भान्साको फोहोरले कौशीमा तरकारी, खान पुग्छ वर्षैभरी

चितवन – उमेरले ८२ वर्ष, तर पनि धनीकला काफ्लेको मुहारमा चमक भने अझै उस्तै छ । उनका हात गोडा अझै फुर्तिला छन् । आफ्नै कौशीमा फल्ने सागसब्जीले उनको शरीरलाई अझै तागतिलो राखेको छ ।

भरतपुर महानगरपालिका १० स्याउलीबजारकी धनीकलाको घरको कौशीमा लटरम्म तरकारी फलेका छन् । आफ्नै घरको भान्साबाट निस्केको फोहोरलाई उनले मोहोर बनाउँछिन् । घरको भान्साबाट निस्किने कुहिने फोहोर उनी कौशीमा व्यवस्थापन गर्छिन् । त्यसबाट तरकारी उत्पादन गर्छिन् ।

घरबाट निस्किने कुहिने फोहोर उनी फाल्दिनन् । त्यही फोहोरबाट उनी वर्षै भरी मौसम अनुसारको तरकारी फलाउँछिन् । छिमेकलाई बिहान बेलुका के तरकारी पकाउने होला भनेर सोच्नुपर्दा उनी आफु भन्ने ढुक्क हुन्छिन् । उनलाई न के तरकारी पकाउने भन्ने चिन्ता छ न त तरकारी किन्न बजार धाउनुपर्ने बाध्यता नै ।

हरेक दिन उनी बिहान र बेलुका कौशीमा व्यस्त हुन्छिन् । बोरा, माछा राख्न प्रयोग हुने क्रेट र प्लास्टिकका थैलीमा उनले तरकारी लगाएकी छन् । त्यसैको स्याहार सुसारमा उनी बिहान बेलुका समय खर्चिन्छिन् । फलस्वरुप उनको तरकारी किन्न जाँदा हुने खर्च र समय दुबै बचत हुन्छ । सँगै बजारमा पाइने बिषादियुक्त तरकारीबाट पनि टाढै बसेर स्वस्थ जीवन जिईरहेकी छिन् धनीकला ।

उनको कौशीमा बोडी, काँक्रो, घिरौला, फर्सी, चिचिन्ना, करेला, भिण्डी, खुर्सानी, साग धँनिया, कागती जस्ता तरकारी अहिले पनि लटरम्म छ्न् । भान्साबाट निस्कने कुहिने, सड्ने फोहोरलाई छुटाएर कम्पोष्ट मल बनाउँछिन् । त्यही मलले तरकारीलाई उब्जाउछिन् ।

Forbes

नौं वर्ष अघि उनले फोहोर व्यवस्थापन गरी कौशीमै तरकारी खेती सम्बन्धी एउटा तालिम लिएकी थिइन् । त्यस तालिममा सिकेका कुरा व्यवहारमा उतार्दै उनी कौशीमा तरकारी लगाउँदै आएकी छन् । त्यस यता उनको घरमा तरकारी किन्नु परेको छैन । बरु उनी उल्टै आफ्नो कौशीमा फलेको तरकारी समय-समयमा छिमेकीलाई पनि बाँड्छिन् ।

‘९ बर्ष भयो तरकारी किनेर खान परेको छैन, उनी भन्छिन्, आफ्नै मेहनतले तरकारी फलाएर खान पाउँदा खुशी छु । मासिक तरकारी किन्ने पैसा समेत बचाउन सकेको छु । स्वस्थ पनि छु ।’ घरेलु फोहोरलाई व्यवस्थापन गरी तरकारी उत्पादन गर्दै आएकी उनी विभिन्न संघ संस्थाबाट सम्मानित तथा पुरस्कृत पनि भएकी छन् ।

धनीकलाको जस्तै भरतपुर १० कि ५९ वर्षीया मायादेवी पौडेलको घरमा पनि लटरम्म तरकारी फलेका छन् । बोडी, काँक्रो, घिरौला, लौका, फर्सी, घिउसिमी, करेला, भिन्डी जस्ता तरकारीले उनको कौशी भरिएको छ । उनी दश वर्षदेखि यसरी कौशीमा तरकारी फलाउँदै आएकी छन् । आफ्नै घरबाट निस्कने फोहोर व्यवस्थापन गरी उनी तरकारी फलाउँछिन् ।

मायादेवी भान्साबाट निस्कने कुहिने फोहोर छुट्टाएर राखिन्छन् । त्यसबाट कमपोष्ट मल बनाउँछिन् र त्यही मलले तरकारीलाई उब्जाउछिन् । फालिएको कार्पेट, पुराना कपडाबाट गमला बनाउँछिन् र तरकारी रोप्छिन् । उनले केही वर्ष अघि यसरी गमला बनाउन सिकेकी हुन् । युट्युबमा पुराना कपडाबाट गमला बनाएको देखिएपछि उनले त्यसको सिको गरिन् ।

