मौलिक तीज पर्व र यसका चुनौती

एटुजेड समाचार

चाँदनी हमाल,

परिचय : 

हरितालिका अर्थात तीज नेपालको मौलिक पर्वहरुमध्येको एक हो । विशेषगरी नेपाली महिलाको पर्व भनेर नेपाली समाजमा परिचित छ। यो पर्व प्राचिनकालदेखि उल्लासका साथ मनाउदै आएको पाइन्छ । छोरी होस वा बुहारी यस पर्वलाई आफ्ना दुख कहने माध्यम पुरातन समयमा बढी मानिन्थ्यो । बिहे गरेर गएका छोरीहरु आफ्ना माइत आएर तीजका गीतमा नाँच्दै, गाउँदै, रमाउँदै अघिल्लो दिन दर खान्छन् । अर्को दिन ब्रत बस्दै महादेवका पूजा अर्चना गर्ने चलन रही रहेको छ । आधुनिक नेपालमा महिलाहरुबिचको आपसी सद्भाव बढाउँदै सामुदायिकीकरणतर्फ तीज केन्द्रित हुँदै गएको देखिन्छ ।

चुनौतीको पहाड बन्दै

हरितालिका तीज महिलाका हैसियत बढोत्तरीमा बाधा उत्पन्न गर्नेगरी चुनौतीको पहाड बन्दै गएको अध्ययन अवलोकनहरुले देखाउँछ । नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापनापछि महिलाका लागि समाज खुला भए पनि तीज भने चुनौती बन्दै गएको हो ।

Forbes

राजनीतिक, आर्थिक तथा समाजिक विकासमा अर्थपूर्ण सहभागिताको पहल हुँदै गर्दा तीजले त्यस स्तरको अवसर प्रदान गर्न नसकेको टिप्पणी र अभुभूति स्वयं महिलाहरुले गरेका छन् । तीजका विषयमा १८ जना महिला र दुई पुरुष गरी २० जनालाई सरसर्ती सोधिएको दुई प्रश्नयुक्त सर्वेक्षणले पनि तीज पछिल्लो समय अवसरभन्दा बढी चुनौती बन्दै गएको देखाएको छ । जस अनुसार पहिलो प्रश्न तीज महिलाको लागि अवसर वा चुनौती के हो भन्ने सवाल गरिएको थियो ।

उक्त सर्वेक्षणमा सहभागीमध्ये दश जनाले तीज महिलाका लागि चुनौती बन्दै गएको औँल्याएका छन् । एक पुरुषसहित नौ जना महिलाको मत तीज चुनौतीपूर्ण बनेकोमा परेको छ । कुराकानीका क्रममा तीजले अर्थपूर्ण गतिका साथ महिलाको सामाजिक हैसियत उकास्न जोड दिनुपर्नेमा त्यसो हुन नसकेको टिप्पणी सहभागीहरुले गरे । कतिपयले मात्र नाचगानमा सिमित तीजको करिब एकमहिना महिलाको एकवर्षको विकास र भावी कार्यदिशा कोर्नमा व्यतित गर्ने हो भने त्यसले नयाँ पुस्ताका महिलाको लागि पनि मार्गचित्र प्रदान गर्न सकिने सहभागिमध्येकी एक वरिष्ट पत्रकार बबिता बस्नेतले बताइन् । कहिले नभेटका साथीभाइसँग भेला हुने अवसर तीजले दिने गरेको छ । तल्लो समुदायसम्म नभएपनि वौद्धिक जमातका महिलाले रमाइलोसँगै महिला हितका बहस न्यून रुपमा भएपनि थालेको उनको मत छ । यसलाई समग्र नेपाली महिलाको हैसियतमा सुधार गर्नेगरी तीज अघि बढ्न नसकेको भने उनले स्वीकार गरिन् ।

त्यस्तै कस्ता खालका चुनौती तीजले महिलाका लागि सिर्जना गरिरकेको छ भन्ने सवालमा भने मिश्रित मत देखिएको छ । वस्तुतग जवाफका क्रममा तीज भड्किलो बन्दै गएको भन्नेमा चार जना, खर्चिलो पर्व बनाउँदै लगिएको भन्नेमा दुई जना, समानताभन्दा पनि पुरुष विरोधी बनाउँदै लगेको छ भन्नेमा पाँच जना, महिलामाथि हुने विभेद विरुद्धमा बहस हुन नसकेको भन्नेमा तीन जना गरी १४ जनाले फरकफरक मत दिएका छन् । यि माथिका सबै खालका चुनौतीहरु एकसाथ तीजले सिर्जना गरिरहेको छ भन्ने पक्षमा सबैभन्दा बढी ६ जनाको मत परेको छ ।

तीज मनाउँदै गर्दा त्यसमा सामुहिक प्रगतिको छनक दिन नसकेको टिप्पणी सहभागिमध्येको एक बरिष्ट पत्रकार संगिता खड्काले गरिन्। चुनौतीलाई चिर्दै महिलाको हैसियतलाई देश तथा विदेशमा फस्टाउनका लागि तीज मनाउने धार परिवर्तन गर्दै सन्देशमुलक र समतामुलक हैसियत निर्माणमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, “महिलाको वौद्धिकता र मेहनतलाई पहिचान दिलाउने माहोल बनाउनसक्ने तीजको क्षमताको सदुपयोग गर्नुपर्छ ।”

पुरुष सहभागिमध्येका एक तथा शिक्षाविद् रमाकान्त शर्माले तीजलाई महिलाको हितमा केन्द्रित गरिनुपर्नेमा जोड दिए । उनले सुनाए,“भेटघाटको अवसर त छदैँछ तर शिक्षा, स्वास्थ्य, राजनीतिक नेतृत्व, सामुदायिक विकासमा कसरी अघि बढ्न सकिन्छ भन्ने बहस एक महिने दर खाने मेलाका क्रममा निरन्तर भएमा त्यो सुनमा सुगन्ध हुन्छ । ” उनले जस्तै अर्की सहभागी मनु सुनुवारले पहिले एकदिनमात्र मनाउँदा तीज महिलाका लागि ‘चीज’ हुन्थ्यो । उनले अनुभव सुनाइन्, “दरको स्वाद उबेला वर्षभरीका लागि जिब्रोमा अडिन्थ्यो, अहिले एक महिनादेखि तीजको अघिल्लो दिनसम्म खाँदा पनि स्वाद बस्दैन ।”

त्यतिमात्र होइन उनका अनुसार एउटा सारी, गहना र मेकअपले महिलालाई अचेल पुग्दैन् । कतै नजाँदा एक्लो हुने पीडा गयो । एउटा दरमा नाँच्दा खिचेको फोटो फेसबुकमा सबैले देखिसक्छन् । अर्को पल्ट जाँदा अर्को लगाउ नै पर्यो । गहना नक्कली नै लगाए पनि महिलाको तीजले एक महिनामा कम्तिमा तीस हजारले नपुग्ने हुँदै गएको छ ।

तीजको परिचयमै चुनौती

अष्टादश पुराणहरुमा उल्लेख भए अनुसार हरितालिका अथार्त तीज पनि अन्य धार्मिक परम्परासँगैै स्थापित भएको पर्व हो । पुराण तथा उपपुराणहरुका अनुसार वास्तवमा तीज महिलाको मात्र पर्व थिएन । अहिले महिलाको मात्र पर्व हो भन्ने मानसिकता बनेको छ । पुरुषलाई पर राखेर महिलाले तिनै पुरुषका नामा व्रत वस्ने भाष्य स्थापित हुँदै गर्दा तीजको प्राचीन संस्कार मेटिन पुगेको छ । यसले पुरुष वर्गलाई महिलाभन्दा माथि वा छुट्टै व्यक्तित्वको निर्माण गर्न सघाएको छ । पुरुष समाजको अलग पात्र हो र महिलाले उसका लागि व्रत बस्नुपर्छ भन्ने मान्यता स्थापित हुनु अर्को चुनौती हो ।

 जसले महिला आफँैले आफूलाई दोस्रो वर्गमा स्थापित गराउन तल्लिन छन् भनेर देखाएको छ । पुरातन कालमा तीज नितान्त महिला र पुरुषबीचको समान प्रेम र आदर्श दाम्पत्य जीवनमा केन्द्रित थियो । अनि दुवै मिलेर इश्वरभक्ति भावमा पर्व मनाइने गरिन्थ्यो । सयौँ वर्षको धार्मिक परम्पराले संस्कारको रूप धारण गरे जस्तै हरितालिका तीज पनि त्यसैमा आधारित भएको देख्छौँ । व्यावहारिकताको दृष्टिले हरितालिका व्रतको आदर्श गौरी–शङ्करको दाम्पत्य जीवनमा केन्द्रित छ । तर त्यसको प्रेरणा मानव समाजले ग्रहण गर्ने कुरामा पुराणकारहरूले जोड दिएका छन् ।

(नेपाली चाड–पर्वहरुको विवेचना, मनबज्र बज्राचार्य, वि.सं.२०२४)

मानव जीवनलाई चाहिने हरेक कुराको प्रेरणा ईश्वरको जीवनबाटै उपलब्ध गराइन्थ्यो । वास्तवमा हाम्रो संस्कृतिको रूप यस्तै मनोवैज्ञानिक स्थितिमा आधारित भएको पाउँछाँै ं। लोकपरम्पराअनुसार सुन्दै आएर उमामहेश्वरको दाम्पत्य जीवनको अलौकिक मधुर मिलनका रोचक कथाहरूले समाजको रोम–रोममा ठूलो असर पार्छ । यसकारण मानव समाजको दाम्पत्य जीवनमा पनि त्यस्तै सुख शान्ति मिलनलाई जगाउन तीजका मानक गौरी–शङ्करको दाम्पत्य जीवनको आदर्शले जनसमाजको मनोभावनालाई आकृष्ट गर्न खोज्नु पुराणकारहरूको सफल प्रयास हो ।

( हरितालिका अथवा तीज, पाना नं.३९)

मानव जीवनमा सुख–शान्तिको अभिलाषा हुन्छ । व्यवहारिक सुख–शान्ति वास्तवमा पारस्परिक माया–ममता, विश्वास–भक्तिभाव जस्तै भावहरूमा आधारित भएका हुन्छन् । पतिले पत्नीप्रति, पत्नीले पतिप्रति समान आस्था राख्नु, समान आदर्शले हेर्नु, जीवनसाथी बनाउने जस्ता कुरामा स्त्री र पुरुषको परस्परमा आत्मिक दाम्पत्य–जीवन चाहना हुनु आदि कुराहरू दाम्पत्य जीवनमा व्यावहारिक सुखका कारण हुन् । तर यस्ता कुराहरूबाट सरल ढङ्गमा अधिकांशले पाउँदैनन् । यही कुराको ज्ञान जनसाधारणको हृदयमा धर्मको सरल परिभाषाबाट लाभान्वित हुन बोधगम्य बनाउन गौरीशङ्करको दाम्पत्य जीवनको सुखमय र आदर्श जीवनको प्रसार हेतु नै हरितालिका तीजको पौराणिक कथाको सृष्टि भएको देखिन्छ ।

(हरितालिका अथवा तीज पाना नं. ३९÷४०)

भाद्र शुक्ल तृतीयाको दिन यो व्रत बस्ने परम्परा छ । यसकारण तृतीयाबाट यसलाई तीजको नाउँमा पुकार्ने गरिएको हो । यो दिन पार्वतीले खास गरेर आफूले रोजेका महादेवलाई आफ्नो जीवन साथी बनाउन एकान्त जङ्गलमा व्रत बसेको कुरा पुराणहरूमा उल्लेख छ ।भविष्योत्तर पुराणका अनुसार पावर्तीका सखीहरुले विष्णु भगवानसँग विवाह हुन नदिई उनलाई हरण गरेर कसैले नदेख्ने स्थानमा लगेर महादेवलाई प्रसन्न गर्न व्रत बस्न लगाएकाले यस पर्वको नाम हरितालिका तीज रहन गएको हो । व्रतबाट महादेव खुसी भएर पार्वतीको सामुन्ने प्रकट भए । पार्वती ज्यादै हर्षित भइन् । महादेवले उनलाई ‘के वर माग्छौ माग’ भने । पार्वतीले महादेवलाई नै पति बनाउन पाउँ भनेर मागेपछि त्यो वरदान महादेवले पुरा गरेका थिए ।

त्यहीअनुसार हिन्दु धर्मावलम्बी नारीहरूले पनि हरितालिका नाउँको व्रत बस्ने चलन बसेको हो । वास्तवम पुराणको भनाइअनुसार पार्वतीको शुद्ध अन्तरात्माले अनुशीलन गरेको यस व्रतको महिमा खुद पार्वतीलाई नै थाहा थिएन । महादेवले त्यसको अपार महिमा रहेको भाव व्यक्त गरेका थिए । यही ईस्वरीण वचनलाई आदर्श मानेर महिला वर्गले समय अनुसार हरेक साल श्रद्धा तथा भक्तिले पालन गर्दैजाँदा अपभ्रम्स हुँदै महिलाकोमात्र पर्वका रुपमा बदलिएको विश्लेषक पुष्पराज जोशी बताउँछन् । पुरुषले पनि आफूले सोचे अनुसारको बधु पाउन वा आफ्नी स्त्रीका आरोग्यताका लागि समान आदर्शको पालना गर्दै व्रत गर्न सक्ने उनी प्रष्ट्याउँछन् ।

तीजको बारेमा दरबारकालीन समयमा पनि चर्चा गरिएको पाइन्छ । मल्ल राजाहरूको पालामा भक्तपुर दरबारभित्र कलाकृतिहरूको सजावट गर्दा कुमारी चोकको भित्तामा गौरी विवाहोत्सवको झलक लेख्न लगाएको कुरा त्यहाँको एक अभिलेखमा उल्लेख छ । जुन पछिल्लो समय वेवास्ताका कारण पुरातात्विक लेखनीहरु कतिपय मेटिएका छन् । नेपालीहरूले मनाउने चाड पर्वहरूको झलक पनि त्यही भित्तामा लेखिएको थियो । त्यही महिमा अनुसार गौरी–शङ्करको दाम्पत्य जीवनको आदर्शलाई साकार गर्न निर्माण भएका शिव–परिवारका ढुङ्गामा कुँदिएका मूर्तिहरू काठमाडौँ उपत्यकामा बनाउन लगाइएका थिए । जस अनुसार ति झण्डै दुई सयको संख्यामा थिए । तिनमा हरितालिका तीजको दिन दर्शन गर्न र पूजा गर्ने गरिन्छ । जसको सिधा अर्थ गौरी–शङ्करको सुखमय दाम्पत्य जीवनको आदर्श समाजका नरनारीहरूको दाम्पत्य जीवनमा पनि प्रेरणादायक सिद्ध हुन सकोस भन्ने थियो । न कि महिलाले मात्र तीज मनाउने भन्ने थिएन । (हरितालिका अथवा तीज पाना नं. ४१)

तीजले तथ्य बदल्ने सोच पैदा गर्न सकेन

हालै सार्वजनिक जनगणनाको तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । जसमध्ये महिलाको जनसङ्ख्या ५१.१३ प्रतिशत र पुरुषको जनसङ्ख्या ४८.८७ प्रतिशत छ । आँकडाले नै महिलाको जनसङ्ख्या पुरुषको तुलनामा बढी छ ।हैसियत पुरुषको तुलनामा महिलाको कम रहेको जनसङ्ख्याकै अन्य आँकडाले दर्शाउँछ । जनगणनाको एउटैमात्र राम्रो पक्ष महिला घरमुलीको सङ्ख्या बढ्नु हो । जस अनुसार ३१.५५ प्रतिशत महिला घरमुली छन् ।

यो अघिल्लो २०६८ को जनगणनाभन्दा ५.८२ प्रतिशतले बढी हो । अघिल्लो जनगणनाको तुलनामा १.१ प्रतिशतले बढ्दै २३.८ प्रतिशत महिलाका नाममा घर जग्गा वा दुवै रहेको आँकडा छ । हैसियत बढाउने मुख्य सूचक शिक्षा हो । तर त्यसमा पनि महिला कमजोर छ । शिक्षाविद् शर्माका अनुसार व्रत नबस्ने पुरुष साक्षरताको दर ८३.६ प्रतिशत हुँदा व्रत बसेर सबैको भलो चाहने महिला साक्षरताको दर ६९.४ प्रतिशत छ । दश वर्षमा अर्थात करिब दश प्रतिशतले साक्षरता बढ्नुले शिक्षाको हैसियत महिलाको अझै वृद्धि भएको छैन् । यि तथ्यको उच्चतामा पुग्न तीज मनाउने सोचमा परिवर्तन आवश्यक रहेको काँग्रेस नेतृ डिला संग्रौला औँल्याउँछिन्। उनका अनुसार महिलाले आधुनिक विश्वसँग काँध मिलाउन दरखाने र नाँच्ने गाउनेसँगै मनोवृत्ति बदल्ने खालका अभ्यास गर्न जरुरी छ ।

छोरीको भु्रणहत्या तीजले रोकेन

छोरीको जन्म तीव्र रुपले घट्दै जानु अर्को चुनौती बन्दैछ । श्रीमान वा घरपरिवारलाई खुशी बनाउन तीजको व्रत बस्नु जायज भए पनि तिनका लागि गर्भको छोरी फालेर छोरा जन्माउनु गलत हो । छोरा जन्माउने दबाबमा महिला परेको प्रष्ट देखिन्छ । कुल ६१ लख ४५ हजार ३९ जना महिलाले सन्तान जन्माएका छन् । जसमध्ये छोरा ५२.७ प्रतिशत र छोरी ४७.३ प्रतिशत जन्मेका छन् । एक वर्षको अवधिमै पनि जन्मदरको हिसाबमा छोरीभन्दा छोरा बढी जन्मनेको तथ्यले पनि छोरीको भ्रुण हत्या भएको प्रष्ट भएको बरिष्ट अधिवक्ता मिरा ढुंगाना बताउँछिन् । उनका अनुसार तीजलाई मात्र पर्व नठानी महिला हैसियत बढाउने सवालमा पनि अब बहस नगरे भविष्यमा महिलाको जनसङ्ख्यामै उच्च दरले कमि आउने देखिन्छ ।

मातृमृत्यु दरको मारमा पनि महिला देखिन्छ । प्रजनन् उमेरका १५–४९ वर्षका १२ हजार ९७६ मध्ये छ सय ५३ जनाको मृत्यु गर्भावस्थाजन्य रहेको छ । जनगणनाले प्रति एक लाख जीवित बच्चाको जन्महुँदा १५१ जना महिलाको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गर्भावस्थामा प्रवेश गरेपछि भएका भर्वल एटप्सी रिपोर्ट अनुसार ९५ प्रतिशत मातृमृत्युसँग सरोकार राख्छ । यि तथ्यले तीज पर्व महिला स्वास्थ्यको चुनौतीसँग लड्ने विषयमा केन्द्रित हुनुपर्ने हो कि हैन ? भन्ने सवाल उत्पन्न गरेको ढुंगानाले बताइन्् ।

तीजको व्रतले जोगिएनन् सम्बन्ध

पछिल्लो समय सम्बन्ध विच्छेदका घटना उच्च बन्दैछ । तीजको व्रतले किन जोगिएनन् ति सम्बन्ध ? भन्ने अर्को प्रश्न चुनौती बनेर उभिएको छ । सम्बन्ध जोगाउने जिम्मेवारी महिलाको मात्र हो भन्ने परिभाषा तीजले स्थापित गर्न खोज्नु गलत रहेको अधिवक्ता ढुंगााना औँल्याउछिन् ।जनगणनाकै हिसाबलाई मान्ने हो भने ७७.९ प्रतिशत बालबालिकालेमात्र आमा र बाबु दुवैको साथ पाएका छन् । बाँकी आमासँगमात्र बस्ने १७.१ प्रतिशत, बाबुसँगमात्र बस्ने १ प्रतिशत, अन्य नातेदारसँग बस्ने ३ प्रतिशत बालबालिका छन् ।

तीजले गणना गराउन सकेन महिलाको काम

अझै पनि नेपाली महिलाको अधिकांश काम घरभित्रको रहेको छ । पुरुषले बाहिर काम गरेर पारिश्रमिक पाउँछन् । घर चलाउन मद्दत गरेको पनि प्रष्ट देखिन्छ । त्यसको गणना राष्ट्रिय आयव्ययमा हुन्छ । महिलाले उठेदेखि निदाउँदासम्म काम गर्छिन् । त्यसको ज्याला पाउँदिनन् । न त त्यसको गणना कतै हुन्छ । घरको काम, बालबच्चाको रेखदेखसँगै महिलाहरु अचेल बाहिर कमाउन पनि जान्छन् । तर, पुरुष समाज ज्याला पाउँदैनन् ।

जनगणनाको तथ्यले पनि त्यही भन्छ । आर्थिक काममा संलग्न कुल जनसङ्ख्या एक करोड ४९ लाख ८३ हजार ३१० छ । तिमध्ये ५२.६ प्रतिशत पुरुष र ४७.४ प्रतिशत महिला छन् । कृषि, वन, माछापालन लगायतका कर्ममा महिलाको प्रत्यक्ष सहभागिता बढी छ । त्यसको लेखाजोखा जनगणनाले पनि गर्न सकेको छैन् ।महिलाले गर्ने घरधन्दालाई काम नमानी काम गर्न नसक्नुको कारण जनगणनाले मानेको छ । जस अनुसार २१.९ प्रतिशत जनसङ्ख्या घरधन्दामा रहने गरेका छन् । त्यस्तै पारिवारिक हेरचाहमा संलग्न ७.५ प्रतिशत छन् । यो पनि अपवादबाहेक महिलाकै काँधमा रहन्छ । यि पनि बाहिर काम गर्न नजानेमा गनिएको छ ।

लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिएको जनगणना भनेर दावी गरिए पनि जनगणना महिलामैत्री नभएको उसकै तथ्यले पुष्टि गर्छ । यि चुनौतीका बारेमा बहस पैरवीको पहल तीजले कहिले गर्ला भन्ने प्रश्न एमाले नेतृ पार्वती रावलले उठाउँदै आएकी छिन् ।

मालिक र दासको सम्बन्ध बदल्नुपर्छ

समाजशास्त्री कमला भासिनका अनुसार भारतमा मनाइने करवाचौथ र नेपालमा मनाइने तीजको व्रत श्रीमानको लामो आयु होस भनेर बस्नु नै हास्यास्पद छ ।यदी व्रत बसेरै श्रीमानको लामो आयु हुने हो भने अमेरिकी श्रीमतीका श्रीमानहरु त सबै मर्नुपर्ने हो । तीज संस्कारमा पुरुषत्व हावी भएकाले पुरुषलाई मालिक र महिलालाई दासका रुपमा चित्रण गरेको उनको धारणा छ ।उनी भन्छिन्, “जोसँग विवाह हुन्छ उ पति हो, त्यसको मतलब स्वामी अर्थात मालिक हो भने पत्नी अर्थात अर्को व्यक्ति दास भइन् ।” दोष महिला वा पुरुषको भन्दा पनि पितृसत्तात्मक सोचको हो । त्यो सोच बदल्नु पर्छ । मध्यमवर्गमा महिलालाई बोझ मानिन्छ । श्रीमानले कुट्यो भने पनि कालो चस्मा लाएर म लडेर चोट लाग्यो भन्छन् ।

जहाँ काम गर्ने संस्कार हुन्छ त्यहाँ सम्मान हुन्छ । उदाहरणका लागि आदिवासी महिला ।अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को अध्ययन अनुसार पुरुषको तुलनामा महिलाले दैनिक करिब सातघण्टा बढी काम गर्छन् । महिलाकै मेहनतले हरेक पुरुष दोस्रो दिन काममा जानका लागि योग्य हुन्छन् । कामबाट बेलुका घर आएपछि ज्यादै थाकेको बहाना गर्छन् । बाहिरको फ्रस्टेसन घरमा निकाल्छन् । तर पनि महिला सहन्छिन् । उसको खुट्टा धोइदिने, खाना दिने, रातमा मन बहलाइदिने अनि बिहान खानासँगै कपडा चम्काएर लगाइदिएपछि बल्ल त्यो पुरुष जागिर खानका लागि जान्छ ।

यसको मतलब महिलालाई पितृसत्ताको उल्टो स्वरुपमा मातृसत्ता चाहिएको भने हैन । उसलाई बराबरी चाहिएको हो । महिला र पुरुषबीचको लडाइभन्दा पनि पितृसत्ताविरुद्धको लडाईँ हो । त्यसका लागि पतिदेव सोचहरुलाई बाहिर निकाल्दै जीवनसाथीलाई घर भित्र्याउनुपर्छ । जब बावुआमा साथीजस्तो जीवन जिउँछन् । तब उनका बच्चाहरु पनि दानव हैन मानव बनेर जिउने कला सिक्छन् ।
भासिनले जस्तै संयुक्त राष्ट्रसङ्घीय सिड कमिटि सदस्य बन्दना राणाले समानता र सशक्तिकरणलाई तीज जोड दिनुपर्ने प्रष्ट्याउँछिन् । उनी भन्छिन्, “तीजको उत्सव रमाइलो र सार्थक तब हुन्छ, जब त्यसले समानता, सशक्तिकरण र खुशियालिको प्रवर्ध्दन गर्छ ।”

निष्कर्ष

नेपाली महिलाले मनाउने तीजको मौलिकताको संरक्षण गर्दै महिलाको हैसियत उकास्न तीजलाई अवसरमा परिणत गर्न जरुरी छ । सर्वेक्षण र विज्ञहरुले प्रस्तुत गरेका दलिल अनुसार आगामी तीजको रौनकमा आम महिलाका जीवनको दुःख–सुखलाई क्षमतामा बदल्ने पहल नेतृत्वमा पुगेका महिलाले गर्नुपर्ने देखिन्छ । समाजशास्त्री कमला भासिनले भनेजस्तै पतिदेवलाई देवत्वबाट झिकेर जीवनसाथीका रुपमा अगाडि सार्न सकेमा बराबरको दर्जामा महिला पुरुष रहन सक्ने अवस्थाको सिर्जना हुनेछ । समतामुलक समाज निर्माण गर्न तीजका चुनौती चिर्दै सरल र हैसियतयुक्त महिलाशक्ति निर्माणमा राज्य सम्यन्त्रले पनि ध्यान दिनुपर्ने बेला आएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु