हाम्रो समाजमा वैवाहिक सम्बन्धबिच्छेदको बाढी नै आएको छ । दिनदिनै अदालतमा सम्बन्धबिच्छेदका मुद्दा बोकेर जानेहरुको लर्को देखिन्छ । अहिले सामाजिक संजालभरी एकजना गायिकाले सम्बन्ध बिच्छेदको लागि अदालतमा मुद्दा दर्ता गरेकी, अर्कि नायिकाको पनि पतिसित खटपट परेको भन्ने प्रसंग चर्चामा छ । सत्य तितो हुन्छ ! पचाउन पाचक नै खानुपर्ने फेरि पनि एउटा सत्य के हो भने नेपालका सेलिब्रेट वा सेलिब्रेटी भनिने गायक गायिका, नायक नायिका, डान्सर, हास्यब्याङ्यकार वा यस्तैयस्तै स्टेज पर्दामा बाहीबाही बटुल्ने कलाकारहरुको अपबादमा बाहेक प्राय धेरैको बैबाहिक र पारिवारिक जीवन अशान्त छ, पिडादायी छ, छिन्नभिन्न छ, दुखद नै देखिन्छ । स्टेजमा शरीर हल्लाएर भिडलाइ आकर्षित गर्नु र घरगृहस्थी चलाउनु, घर गृहस्थी सम्हाल्नु वा सफल पारिवारिक सम्बन्ध बनाउनुमा आकाश जमिनको फरक छ । अरुको तुलनामा उनिहरुकै जिवनमा बढी मात्रामा यस्तो किन हुन्छ ? यो अनुसन्धान र बिश्लेषणको बिषय बन्नसक्ला तर म आज नेपालमा बैबाहिक सम्बन्ध बिच्छेदको समग्र पक्षबिच परामर्श सहितको चर्चा गर्दैछु ।
सम्बन्धबिच्छेद (Divorce) भनेको वैवाहिक सम्बन्धलाइ कानुनी रूपमा अन्त्य गर्ने प्रक्रिया हो । यसलाइ पारपाचुके, त्यागपत्र, छोडपत्र पनि भनिन्छ । जब पति-पत्नी कुनै कारणवश एकअर्कासँग बस्न नसक्ने अवस्थामा पुग्छन् तब उनिहरुले कानुनी रूपमा अलग हुने निर्णय गर्छन्, त्यसलाईनै सम्बन्ध बिच्छेद भनिन्छ । यसले दुबैजनाबिचको नातासम्बन्ध, कर्तब्य र अधिकार को अन्त्य गर्दछ । मानव सभ्यताको उषा काल देखिनै धेरै खालका मान्यता, परम्परा, सस्कृतीहरुमा आधारित बैबाहिक प्रणाली अस्तित्वमा रहेको हामी पाउछौ, त्यही बिबाहबाट महिला र पुरुष बिचको सम्बन्ध श्रीमान र श्रीमतिको रुपमा स्थापित हुन्छ तर सम्बन्ध बिच्छेदले यस्तो सम्बन्धको अन्त्य गर्दछ । आमाबाबु र छोराछोरी बिच, दिदी बहिनी वा दाजुभाइ बिचको नातासम्बन्ध त कहिल्यै बिच्छेद हुदैन किन भने यिनिहरुमा रगतको नाता हुन्छ तर बैबाहिक जीवन भनेको सम्झौतामा आधारित भावनात्मक हुन्छ । यसमा दुबैपक्षको स्वार्थ पनि जोडिएको हुन्छ त्यसैले यो अस्थिर पनि हुनसक्ने भयो ।
कानुनी शब्दकोषमा सम्बन्ध बिच्छेदलाइ पारपाचुके अर्थात तलाक भन्ने शब्दको प्रयोग गरिएको छ । मुस्लिम धर्ममा तलाक शब्दको बढि प्रयोग हुन्छ भने हिन्दु धर्मशास्त्रअनुसार हिन्दुधर्ममा बिबाह गर्दा केटिपक्षको अभिभाबकले अग्नि साक्षी राखेर आफ्नी छोरीको गोत्र नै केटापक्षमा कन्यादान गरेरै साहारी दिने हुनाले अब उनको फेरि पटक पटक गोत्र परिवर्तन हुदैन अर्थात सम्बन्धबिच्छेद हुनैसक्दैन भन्ने शास्त्रीय मान्यता रहि आएको छ । उनको साहारीसकेको गोत्र कानुनी वा अदालती सम्बन्ध बिच्छेदको आदेशकै कारणले फेरि माइतिपक्षको गोत्रमा फिर्ता हुदैन किन भने बिबाह गर्दा जुनि जुनिको लागि अर्थात सात जन्मसम्मको लागि भनेर हस्तान्तरण गरिएको हुन्छ तर अहिले यो सामान्य जस्तै लाग्न थालेको छ । सम्बन्ध बिच्छेदपछी पुरानो लोग्नेको थर हटाएर पुन माइतिको थर वा नया बिबाह गरिने पुरुषको थर प्रयोग गर्नपाउने कानुनी सुबिधा अहिले महिलालाइ प्राप्त छ ।
नाता सम्बन्ध एउटा भेग विषय हो । मानिसका रगत, भावना, बैबाहिक, मितेरी, धर्मपुत्र धर्मपुत्री, पारिवारिक, सामाजिक, राष्ट्रिय लगायतका अनेकौं सम्बन्ध हुन्छन् । सम्बन्धको विस्तार मानिसको चाहना र रुचिअनुसार फरक फरक हुन्छ । सम्बन्ध विच्छेद श्रीमान श्रीमती बीचको बैवाहिक नाता सम्बन्धबाट दायित्व रहित तवरले अलग हुने कानुनी आधार हो । पति र पत्नीबीचको आपसी सम्बन्धमा कायम भएको वैवाहिक सम्बन्धको अन्त्य हुनु सम्बन्ध विच्छेद हो । यसले विवाहद्धारा कायम भएका नाता, साइनोलाई तोड्ने वा छुटयाउने काम गर्दछ । सम्बन्ध विच्छेदले वैवाहिक नाता सम्बन्ध समाप्त भई कानूनी रुपमा छुट्टाछुट्टै बस्ने अनुमति प्रदान गर्दछ । फेरीपनि बिदेशि वा पश्चिमी समाजको तुलनामा हामिकहा कमै मात्रामा सम्बन्ध बिच्छेद हुने गरेको हामी पाउछौ । उनिहरु हाम्रो श्रीमान श्रीमती एकआपसमा लामो समयसम्म मिलेर बसेको देखेर चकित पर्छन ता पनि अहिलेको बढदो अबस्थाले हामिलाइ चिन्तित तुल्याएको पक्कै हो ।
विवाहबाट जसरी पुरुष र महिलाबीचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा जोडिन्छ, त्यसैगरी सम्बन्धविच्छेदबाट सोही श्रीमान-श्रीमतीबीचको नातासम्बन्ध तोडिन्छ । स्पष्ट रुपमा भन्ने हो भने पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरुप पति पत्नीबीचको नातासम्बन्ध को अन्त्य नै सम्बन्ध विच्छेद हो । अर्थात वैवाहिककानून अन्तर्गत कानूनको अङ्गपुर्याइ विवाहित दम्पतिले आफूहरुलाई सो दाम्पत्य जीवनबाट अलग्याउनु वा त्यस्तो दाम्पत्य जीवनको अन्त्य गर्नु नै सम्बन्धविच्छेद हो । सम्बन्ध विच्छेदपछि श्रीमान, श्रीमतीको अस्तित्व कानूनी रुपमा समाप्त गरी दुवै पक्षलाई स्वतन्त्रता प्राप्ति को लागि चालिने कानूनी हक नै सम्बन्ध विच्छेद हो भनेर पनि बुझ्न सकियो । सम्बन्ध विच्छेदको कानूनी संरचना बृहत भएतापनि नेपालमा यससम्बन्धी छुट्टैकानून भने बनेको छैन ।
नेपालमा सम्बन्धबिच्छेदको इतिहास
मेरो बिचारमा नेपालमा सम्बन्ध बिच्छेदको इतिहास धेरै पुरानो होला भन्ने लाग्दैन, किन भने पहिला हाम्रो समाजमा क्रुर सति प्रथा बिद्यमान थियो । सतिप्रथाको अन्त्यपछी नै यसले सामाजिक रुप लिएको देखिन्छ । सामाजिक, सांस्कृतिक र कानुनी रूपमा क्रमशः परिवर्तन हुँदै अहिलेको स्थितिमा आइपुगेको हो । परम्परागत रूपमा नेपाली समाजमा विवाहलाइ पवित्र बन्धन मानिन्थ्यो र सम्बन्ध बिच्छेदलाई अस्वीकार्य वा अपमानजनक रूपमा हेरिन्थ्यो तर समयक्रम सँगै कानुनी संरचना र सामाजिक सोचमा परिवर्तन आएको देखिन्छ । हिन्दू परम्पराअनुसार, विवाहलाई जन्म जन्मान्तर को सम्बन्ध मानिन्थ्यो जसलाई तोड्न सकिन्न भनिन्थ्यो । विशेषगरी महिलाहरूलाई सम्बन्ध बिच्छेदको अधिकार थिएन र तिनीहरूलाई पतिसँगै जीवन बिताउन बाध्य पारिन्थ्यो । मुस्लिम समुदायमा शरीयत कानुन अनुसार तलाक सम्भव भए पनि अन्य समुदायमा यो सामाजिक रूपमा अस्वीकार्य थियो ।
नेपालमा पहिलोपटक वि.सं. १९१० मा जारी गरिएको मुलुकी ऐनले २०२० सम्म आइपुग्दा सम्बन्धबिच्छेदको बारेमा केही सामान्य व्यवस्था गरेको पाइन्छ । उक्त कानुनमा पुरुषलाई सम्बन्ध बिच्छेद गर्ने अधिकार भए पनि महिलालाई निकै सीमित आधारहरु मात्र दिइएको थियो । वि.सं. २०२० मा पुरानो ऎनको ब्याबस्थालाइ परिवर्तन गरि नया मुलुकी ऐन लागूभए पश्चात महिला र पुरुष दुबैलाई सम्बन्धबिच्छेद गर्न अनुमति दिइयो तर यसमा पनि महिलाका अधिकारहरुमा सीमितता थिए । यस बेलासम्म आइपुग्दा पनि सम्बन्धबिच्छेदको कानुनी प्रक्रिया कठिन थियो, जसले गर्दा धेरै मानिसहरू जबरजस्ती विवाह बन्धनमा बाँधिएरै बस्दथे ।
नेपालमा २०७५ सालमा लागू भएको नयाँ मुलुकी देवानी संहिता २०७४ ले सम्बन्ध बिच्छेदलाई थप व्यवस्थित र महिला पुरुष दुबैको हकमा समान जस्तै अवसरयुक्त बनाइ दियो । अहिले महिला र पुरुषले स्वतन्त्र रूपमा सम्बन्ध बिच्छेद गर्न सक्छन् तर पुरुषले अंश दिनुपर्ने ब्याबस्थाले गर्दा कतिपयले सम्पत्ती हत्याउनकै लागि सम्बन्ध बनाउदै बिच्छेद गर्दैगरेका बिकृतीका समाचारहरु पनि सुनिन थालेका छन । बिबाह भएपछी जोडिएको वा कमाइएको सम्पत्तिमा मात्र आधा हक लाग्नु पर्नेमा पैत्रिक देखिकै सम्पुर्ण सम्पत्तीमा हक लाग्ने प्राबधानकै कारण यो बिकृती फैलिएको हो । सम्बन्ध बिच्छेदको लागि निबेदन परेपछी अदालतमा मेलमिलाप गराउने प्रयास सफल नभएमा सम्बन्ध बिच्छेदको आदेश गरिन्छ । शहरिया, सम्पन्न महिला मात्र होइन, ग्रामीण र विपन्न महिलासमेत सम्बन्धविच्छेदको निवेदन बोकेर अदालत धाउनेक्रम बढेको छ । सम्बन्ध विच्छेद, पतिपत्नीबीचको मनोमालिन्य, विवाद र बन्धनको गाँठो फुकाउने कानुनी अस्त्र बनेको छ ।
नेपाली समाजमा एउटा उखान छ – “हतारमा बिहे गरेर फुर्सदमा पछुताउनु” । हिन्दिमा अर्को उखान छ – “सादीका लढ्ढु जो खाए वो भि पछताए, और जो नहि खाए वो भि पछताए” । यी भनाइहरुले बिबाह गर्नुअघी मानिसमा केकाना होला भन्ने जुन कौतुहलता, रहर, बाध्यता र बुझाइ हुन्छ, बिहे पछि त्यसमा केहि कमि जस्तो महसुस लाग्छ भन्ने अनुभबी आशयलाइ ब्याक्त गर्दछन । यहि नेर हो पति पत्निले आफ्ना भावनालाइ मजबुद बनाउनुपर्ने, आफ्ना इच्छा आकांक्षालाइ लगाम लगाउनुपर्ने, एक आपसमा सम्झौता गरेर अघाडी बढनुपर्ने, पारिवारिक जिवनको सफलताको लागि त्याग, धैर्यता, समर्पण र सहिष्णुतामा तालमेल मिलाउदै परिवारमा समानजस्यता ल्याउनुपर्ने । यसो गर्न सकिएन भने बैबाहिक जिवनले छिन्नभिन्नको रुप लिन बेर लगाउदैन । पुरुषले सधै आफ्नो परिवारलाइ जोडेर राख्ने कोसिस गर्नुपर्छ भने महिलाले पनि सम्बन्धविच्छेद पछि घर र सन्तान छाडेर एक्लो जीवनको कष्टकर यात्रामा हेलिनुपर्दा हुने समस्यालाइ अगृम बुझ्न आबश्यक छ ।
डिभोर्स गरेकालाई हाम्रो समाजमा किन घृणा गरिन्छ ?
सम्बन्धबिच्छेद अहिले सामान्य र आम बिषय बनिसकेको छ अर्थात नया फेसन जस्तै भएको छ तर पनि समाजमा अझै सम्बन्धबिच्छेदप्रति नकारात्मक दृष्टिकोण राख्नेहरू छन । सम्बन्ध बिच्छेद गरेका पुरुषको तुलनामा महिलाहरुलाई अझै पनी सामाजिक हेयको कारण आगामी बैबाहिक जीवन सोचे अनुरुप सहज भएको अबस्था भने देखिदैन । हाम्रो समाजमा विवाहलाई मात्र होइन, दाम्पत्य जीवनलाई पनि स्थायित्व, प्रतिष्ठा र सामाजिक मूल्यमान्यता संग जोडेर हेर्ने परम्परा छ । जब कुनै जोडीले सम्बन्ध बिच्छेद गर्छन भने समाजले त्यसलाई असफलता वा अपूर्णता भनेर हेर्ने गर्छ ।
सम्बन्धविच्छेद गर्ने महिलालाई हेय र दयाका पात्र ठान्ने र भेदभावपूर्ण व्यवहार गर्ने सामाजिक कुसंस्कार कायमै छ । यो खासगरी मृत्युसंस्कार, काजक्रिया, कर्मकाण्ड गर्ने विषयसँग जोडिएको छ । सम्बन्धविच्छेदपछि महिलाले केहीसमय मुक्तिको अनुभूति गरे पनि अवस्था सधैंभरि यस्तो रहँदैन । हाम्रो पितृसत्तात्मक समाजको एकांकी दृष्टिकोण, आर्थिक समस्या र सांस्कृतिक मूल्यमान्यताले त्यस्ता महिलालाई गाँज्दै लान्छ र बाँकी जीवन जिउन चुनौतीका पहाड ठडिन थाल्छन् तर पुरुष, सम्बन्ध–विच्छेदपछि पनि घरपरिवार तथा समाजमा ससम्मान किन बाँच्न पाउँछन् भन्ने हाम्रो सामाजिक भेदभाब बुझ्नु जरुरी छ । त्यति मात्र होइन, पुरुषले सन्तान र परिवार बाटै दोस्रो विवाहका लागि प्रोत्साहन पाउँछ र साथ दिने केटीहरूको पनि ओइरो लाग्छ तर डिभोर्स भएकी महिलासंग बिबाह गर्नको लागि हरेक केटाले एकपटक सोच्ने गर्दछ । यो फरकपन गम्भीर छ । समाजमा यस्तो सोचाइ आउनुका विभिन्न कारणहरु निम्न छन :
१. परम्परागत धारणाहरू
हाम्रो समाजमा विवाहलाई जीवनभर कायम राख्नुपर्ने सम्बन्धको रूपमा लिइन्छ । सम्बन्ध जोगाउनु नै सफल जीवन हो भन्ने मान्यता छ, जसले सम्बन्ध बिच्छेदलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । हाम्रो पुरानो मान्यताकै निरन्तरताको कारण बिदेशीको तुलनामा हामिकहा थोरै मात्र सम्बन्ध बिच्छेदका घटनाहरु देखिन्छन । सफल दाम्पत्य जिवनको लागि धैर्यता, त्याग र समर्पणको जरुरत पर्दछ ।
२. लैंगिक भेदभाव
पुरुष र महिलाप्रति फरक दृष्टिकोण जसले महिलालाई विवाह पछि परिवारमै समर्पित हुनुपर्ने सोच हुन्छ, जसले गर्दा सम्बन्ध बिच्छेद गरेकी महिलालाई पुरुषको तुलनामा बढीनै आलोचना गरिन्छ । पुरुषलाई परिवार पाल्ने भूमिकामा देखिन्छ र सम्बन्ध बिच्छेद भएपछि उसलाई ‘जिम्मेवार नभएको भनेर हेर्ने गरिन्छ । एउटि श्रीमती त पाल्न नसक्नेले अरु के गर्ला भनेर हेपिन्छ ।
३. समाजमा असुरक्षित महसुस गराउनु
सम्बन्ध बिच्छेद गर्ने व्यक्तिलाई ‘एकल’ भएको कारण हेय गरिन्छ, किनभने समाजमा एकल व्यक्तिहरूलाई असुरक्षित महसुस गराउने प्रवृत्ति छ । कतिपयलाई लाग्छ कि सम्बन्ध बिच्छेद भएपछि सामाजिक सम्बन्धहरू कमजोर हुन्छन् ।
४. आर्थिक र सामाजिक आश्रय
हाम्रो समाजमा महिलाहरू अझै पनि आर्थिक रूपमा स्वावलम्बी नभएका कारण सम्बन्ध बिच्छेदलाई कठिनाइको रूपमा लिइन्छ । लोग्नेको घर र साथ छोडेर कहाजाने भन्ने पहिलो चिन्ताले सताउने हुन्छ । पारिवारिक सहयोग नपाइने डरले पनि समाजले यस्तो सोच राख्छ ।
सम्बन्ध बिच्छेदको बढदो तथ्यांक र कारणहरु
नेपालमा सम्बन्ध विच्छेदका घटनाहरू पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढिरहेका छन् । उपलब्ध तथ्यांकहरूका आधारमा, यो वृद्धि स्पष्ट देखिन्छ । २०७० सालमा ३९४ जोडीले सम्बन्ध विच्छेद गरेका थिए भने २०७९ सालमा यो संख्या बढेर १८,३४० पुगेको थियो । यसले एक दशकमा सम्बन्ध विच्छेदका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा देशभरका जिल्ला, उच्च र सर्वोच्च अदालतहरूमा कुल ३७,४३४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये २७,०७८ वटा मुद्दा फछ्र्योट भएका छन्, जसअनुसार दैनिक सरदर ७४ जोडी कानुनी रूपमा अलग भएको देखिन्छ ।
अहिले सम्बन्ध बिच्छेदको संख्या दिनानुदिन बढनुको सकारात्मक कारण भनेको महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता, शिक्षामा वृद्धि, वैवाहिक स्वतन्त्रता प्रतिको सक्षम दृष्टिकोण, आफू दबिएर हेपिएर बस्नैपर्छ भन्ने भावनाको बिरुद्द आएको चेतना र बिगतमा बालबिबाह होस वा हतारमा गरिएको बिबाहको निर्णयलाइ बेलैमा सच्याउने सोच पनि हो भने नकारात्मक कारण भनेकै स्वार्थी सोच, सम्पत्ती हत्याउने लोभ, धैर्यताको कमि, प्रेममा आएको आधुनिकपन, लामो समयसम्म पति पत्नीबिचको भेटघाटको अन्तराल र बैदेशिक रोजगारले टाढिएको अबस्था र प्रेमबिबाह पनि हो । एक अध्यायनका अनुसार मागीबिबाहमा भन्दा प्रेमबिबाहमा बढी सम्बन्ध बिच्छेद भएको अबस्था देखिन्छ । पहिले पुरुष प्रधान समाजमा महिलाहरूको आवाज दबाइन्थ्यो, तर अहिले उनीहरूले आफ्ना अधिकार बारे बुझ्न थालेका छन् । दाम्पत्य जीवनमा समानता, सम्मान र सहयोग आवश्यक हुन्छ भन्ने सोच बढ्दै गएको छ । नेपाल मा मुलुकी देवानी संहिता २०७४ लागू भएपछि सम्बन्ध बिच्छेदको कानुनी प्रक्रिया सजिलो भएको छ ।
यसरी हरेक बर्ष सम्बन्ध बिच्छेदका घटनाहरु बढदै जानुमा समाजमा आएको परिवर्तन, लैंगिक समानताप्रतिको चेतना, व्यक्तिगत स्वतन्त्रताप्रतिको चाहना, पहिले को तुलनामा सजिलो र झण्झडरहित कानुनी ब्याबस्था, महिलाहरूको आयआर्जन र आर्थिक स्वतन्त्रता बढ्दै जाँदा उनीहरूले असन्तुष्ट सम्बन्धबाट बाहिर निस्कन सहज महसुस गर्नु, आफ्नो जिवनको निर्णय आफैले लिन महिलाहरु सक्षमहुनु पनि हुन । विशेषगरी महिलाहरू आर्थिक रूपमा सक्षम भए पछि उनीहरूले हिंसा, दमन, वा दुव्र्यवहार सहनुपर्ने अवस्था कम भएको छ । पारम्परिक समाजमा विवाहलाई जीवनभर टिकाउनुपर्ने सम्बन्ध मानिन्थ्यो, तर अब व्यक्तिहरू आफ्नै इच्छाअनुसार रमाउन थालेका छन् । महिला-पुरुष दुवै शिक्षित र आत्मनिर्भर बन्दै गएकाले असन्तोषजनक सम्बन्धलाई जबर्जस्ती जोगाउनु नपर्ने सोचको विकास भएको छ ।
महिलाले सदैब मिलेर बस्नुपर्छ, घर गरेर खानुपर्छ, श्रीमान लाई सम्मान गर्नुपर्छ, उसको सतमा बस्नुपर्छ भन्ने मान्यतालाइ भत्काउँदै नारीले सहनशीलता, धैर्यता र लचकता टुटाउँदै, म पनि ऊभन्दा के कम भन्ने आवेशमा सम्बन्ध–विच्छेद गर्न होमिने महिलाको संख्या पनि बढ्दै छ । सम्बन्ध टिकाउनकै लागि एकअर्कोमा निर्भर रहनु नपरेपछि असन्तुष्ट जोडीहरूले स्वतन्त्र निर्णय गर्न थालेका छन् । विवाहपछि उत्पन्नहुने पारिवारिक असहमति, सासू-बुहारी लगायतसंगको सम्बन्ध, आर्थिक समस्याहरू र सांस्कृतिक मतभेदले झगडा बढाउदा पनि यो समस्या बढिरहेको छ । पहिले सम्बन्ध बिच्छेदलाई समाजले नराम्रो रूपमा लिने गर्थ्यो, तर अहिले समाजमा यसको स्वीकृति बढ्दै गएको छ । परिवारका सदस्यहरू ले पनि सम्बन्ध बिग्रिएको खण्डमा छुट्टिने निर्णयलाई सहज रूपमा लिने गरेका छन् ।
हुन त बिबाह गर्दा कसैले पनि भबिश्यमा डिभोर्स हुनुपर्ला भन्ने कल्पना गरेर बिबाह गरेका हुदैनन । सबैले सुन्दर भबिश्यको सपना देखेरै निर्णय लिएका हुन्छन तर पनि परिस्थिती सोचे अनुरुप नहुनसक्छ । पति-पत्नीबीच निरन्तर झगडा वा असहमति हुनु, दुवैमध्ये कुनै एकले बाहिर अरूसँग सम्बन्ध राख्नु, एकले अर्कोलाइ शारीरिक वा मानसिक यातना दिनु, पैसा वा धनसम्पत्ति सम्बन्धीमा असहमति हुनु, परिवार वा समाजको कारण सम्बन्धमा तनाव आउनु, बालबच्चा नहुनु वा पारिवारिक अपेक्षा पूरा नहुनु, एकले अर्कोको बारेमा राम्ररी नबुझी हतारमा वा कलिलो उमेरमै बिबाहको निर्णय लिनु आदि थुप्रै कारणले पनि सम्बन्धमा खटपट आइरहन्छन ।
सम्बन्धबिच्छेद हुनै लागेको सम्बन्ध कसरी जोगाउने ?
सम्बन्धबिच्छेदको अवस्थामा पुगेको सम्बन्धलाई पुनः विश्वासयोग्य बनाउन कठिन भए पनि असम्भव भने छैन । सम्बन्ध जोगाउन दुवै पक्षको इच्छाशक्ति, समझदारी र आपसी प्रयास आवश्यक हुन्छ । केहि प्रभावकारी उपायहरू यस्ता हुनसक्दछन –
१) खुला संवाद (Effective Communication)
समस्या समाधानको पहिलो र महत्वपूर्ण उपाय खुला र इमानदार संवाद हो । मन माझामाझ गरेर सम्पुर्ण दुख कष्ट गुनासा र शंकाको बिषयमा महिला र पुरुष मात्र बसेर छलफल गर्नु हो । दुबैले एकअर्काको भावना र समस्यालाइ शान्त मनले सुन्ने प्रयास गर्नुपर्छ । ‘आरोप-प्रत्यारोप’ नगरी, समस्या बुझ्ने र समाधान खोज्ने मानसिकता राख्नुपर्छ ।
२) समस्या पहिचान गर्ने र स्वीकार्ने
सम्बन्ध किन बिग्रिएको हो ? भनेर आत्मविश्लेषण गर्दै समस्याको मुल कारण र त्यसको समाधान पत्ता लगाउनु जरुरी हुन्छ । दुई मध्ये जसको गल्ती छ उसले स्वीकार गरेर सुधार्ने प्रयास गर्दै आगामी दिनमा त्यस्तो क्रीयाकलाप नदोहर्याउने संकल्प गर्नुपर्छ । आपसी असहमति, भरोसाको कमी वा अन्य कारणहरू बुझेर समाधान खोज्नुपर्छ ।
३) विश्वास पुनः निर्माण गर्ने (Rebuilding Trust)
एकपटक गुमेको विश्वास फर्काउन समय लाग्छ, तर असम्भव भने हुदैन । साना-साना तरिकाबाट एक अर्कालाई सम्मान र माया देखाउने प्रयास गर्नुपर्छ । दुबैपक्षमा कुनै पनि भ्रम, गोप्य कुरा वा धोकाभए, त्यसलाई स्पष्ट पारेर नयाँ शुरुवात गर्नुपर्छ।
४) परिवार वा परामर्श सेवाको सहयोग लिनु (Seek Professional Help)
कहिलेकाहीँ सम्बन्धबचाउन आफैंलेमात्र सम्भव नहुन सक्छ । यस्तो अबस्थामा दुबै पक्षले स्विकार गरेको हितैषी मित्र वा शुभचिन्तक, विवाह परामर्शदाता (Marriage Counselor) वा अनुभवी व्यक्तिहरूसँग छलफलगरि सुझाब सहयोगलिदा समाधान भेटिनसक्छ।
५) पुराना यादहरू र सकारात्मक पक्षहरू सम्झनु
दुबैले सम्बन्धको सुरुवाती समयका राम्रा सम्झनाहरू, मायाका प्रेमालापहरुलाइ पुनः ताजा गर्नुपर्छ । बिगतमा सँगै बिताएका राम्रा पलहरूको चर्चा गर्नुले सम्बन्धलाई फेरि मजबुत बनाउन सक्छ ।
६) सहनशीलता र धैर्यता राख्ने
तुरुन्तै सुधारको आशा नगरी, धैर्य राखेर सम्बन्ध सुधार्न समय दिनुपर्छ । रिस, घृणा वा झगडालाई थोरै भए पनि नियन्त्रण गर्न आवश्यक छ । दुबैले आआफ्ना कमि कमजोरी र गल्ति लाइ स्विकार गर्नुपर्छ । घमण्ड देखाउनु हुदैन ।
७) सँगै गुणस्तरीय समय बिताउने (Spending Quality Time)
यदि बिश्वास र सम्भव छ भने दुबैजना सँगै यात्रा गर्ने, नयाँ गतिविधिमा संलग्न हुने वा दैनिक जीवनलाई रमाइलो बनाउने प्रयास गर्नुपर्छ । नियमितरूपमा सँगै समय बिताउनुले सम्बन्ध सुधार्न मद्दत गर्छ । आदि ।
निष्कर्ष
नेपालमा सम्बन्ध बिच्छेदको इतिहास सामाजिक र कानुनी परिवर्तनसँगै क्रमशः उदार बन्दै गएको देखिन्छ । परम्परागत रूपमा यो वर्जित विषय भए पनि हालका कानुनी सुधारहरूले व्यक्तिगत स्वतन्त्रता र न्याय सुनिश्चित गर्न योगदान दिएका छन् । डिभोर्स एक गम्भीर निर्णय हो, त्यसैले यसबारे राम्रोसँग सोचेर मात्र कदम चाल्नुपर्छ । यदि दुबै पक्ष इच्छुक छन् भने सम्बन्ध बिच्छेदको अवस्थामा पुगेको सम्बन्धलाई पुनः बलियो बनाउन सकिन्छ ।
सबैभन्दा मुख्य कुरा भनेको खुला संवाद, विश्वासको पुनः निर्माण र सकारात्मक सोच हो । यदि यी उपायहरू अपनाउँदा पनि सुधार आउँदैन भने, स्वस्थ रूपमा अलग हुने निर्णय लिनु नै राम्रो हुन्छ । सम्बन्ध बिच्छेदलाई व्यक्तिगत निर्णयको रूपमा सम्मान गर्नुपर्छ । विवाहलाई जीवनको एउटा हिस्सा मात्र भनेर हेर्नु पर्छ, सम्पूर्ण जीवन होइन । समाजको सोच बदल्न समय लाग्छ, तर जब मानिसहरूले व्यक्तिगत स्वतन्त्रता र आत्म-सम्मानलाई महत्व दिन्छन्, सम्बन्ध बिच्छेदलाई हेर्ने दृष्टिकोणपनि सकारात्मक बन्दै जान्छ ।
सम्बन्धबिच्छेदको समस्या नेपालमा किन बढ्दैछ भन्ने सवालको जवाफ समाजमा आएको चेतना, आर्थिक स्वतन्त्रता, कानुनी सुधार, र विदेश जाने प्रवृत्तिले दिन्छ । यदि सम्बन्ध बिच्छेदको संख्यामा कमी ल्याउन चाहने हो भने, विवाहपूर्व परिपक्व सोच बनाउने, परिवारका समस्याहरू मिलेर समाधान गर्ने र आपसी समझदारी बढाउने जस्ता उपायहरू आवश्यक देखिन्छ । वैवाहिक जीवन व्यतीत गरेको वर्षाैं बितिसकेपछि पनि सानातिना मनमुटावकै निहुँमा सम्बन्धविच्छेद गर्न हतारिने पश्चिमा संस्कृतिको देखासिकीले हाम्रो पारिवारिक मेल र सामाजिक सद्भाव खलबलिँदै गएको छ । सम्बन्धविच्छेद, अन्ततः महिला–पुरुष दुवैका लागि प्रत्युत्पादक र समाजका लागि घातक नै हुने भएकाले यसप्रति स्वयं ब्याक्ती, परिवार, समाज र सरकार उत्तिकै गम्भीर र जिम्मेवार हुन जरुरी छ ।


