलायो वा लेन अनुशासन बिपरित आदि कारणले सवारी चलाउदा चेकिङ्गमा पर्यो अनि फोन घुमाएर भनिहाल्ने कि अंकल ट्राफिकले रोक्यो, भन्दिनु पर्यो । गल्ती गरेपछी तोकिएको जरिवाना तिर्ने वा बिकल्प आफैले खोजेर सबैले आफ्नो समस्या आफैले समाधान गर्ने बानिको बिकास गर्न सिक्नु अहिलेको आबश्यकता पनि हो ।

मैले प्रहरीमा ३० बर्ष बिताएर सेवाबाट निबृत भए । मैले प्रहरी मा जागिर खाएकै कारण अहिलेपनी सबै प्रहरीलाई चिन्दछु भन्ने हुदैन । को प्रहरी कहाँ कार्यरत छ, मलाइ थाहा भइरहने कुरा पनि भएन । अनि सबैले मैले भनेको मान्छन वा सबै कुरा मा मैले सिफारिसै गरिहाल्छु नै भन्नेपनि त हुदैन नि ! जागिरे अबधिमा मैलेपनि चेकिङ्ग को क्रममा धेरैलाइ नियन्त्रणमा लिए हुला, धेरैको सोच र भावनालाइ सम्बोधन गर्न सकिन पनि होला तर पनि मैले कहाँ कति कडा हुनुपर्छ र कहाँ नरम अर्थात ब्याबहारिक बन्नुपर्छ भन्ने कार्यप्रकृतीको फरकपन भने अबस्य बुझेको थिए भन्ने दाबी चाहिँ गर्दछु । हाम्रो पालाका प्रहरी र अहिलेका प्रहरीको अनुशासन र आदेश पालनामा ठूलो अन्तर पाएको छु मैले । अहिलेका प्रहरी विशेष गरेर जवान वा कोहि कोहि जुप्रअ समेतले सामान्य गल्तिमा पनि सवारी साधनको चापी थुतिहाल्ने, बिलबुक लाइसेन्स मागि हाल्ने, जरिवानाको चिट काटीहाल्ने, साइड लगाइहाल्ने, अपशब्द बोलिहाल्ने, उस्तै परे हात हाल्न पनि उत्रीहाल्ने, एकान्त स्थानमा बसेर चेकिङ्गको बहानामा विभिन्न गल्ति देखाएर अप्ठेरो अबस्थाको फाइदा उठाउदै दुइचारसय रुपैया खल्तिमा हाल्ने मौका छोपिहाल्ने प्रबृती सर्बथा गलत छ ।

नेपालमा ट्राफिक व्यवस्थापनको ईतिहास

नेपालमा ट्राफिक प्रहरीको इतिहास धेरै पुरानो छैन तर यो क्रमिक रूपमा विकास हुँदै आएको छ । नेपालमा पहिलो पटक ट्राफिक व्यवस्थापनको लागि औपचारिक रूपमा २०१३ सालमा केही प्रहरी कर्मचारीहरूलाई काठमाडौं उपत्यकामा खटाइएको थियो । नेपालमा ट्राफिक प्रहरी को इतिहास विशेष रूपमा काठमाडौं उपत्यकाको सडक व्यवस्थापनबाट सुरु भएको हो । नेपालमा सवारीसाधन को आगमन र बढ्दो शहरीकरणले सडकमा अनुशासन कायम राख्न आवश्यक देखिएपछि ट्राफिक प्रहरीको अवधारणा ल्याइएको थियो । २०२८ सालमा औपचारिक रूपमा “ट्राफिक प्रहरी महाशाखा” स्थापना गरियो, जसले काठमाडौं उपत्यकामा मात्र नभई अन्य शहरहरूमा पनि ट्राफिक व्यवस्थापनको जिम्मेवारी लियो । समयसँगै सवारीसाधनहरु को वृद्धि, सडक संरचनाको विकास र शहरीकरणसँगै ट्राफिक नियमहरूलाई पनि परिमार्जन गरियो । २०३२ सालमा पहिलो पटक ट्राफिक प्रहरीहरू को लागि औपचारिक तालिमको व्यवस्था गरियो, जसले उनीहरूलाई ट्राफिक नियमहरूको ज्ञान र व्यवहारिक तालिम दियो । २०४० सालमा काठमाडौं बाहिर पोखरा, बिराटनगर र भैरहवा जस्ता मुख्य शहरहरूमा पनि ट्राफिक प्रहरी कार्यालयहरू स्थापना गरिए ।

काठमाडौं उपत्यकामा पहिलोपटक ट्राफिक सिग्नल बत्तीको प्रयोग २०३८ साल तिरै परीक्षणको रूपमा थालिएको थियो तर त्यो व्यापकरूपमा लागू हुन सकेन । व्यवस्थित तबरले सायद २०४५ सालतिर सिंहदरबार क्षेत्र र केही अन्य व्यस्त ठाउँहरू मा ट्राफिक सिग्नल बत्ती जडान गरियो । त्यसपछि २०५० सालतिर मुख्य जंक्सनहरू (जस्तै रत्नपार्क, त्रिपुरेश्वर, कलंकी आदि) मा सिग्नल बत्तीहरू जडान गरिए तर नियमित मर्मतसम्भार को अभाव, बिजुलिको अप्रयाप्तता, राज्यको ध्यान नपुग्नु र ट्राफिक प्रहरीकै प्राथमिकता परिवर्तनका कारण यी बत्तीहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेनन् । २०६० को दशकमा डिजिटलाइजेसनको थालनी गर्दै ट्राफिक व्यवस्थापनमा सीसीटीभी क्यामेराहरू प्रयोग गरियो भने २०७० को दशकमा अनलाइन जरिवाना प्रणाली लागू गरियो, जसले जरिवानाको पारदर्शिता र कुशलता बढायो । यसै समय देखि स्मार्ट ट्राफिक सिग्नल को अवधारणा ल्याइयो र हाल केही स्थानमा यस्ता प्रविधिहरू प्रयोगमा छन् ।

हाल नेपालमा ट्राफिक प्रहरीले डिजिटल प्रणाली, सिसि टिभी निगरानी, अनलाइन जरिवाना प्रणाली लगायतका आधुनिक प्रविधिहरूको प्रयोग गरिरहेको छ । यातायात कार्यालयका विभिन्न मोबाइल एप्स र अनलाइन सेवाहरू, सवारी चालक अनुमति पत्रको नवीकरण, जरिवाना तिर्ने प्रणाली र ट्राफिक अपडेटहरू उपलब्ध भएका देखिन्छन । यसले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । हाल नेपालमा ट्राफिक प्रहरीले आधुनिक प्रविधिहरूको प्रयोग गर्दै आएको छ तर फिल्डमा खटिने ट्राफिक प्रहरीको कार्यशैलिमा गुणस्तर सुधार भएको देखिदैन किन ? यसबारे गम्भीर रुपमा सोच्नु जरुरी देखिन्छ ।

नेपालमा ट्राफिक ब्याबस्थापनाका अझै पनि धेरै चुनौतीहरू रहेका छन । पहिलो कुरा त सवारी चालक अनुमती प्रमाणपत्र बितरण गर्ने, सवारीको अभिलेख राख्ने, नबिकरण गर्ने लगायतको सम्पुर्ण अधिकार प्रहरीलाई नै दिनुपर्ने देखिन्छ । पहिला यो प्राबधान थियो पनि तर पछि खोसियो जसले गर्दा समन्वयमा कमि महसुस भैरहेकोछ । सवारी साधनको तिब्र वृद्धि, सडक को सीमित संरचना, घुमाउरा साघुरा सडक, सडकको दुराबस्था, सवारी साधनको अत्यधिक संख्या, चालकको लापरबाही, सवारी साधनको अबस्था, मौसम, पैदल यात्रीहरूको लागि सुरक्षित फुटपाथको कमी, सवारी साधनको तुलनामा कम ट्राफिक जनशक्ती, अब्यबस्थित पार्किङ र पार्किङ्गस्थानको अभाब, सार्वजनिक यातायात प्रणालीको कमजोरी, ट्राफिक जनचेतना कार्यक्रमको कमि, प्रभाबकारी कानुनको कार्यान्वयनको अभाब, चालक र पैदल यात्रुहरूमा ट्राफिक नियमको पालना गर्ने संस्कारको कमी, आधुनिक प्रबिधीको प्रयोगमा कमि लगायतका थुप्रै चुनौतिहरु बिद्यमान छन ।

किन ट्राफिक प्रहरीले जरिवानामा जोड दिन्छ ?

नेपालमा ट्राफिक प्रहरीको मुख्य काम भनेको यातायात व्यवस्थापन, सडक सुरक्षाको सुनिश्चितता र दुर्घटना न्यूनीकरण गर्नु हो तर धेरैजसो अवस्थामा उनीहरू जरिवाना असुली र राजस्व वृद्धितर्फ बढी केन्द्रित देखिन्छन् । ट्राफिक प्रहरीले मुलत ट्राफिक ब्याबस्थापन नै गर्ने हो भन्नेकुरा बिर्सेर राज्यले उनिहरुलाइ राजश्व उठाउने निकायको रुपमा काम लगाउने गरेको देखिइदैछ । बिदेशमा जस्तो ब्यबस्थित र पारदर्शी जरिवाना पद्दति को बिकास गर्न सके चालकहरु स्वयं आफै सतर्क र चनाखो हुनेथिए तर यहाँ जरिवानालाइ तर्साउने, धम्क्याउने र दुखदिने अश्त्रको रुपमा बिकास गर्न खोजिएको जस्तो देखिन्छ । ट्राफिक नियमको पालना गराउन जरिवाना प्रभावकारी उपाय हुनसक्छ तर यसको गलत उपयोग हुँदा “जरिवानामुखी प्रवृत्ति” देखिइदैछ । चालकबर्गमा जनचेतनाको कमी र ट्राफिक नियमप्रतिको लापरवाहीले गर्दा नियम उल्लङ्घन गर्नेहरूको संख्यामा कमी आउन नसक्दा जरिवानालाई नै नियन्त्रणको माध्यम बनाइएको पो हो कि ?

राज्य र प्रहरी संगठनले ट्राफिक प्रहरीको कार्य मुल्यांकन को आधार नै राजश्व संकलनलाइ बनाइएको जस्तो देखिन्छ, यसैलाई नै उनिहरुको बृती बिकासको आधार को रुपमा अर्थ्याइएको कारणले पनि सरकारले तोकेको लक्ष्य अनुसार राजश्व संकलन हुनुपर्ने हुँदा जरिवानाबाट राजस्व जुटाउने बढी भन्दा बढि प्रयास भएको हुनसक्छ जुन गलत अभ्यास हो । बार्षिक राजश्वको लक्ष्य पूरा गर्नु पर्ने बाध्यताले गर्दा पनि ट्राफिक प्रहरीहरू जरिवानामा बढी ध्यान दिन बाध्य हुन्छन् जसको कारण समाजमा ट्राफिक प्रहरीहरु आलोचित हुँदै आएको अबस्था छ । जरिवानाको लक्ष्य पुरा गर्दा पदोन्नति र पुरस्कारको सम्भावना बढी हुने हुँदा पनि उनीहरू यसतर्फ आकर्षित हुन्छन् । एकातिर ट्राफिक व्यवस्थापनमा आवश्यक प्राविधिक ज्ञान र तालिमको अभाव छ, जसले गर्दा सरल उपायको रूपमा जरिवानामा ध्यान दिन्छन् भने अर्कोतर्फ जनशक्ति सीमित भएको अवस्थामा सहज उपायको रूपमा जरिवाना असुली गर्ने प्रवृत्ति देखिन्छ ।

ट्राफिक प्रहरीको कामको मूल्याङ्कन जरिवाना संख्या र रकममा नभई दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन को प्रभावकारितामा आधारित हुनुपर्ने हो तर यहाँ त्यसो भैरहेको छैन । अहिले देशैभर निजि रातोप्लेटका जिप, कार, भ्यान वा टाटासुमो, स्पर्पियो लगायतका साना गाडिहरुले रिजर्बको रुपमा पेसिन्जर बोक्ने गरेकाछन । पेसिन्जर बोक्ने हो भने कालोप्लेट बनाउनुपर्छ तर त्यसो गरिएको पाइन्न । यसरी बोक्नु अबैधानिक हो तर ट्राफिक प्रहरिले पनि गुरु चिट काटेर जानू है भन्दै राजमार्गका होटलवालाले ग्राहकलाइ खानाखान बोलाए झै गरेर रिजर्बमा पेसेन्जर बोक्ने निजि गाडिलाइ बोलाइ बोलाइ एकहजारको चिट कटाउने गरेका छन वा २/४ सय खल्तिमा हालेर छोडने गरेकाछन मानौ कि यसो गरेपछी उक्त कार्य बैधानिक भयो । यस्तो पनि हुन्छ ? यसबारे राज्यले किन केही थाहा नपाए जस्तो गर्छ ? ट्राफिक प्रहरीका आफ्नै ब्याक्तिगत गुनासा, बाध्यता र समस्या धेरै होलान, छन पनि तर त्यसको प्रतिबिम्ब ड्युटिमा झल्किनु हुदैन भन्ने आम जनताको सुझाब हो ।

निष्कर्ष

नेपालमा ट्राफिक प्रहरीको इतिहास पुरानो नभए पनि यसको क्रमिक विकासले सडक सुरक्षा र अनुशासनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । आधुनिक प्रविधिहरूको प्रयोग, ट्राफिक सप्ताह स्कुल कलेजमा विद्यार्थीलाई दिइने ट्राफिक ज्ञान लगायतका जनचेतनामुलक कार्यक्रमहरू र ट्राफिक नियम हरूको कडाइले भविष्यमा अझै प्रभावकारी ट्राफिक व्यवस्थापनको अपेक्षा गर्न सकिन्छ । बिबिध चुनौतीहरुको बिचमा रहेरै भएपनी यातायत व्यवस्थापनको लागि ट्राफिक प्रहरीले खेलेको भुमिका भने प्रशंसयोग्य नै रहेको छ ।

नेपालमा ट्राफिक प्रहरीले जरिवाना असुलीमा बढी ध्यान दिएको देखिए पनि यसको पछाडि रहेका संरचनात्मक र नीतिगत समस्याहरूलाई समाधान गरेर मात्र दीर्घकालीन सुधार ल्याउन सकिन्छ । नेपालमा ट्राफिक व्यवस्थालाई सुचारु गराउन र सडक सुरक्षालाई सुनिश्चित गर्न विभिन्न कानूनी प्रावधानहरू लागू गरिएका छन् जसको अक्षरस पालना हुनुपर्ने देखिन्छ । ट्राफिक प्रहरीको कार्यशैली देखेर समाजले उनिहरु प्रती आदर र सम्मानगर्ने अवस्थाको माहौल सिर्जना गराउन सके समग्रमा जनतामा प्रहरीप्रतिको भरोसा र बिश्वास अझै बढने थियो कि !

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु