धेरै मानिसहरुले मनको बारेमा चासो राख्छन । यो मन भन्ने के चिज होला, कस्तो हुन्छ होला भनेर दिमाख पनि खियाउछन । शरिरको कुन भाग वा अंङ्गमा मन रहन्छ होला ? खासमा मन भनेको के हो ? मन कस्तो हुन्छ ? सबै मानिसको एउटै प्रकारको मन किन हुदैन ? कसैको राम्रो मन वा नराम्रो मन, कमलो मन वा कठोर मन कसरी हुन्छ ? यो मन कहिले खुशी, कहिले दुखी किन हुन्छ ? अनेकौ तर्क बितर्कहरु मनमा किन आइरहन्छन ? मन किन सधै अस्थिर हुन्छ ? के हाम्रो शरिरमा मन, चित्त, दिल, सोच, हृदय, आदि कुनै अङ्गभित्र रहन्छन ? यिनिहरुको बारम्बार चर्चा किन गरिन्छ ? शरिरमा कहाँ कहा लुकेर बसेका हुन्छन ? आज म यिनिहरुकै बिषयमा केही लेख्दैछु ।
सायद संसारमा सबैभन्दा छिटो दौडिने बस्तु भनेकै मन र मनको सोच नै हुनुपर्छ । अन्त्यहिन सोच, गतिशिल सोच । मैले अहिल्यै यो लेख लेख्दालेख्दै विश्व भ्रमण मात्रै हैन यो सारा ब्रह्माण्ड नै घुमेर फेरि यहि फर्केर आइसके । लेख लेख्दै गर्दा रकेट, जेटचलाए जस्तो अनुभव गरिसके । कुनै कामै नगरी, कुनै भौतिक साधनको प्रयोगै नगरी, धनसम्पत्ती बिनै आफुलाइ संसारकै सुखी मान्छे सम्झी सके ! एकैछिन पछी फेरि आफैलाइ संसारकै दुखी मान्छेको रुपमा पाए । अचम्मको छ यो हाम्रो मन !
“मन” भनेको मानिसको भावना, सोच र इच्छाहरूको केन्द्रबिन्दु हो । यो ब्याक्तिको मानसिक अवस्था हो जसले भावना, सोच, निर्णय र व्यवहारलाई प्रभावित गर्छ ।”मन” लाई प्रायः मानिसको भावनात्मक पक्षसँग जोडेर हेर्ने बुझ्ने गरिन्छ, जस्तै: खुशी, दुखि, प्रेम, घृणा आदि । कहिलेकाही हामिले भन्ने गर्छौ कि आज मेरो मन धेरै खुशि छ, अनि उत्तिखेरै कुनै कुराले चित्त दुखाउछ अनि भनिहाल्छौ कि आज मेरो चित्त दुख्यो अर्थात आज म धेरै दुखी छु । सानो कुराले पनि मन दुख्छ, दुखी हुन्छ अनि सानै कुराले पनि मन फुरुङ्ग हुन्छ, हर्षित हुन्छ, खुशी हुन्छ, नौनी झै पग्लिन्छ । कहिले भुवाजस्तै हलुङ्गो हुन्छ, कोमल हुन्छ त कहिले ढुङ्गा जस्तै कडा र गर्हुङ्गो बनिदिन्छ । अनौठो छ यो पापी मन पनि । मन, सोच र चित्त भन्ने शब्द पनि एकापसमा जोडिएरै आउछन तर हरेकले छुट्टाछुट्टै अर्थ र भाव राख्छन । केही गर्न, नगर्न वा प्राप्त गर्न चाहने वा नचाहने भावनापनि मन नै हो, इच्छा नै हो । मनको स्वभाव नै चञ्चल र अस्थिर हुन्छ । यो प्राकृतिक रूपमा भावनाहरू, विचारहरू र बाह्य परिस्थितिहरूबाट प्रभावित हुन्छ ।
मनलाई स्थिर कसरी बनाउने ?
– ध्यान (Meditation): नियमित योग र ध्यानगर्नाले मन शान्त र स्थिर हुन्छ ।
– आत्मचिन्तन: आफ्ना भावनाहरू र विचारहरूलाई बुझ्ने अभ्यास गरेर मनलाइ स्थिर बनाउन सकिन्छ ।
– सकारात्मक सोच: नकारात्मक सोचाइलाई कम गरी सकारात्मक सोचलाइ बढाउनु ।
– आफ्ना इच्छाहरूलाई नियन्त्रण गर्ने: चाहनाहरू असिमित हुन्छन तर पनि तिनिहरुलाइ सीमित गर्न सक्नुपर्छ ।
– आत्मनियन्त्रण र अनुशासन: नियमित दिनचर्या र अनुशासनले मनलाई स्थिर बनाउन सहयोग गर्छ ।
– शारिरिक ब्यायम: नियमित शारिरिक ब्यायमले स्वास्थ शरीर र स्वास्थ मन प्राप्त गर्न सकिन्छ । स्वास्थ भोजन र पर्याप्त निद्राले मनमा सकारात्मक उर्जा प्रदान गर्दछ ।
– समय पालना: हामिले ठिक ठिक समयमा अर्थात बिहान उठेदेखी सुत्नेसम्मका सबै कार्यहरु सधैजसो एउटै समयमा सम्पन्न गर्ने प्रयास गर्नुपर्छ जस्तै कहिले बिहान ५ बजे उठने कहिले १० बजेसम्म सुतिदिने गर्नुहुदैन । बस्ने सुत्ने उठने खाने एउटै समय तालिका बनाउनुपर्छ ।
– डर र तनाब: कुनै कुराको डरले पनि मन अस्थिर रहन्छ भने हरेक कुरामा तनाब लिने प्रबृत्तीलाई हटाएर सामान्य हुने प्रयासमा लग्नुपर्छ ।
– लोभ, ईर्ष्या, डाहा: लोभी मन, पापी मन, अरुको सफलता सुख वा प्रगतीलाइ देखेर डाहा वा ईर्ष्यागर्नाले पनि मन बिचलित हुन्छ अर्थात अस्थिर हुन्छ त्यसैले आफुमा जे छ त्यसैमा नै सन्तुष्ट हुनुपर्छ । आदि ।
मनलाई स्थिर बनाउन समय लाग्न सक्छ, तर निरन्तरको अभ्यासले सम्भव छ । आत्तिनु, डराउनु, मनमा अनेक कुराहरु खेलिरहने पनि मन अस्थिर भएर हो । दिमागमा धेरै कुरा चलाएर बस्नु भनेको आफ्नै मनलाइ आफैले बिचलित गराउनु हो । जब तपाईं कुनै चुनौतीपूर्ण स्थिति, अज्ञात र असहज परिस्थितिमा हुनुहुन्छ तब मनमा डर र असुरक्षाको भावना उत्पन्न हुन्छ । डरले शरीरमा तनाव (stress) उत्पन्न गर्छ, जसले मनलाई अझ चञ्चल बनाउँछ । दिमागले धेरै कुरा एकैचोटि सोचियो भने मनले त्यसलाई व्यवस्थापन गर्न सक्दैन यस्तो अवस्थामा पनि मन अस्थिर हुन्छ र मनमा नकारात्मक विचारहरू हावी हुनसक्छन् । कहिलेकाही भविष्यमा के होला भन्ने बारेमा सोच्दापनि अनावश्यक तनाव र अस्थिरता उत्पन्न हुन्छ । काम, परिवार, समाज वा सम्बन्धका अतिरिक्त जिम्मेवारी वा दबाबहरू धेरैहुँदापनि मनले सन्तुलन गुमाउँछ । शारीरिक वा मानसिक थकानले पनि मनलाई कमजोर बनाउँछ । यस्तो अवस्थामा सानो समस्या पनि ठूलो लाग्न सक्छ । आफैमा आफैलाइ बिश्वास गरेर, आफ्नो क्षमता मा भर परेर आत्मबिश्वासलाइ बढाउन सकियो भने मन लाइ स्थिर बनाउन सकिन्छ ।
“मन” शरिरको कुन भागमा हुन्छ ?
“मन” भनेको शरीरको कुनै भौतिक अङ्ग (physical organ) होइन । यो मानसिक वा अमूर्त (abstract) तत्व हो, जसलाई विज्ञान र दर्शनले फरक-फरक ढङ्गले व्याख्या गरेको छ तथापी हाम्रो सोच, भावना र इच्छाहरूको केन्द्र चाहिँ मन नै हो । बिज्ञानले मनलाइ दिमाग (Brain) सँग सम्बन्धित मान्दछ । हाम्रो विचार, भावना र निर्णयहरू दिमागका विभिन्न भाग र कोशिकाहरुले नियन्त्रण गरिरहेका हुन्छन जस्तै: सोच्ने, योजना बनाउने, निर्णय लिने, डर र भावनाकोव्यवस्थापन गर्ने, स्मृति र अनुभवहरूको संग्रहगर्ने आदि । यस आधारमा, मन दिमागमा बसेर काम गर्छ भनेर विज्ञानले बुझाउँछ तर दर्शन र अध्यात्मको दृष्टिकोणबाट हेर्दा नेपाली, हिन्दू र बौद्ध दर्शनमा मनलाई केवल दिमागसँग मात्र सीमित मानिँदैन, यसलाइ हृदय र आत्मासित समेत जोडेर हेर्ने गरिन्छ । केही परम्परागत मान्यताअनुसार “मन” एउटा सूक्ष्म शक्ति हो, जुन शारीरिक रूपमा कुनै ठोस स्थानमा छैन तर शरीरभरि फैलिएको हुन्छ । यो मानसिक शक्ति हो, जसले दिमाग र शरीरका बिभिन्न गतिविधिहरूलाई नियन्त्रित गर्छ । यहा हृदयको कुरा प्रबिष्ट गरियो, त्यसो भए हृदय के हो त ? यो शरिरको कुन भागमा रहन्छ भन्ने बारे पनि थप चर्चा गरौ !
हृदय (Heart)के हो र यो कहाँ रहन्छ ?
“हृदय” भनेको संस्कृतबाट आएको शब्द हो । यो नेपाली भाषामा शास्त्रीय र औपचारिक सन्दर्भमा प्रयोग हुन्छ । प्राचीन मान्यता अनुसार “मन” हृदयमा रहेको मानिन्छ, किन भने भावना, प्रेम, दया र आत्मिकपक्षलाइ हृदयसँग जोडेर बुझिन्छ । हृदय भन्नाले हाम्रो शरीरको एक महत्वपूर्ण भौतिक अङ्ग (organ) लाई बुझाउँछ । यसलाई सामान्यतया “Heart” भनिन्छ । यो रक्तसञ्चार प्रणालीको मुख्य अङ्ग हो, जसले शरीरभरि रगत पम्प गर्ने काम गर्दछ । हृदय छातीको बायाँपट्टि (left side) केन्द्रीकृत रूपमा छ, ठीक दुई फोक्सोको बीचमा, रिबको पिंजरा (ribcage) भित्र सुरक्षित रहेको हुन्छ । सरल भाषामा भन्नुपर्दा छातीभित्र हृदय हुन्छ र यो चारवटा कक्षहरु (Chambers) बाट बनेको हुन्छ । हृदयले नै शरीरभरि अक्सिजनयुक्त रगत पठाउँछ भने अक्सिजन रहित रगतलाई पुनः फोक्सोसम्म ल्याई शुद्ध बनाउँछ । धमनीले शुद्ध रगत शरीरभरि पुर्याउँछ भने शिराले अक्सिजनरहित रगत हृदयमा ल्याउँछ । जसरी हृदय विशाल छ, त्यसैगरी कुराहरु पनि जटिल छन, जेलिएका छन त्यसैले यसलाइ शारिरिक बनौटको गहिरो अध्ध्यायन र अध्यात्मिक ज्ञानको माध्यायमबाट बुझ्ने कोशिस गर्नुपर्ने हुन्छ । यसरी शारीरिक र भावनात्मक दुबै रूपमा हृदय महत्त्वपूर्ण रहन्छ । यो शारीरिक अङ्ग मात्र नभई मानिसको मानसिक र भावनात्मक संसारसँग गहिरो रूपमा जोडिएको छ ।
दिल भनेको हृदय नै हो । यी दुई शब्दले प्रायः एउटै कुरा जनाउँछन् तर तिनको प्रयोगमा केही फरक सन्दर्भहरू देख्न सकिन्छ । दिल र हृदय दुबैलाई शरीरको भौतिक अङ्ग Heart नै भनेर बुझिन्छ । “दिल” शब्द हिन्दी, उर्दू, र फारसी भाषाबाट आएको छ । नेपालीमा यो प्रायः साहित्यिक वा भावनात्मक र सरल शैलीको सन्दर्भमा बढी प्रयोग गरिन्छ जस्तै: “उसको दिल निकै सफा छ, उ दिलदार मानिस हो ।” आदि ।
जब कुनै कुरा मनलाई छोएर अलिकति गहिराइमा जान्छ, त्यो दिलमा प्रवेश गर्छ । यो तर्क र विश्लेषणभन्दा परको कुरा हो, जहाँ प्रेम, करुणा, दुःख र खुशीका अनुभवहरू बस्छन् । मन र हृदय शारीरिक रूपमा हाम्रो जीवनको आधार हो भने प्रतीकात्मक रूपमा प्रेम, भावना, आत्मा, मानवीय सम्बन्ध, संकल्प र संबेदनशिलताको केन्द्र हो । यसले मानिसको असल पक्ष, कमजोरी र गहिरो अनुभवहरूलाई प्रकट गर्छ । यो मानिसको मानसिक र भावनात्मक संसारसँग गहिरो रूपमा जोडिएको छ । हृदय शारीरिक अंग मात्र नभइ यो हाम्रो आत्माको प्रतीक हो । हृदय भनेको त्यो स्थान हो, जहाँ मन र दिलको समायोजन हुन्छ, जसले मानिसको जीवनलाई अर्थदिन्छ। हृदयले हाम्रो गहिरो आत्मीयता र अस्तित्वलाई प्रतिविम्बित गर्छ । जब कुनै कुराले दिललाई मात्र होइन, हृदयलाई पनि छुन्छ, तब त्यो कुरा मानिसको जीवनको अभिन्न अंश बन्छ । उदाहरणका लागि, जब हामी कसैप्रति सच्चा प्रेम गर्छौं वा कुनै आदर्शलाई हृदयले स्विकार्छौं, त्यसले हाम्रो सम्पूर्ण जीवनलाई परिवर्तन गरिदिन्छ ।
निष्कर्ष
मन, दिल र हृदय – यी तीन शब्दहरू मात्र नभई भावनाको गहिराइका तीन आयाम हुन् । जब हामी कुनै विचार,अनुभूति वा भावनाको कुरा गर्छौं, यी शब्दहरूले त्यसको विभिन्न तहलाई सम्बोधन गर्छन् । “मनदेखि दिलहुँदै हृदयसम्म” भनेको मानिसको भित्री यात्राको प्रतीक हो, जुन बाहिरी संसारसँगको सम्पर्कदेखि भित्री चेतनासम्मको यात्रा हो ।
मन हाम्रो सोच र निर्णयको मूल स्रोत हो । मनमा अनेक विचारहरूको उतारचढाव हुन्छ, जसले हाम्रो जीवनलाई मार्गदर्शन गर्छ । कुनै पनि कार्यको सुरुवात मनबाट नै हुन्छ । हामीले जे देख्छौं, सुन्छौं वा अनुभव गर्छौं, त्यसले मनलाई प्रभाव पार्छ । मनले बाहिरी संसारलाई ग्रहण गरेर त्यसलाई तर्क र विश्लेषण मार्फत स्पष्ट गर्दछ । उदाहरणका लागि, कुनै राम्रो गीत सुन्दा, सुरुमा त्यसको शब्द र संगीतले हाम्रो मनलाई छुन्छ, मनले नै त्यो गीतको भावलाई आफ्नो तर्क मार्फत विश्लेषण गरेर हामिलाइ प्रिय लाग्ने वा नलाग्ने निर्णय गर्दछ ।
“मन देखि दिल हुँदै हृदयसम्म” भनेको मानिसको भित्री यात्रा हो । यो यात्रा बाहिरी अनुभवबाट सुरु भएर भित्री आत्मसम्म पुग्छ । मनले विचार गर्न सिकाउँछ, दिलले महसुस गर्न सिकाउँछ र हृदयले जीवनलाई अर्थ दिन्छ । त्यसैले मनलाई शान्त राखौं, दिललाई सफा राखौं र हृदयलाई दया, करुणाको सागरसंगै सत्यताको प्रतीक बनाऔं । यही हो जीवनको पूर्णता, यहि हो सुखको माध्ययम, यहि हो शान्तीको बाटो ।