‘दुई बर्ष अघी युटुब हेरेर गमला बनाउन सिके । बनाउँदा बनाउँदै रहर लाग्न थाल्यो । त्यसपछि कौसी खेतीको लागि आँफैले गमला बनाउन थाले, उनी भन्छिन्, ‘पहिला बोरा र माछाको क्रेटमा बनाउँथे, अहिले सबै हटाएर आँफैले बनाएको गमलामा तरकारी फलाउने गरेकी छु ।’ कुहिने फोहोरबाट मल, नकुहिने फोहोरबाट गमला र आफ्नै हातले उब्जाएको ताजा तरकारी खान पाँउदा उनी गर्व गर्छिन्।

उनले घरमा अहिले तरकारी किन्नु पर्दैन । बजारमा तरकारीको मूल्य जति नै बढे पनि उनको भान्सामा त्यसको असर पर्दैन । ‘बजारमा तरकारीको मूल्य बढे पनि नबढे पनि केही हुँदैन, उनी भन्छिन्, ‘बरु बिषादियुक्त ताजा तरकारी खान पाईएको छ । खुशी लाग्छ आफ्नै मेहनतले तरकारी फलाएर खान पाउँदा । मासिक तरकारी किन्न पैसा जोगिएको छ ।’

भरतपुर १ कि सुष्मा पिया २०६० सालदेखि कौशी खेती गर्दै आएकी छन् । उनको घरमा पनि लटरम्म तरकारी फलेको छ । पियाले पनि घरबाट निस्केका फोहोरलाई घरमै व्यवस्थापन गरी कौशीमा तरकारी खेती गर्न थालेकी हुन् ।

उनी भान्साबाट फालिने फोहोरलाई खाल्डो वा ड्रममा संकलन गरेर मल बनाउँछिन् । मलबाट तरकारी उत्पादन गर्छिन् । नकुहिने प्लास्टिकमा माटो भरेर तरकारी लगाउछिन् । उनी प्लास्टिक पनि फाल्दिनन् । जम्मा गरेर बिक्री गर्छिन् ।

‘पहिला खाली जग्गामा तरकारी हुन्थ्यो । पछि घर बने । तरकारी लगाउन जग्गा भएन । त्यपछि कौशीमा तरकारी लगाउन थालेकी हुँ । पहिला फोहोर घरको तल हुन्थ्यो अहिले माथि जान थालेको छ । एउटा केराको बोक्रा पनि फाल्दैनौ । फालिने चिजलाई मल बनाई तरकारी उत्पादन गर्छौं । बाहिर हिड्दा अरुले फालेको देख्दा पनि मन लोभिन्छ,’ उनी भन्छिन् । घरमा एकछिन्न मेहेनत गर्दा ताजा तरकारी र स्वच्छ तरकारी खान पाइने उनी बताउँछिन् ।

त्यस्तै भरतपुर १० स्याउलीबजारकी ५५ बर्षिय तुलसी ज्ञवाली पनि कौशीमा तरकारी लगाउँछिन् । उनको घरको कौशीमा पनि अहिले करेला, घिरौला, चिचिन्ना, तने बोडी, करेला भिण्डी, कागती, मेवा, अंम्बा लटरम्म फलेका छन् । उनी कुहिने फोहोरलाई रिङमा जम्मा गर्छिन् र मल बनाउँछिन् । बोतल, बाल्टी, जिन्सको पाइन्ट तथा प्लास्टिकमा तरकारी लगाउछिन् । उनले यसरी कौशी खेती गर्न थालेको १८ बर्ष भयो । १८ बर्ष नै भयो तरकारी किनेर खान परेको छैन ।

उनको परिचय यतिमा मात्रै सीमित भने छैन । उनी आफु कौशीमा तरकारी लगाउने मात्रै होइन, अरुलाई प्रशिक्षण पनि दिन्छिन् । चितवनलगायतका आसपासका जिल्लाहरुमा घरेलु फोहोरलाई व्यवस्थापन गरी कौशी खेती बारे तालिममा उनी सहजकर्ता तथा प्रशिक्षकको भूमिकामा सहभागी हुन्छिन् । उनले हालसम्म पाँच हजार भन्दा बढीलाई तालिमा दिईसकेकी छन् । तुलसी राष्ट्रिय तथा तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भइसकेकी छन् ।

भान्साबाट निस्केका फोहोरहरुलाई छुट्टाएर घरमै व्यवस्थापन गर्न सकिने उनी बताउँछिन् । प्लास्टिकजन्य फोहोर नकुहिने हुँदा यसले जथाभावी फाल्दा वातावरणलाई असर पुग्ने भन्दै फोहोरलाई वर्गिकरण गरी व्यबस्थापना गर्नुपर्नेमा उनी जोड दिन्छ्न् । यसबाट आम्दानी गर्न सकिने पनि उनी बताउँछिन् ।  घरमा एकछिन्न मेहेनत गर्दा ताजा तरकारी र स्वच्छ तरकारी खान पाइने उनी बताउँछिन् ।तरकारी खेतीले शरीरिक कसरत हुने पनि उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु