विदेश मोह त्यागेर नर्सरीमा गुरुङ दम्पती : ‘हामीलाई जापान पनि यहीँ’

चितवन – ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ । मेघ गुरुङ र उनकी श्रीमती रिता गुरुङलाई अहिले यस्तै भइरहेको छ । यो गीत गुरुङ दम्पतीको जीवनसँग मेल खान्छ ।

भरतपुर महानगरपालिका ९ बसन्तचोकका गुरुङ दम्पती एक समय वैदेशिक रोजगारका लागि जापान जाने तयारीमा थिए । रिताले पासपोर्ट पनि बनाइसकेकी थिईन् । मेघ त्यस अघि पनि विदेश गएर फर्किएकोले उनीसँग पहिले नै पासपोर्ट थियो ।

जापान जानका लागि उनीहरुले १५ लाख रुपैयाँ तयार गरेका थिए । आधा पैसा त बुझाई पनि सकेका थिए । तर एकाएक उनीहरु जापान नजाने सोचमा पुगे । गुरुङ दम्पतीले जापान जाने सपना चटक्कै त्यागे ।

जापान जाने अन्तिम तयारीमा रहेकै बेला मेघका भिनाजुले विदेश जानु भन्दा नर्सरीमा लगानी गर्न सुझाए । विदेश जान लाग्ने लगानीले नेपालमै नर्सरीमा लगाउन सके मनग्य आम्दानी हुन्छ भनेपछि गुरुङ दम्पतीले जापान जाने सपना त्यागे ।

उनीहरुलाई पनि अर्काको देशमा श्रम बेच्नु भन्दा आफ्नै माटोमा पसिना बगाउनु उचित लाग्यो । जापान जानका लागि भनी जोह गरेको पैसा नर्सरीमा लगानी गर्ने निर्णय गरे । उसो त मेघलाई विदेशको भोगाई थाहा थियो । विदेशमा दिन रात नभनी दु:ख गर्दाको अनुभव उनलाई राम्रैसँग थाहा थियो । उनी त्यस अघि पनि बहराईनमा दु:ख गरेर नेपाल फर्किएका थिए । विदेशमा ८ वर्ष दु:ख गर्दाका दिनहरु सम्झिदा उनको फेरि विदेशिने मन मर्‍यो ।

Forbes

उनी ८ वर्ष विदेश बस्दा पनि सोचे अनुसारको कमाई नभएपछि नेपाल फर्किएका थिए । विदेश जाने सपना मारेर देशमै फूल उब्जाउने निर्णय उनले श्रीमतीसँग मिलेर गरे । भिनाजुकै सल्लाह अनुसार उनीहरुले नर्सरी सुरु गरे ।

जापान जान तयार पारेको १५ लाखले २०६८ सालमा भरतपुर १२ बसन्तचोकमा दुई बिघा क्षेत्रफलमा ‘श्री मनकामना नर्सरी’ सुरु गरे । नर्सरीमा मौसम अनुसारका फूलका विरुवा उब्जाउन थाले । नर्सरीमा फूलका विरुवा विस्तारै हुर्किदै ठूलो भए झै उनीहरुको आम्दानी पनि विस्तारै बढ्दै गयो । नर्सरीको प्रचार प्रसार पनि हुँदै गयो । विस्तारै परिचित हुँदै गयो ।

फूलका विरुवाको माग टाढा टाढाबाट पनि आउन थाले । नर्सरीको बजार चितवनमा मात्रै सीमित रहेन । आसपासका जिल्लाहरुसँगै देशभरबाट माग आउन थाल्यो । यसले झनै उनीहरुको मन फूल फक्रिए झै फक्रिन थाल्यो । उनीहरुले लगानी र मेहेनत बढाउँदै गए । बजार फैलिदै गयो, आम्दानीको आकार पनि बढ्दै गयो ।

विदेशबाट पनि फूलका विरुवाको माग आउन थाल्यो । फूलका विरुवाको माग विदेशमा पनि हुन थालेपछि उत्साह थपिएको रिता बताउँछिन् । फूल फुले झै फुल्दै गएको उनीहरुको व्यवसाय गत वर्ष डुबानमा पर्‍यो । अविरल वर्षाले नर्सरी डुबायो । फूलका विरुवाहरु बगाए । तर उनीहरुको हिम्मत बगाएनन् । वर्षाले नर्सरी डुबाए पनि उनीहरु अत्तालिएनन् । नर्सरीप्रतिको मोह त्याग्न सकेनन् ।

गत वर्ष नै भरतपुर ९ बसन्तचोकमा दश कठ्ठा क्षेत्रफलमा फेरी नर्सरी स्थापना गरे । ग्राहको माग बढ्दै गएपछि पुन: १० कठ्ठा बढाएर एक बिघा बनाउने तयारीमा गुरुङ दम्पनी रहेका छन् । गुरुङ दम्पतीको दिन नर्सरीको विरुवा स्याहार सुसारमा नै बित्ने गर्छ । विरुवाको स्याहार र बजारिकरणका लागि उनीहरुले सात जनालाई रोजगारी पनि दिएका छन् ।

नर्सरीमा १५ रुपैयाँ देखि दश हजार रुपैयांँसम्मका विरुवा पाइने गुरुङ दम्पती बताउँछन् । नर्सरीमा करीब तीन सय थरिका फूलका विरुवा पाईन्छ । सबै भन्दा बढी सयपत्रीको माग हुने गरेको रिता बताउँछिन् । उनका अनुसार नर्सरीबाट दैनिक १० देखि १५ हजारको व्यापार हुन्छ । सबै खर्च र घर खर्च समेत कटाएर वार्षिक १० लाख रुपैयाँ बच्ने उनी बताउँछिन् ।

मेहेनत गरेर काम गरे नेपालमै पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । यो पेशाले नाम र दाम दुबै दिएको उनी बताउँछिन् । नर्सरीबाट नै समाजका सबै वर्गका मानिसहरु चिनजान पनि भएको भन्दै उनी खुशी व्यक्त गर्छिन् । ‘विदेश जाने पैसा नर्सरीमा लगानी गरियो । राम्रो आम्दानीसँगै आत्मनिर्भर हुन सकेका छौं, उनी भन्छिन्, ‘नेपालमै बसेर नाम र दाम पाएका छौं । हाम्रो नर्सरी एउटा ब्राण्ड नै बन्दा खुशी लागेको छ ।’

जापानको सपना त्यागेर राम्रो कदम चालेको महसुस हुने गरेको उनी सुनाउँछिन् । विदेश मोह छोडेर सुरु गरिएको नर्सरीबाट आफुहरु पूर्ण रुपमा सन्तुष्ट रहेको उनको भनाइ छ । ‘नर्सरीबाट सन्तुष्ट छौं । घर-परिवारसँग टाढिनु भन्दा यसैमा खुशी छौं, उनी भन्छिन्, ‘जापान नजाने निर्णयबाट पछुतो छैन । यहीँ जापानजस्तै भइरहेको छ ।’

अहिले धेरै जना उनीहरुसँग नर्सरी सम्बन्धी परामर्श लिन आउँछन् । आएका सबैलाई गुरुङ दम्पती आफुले जानका कुरा सिकाउँछन् । उनीहरुसँगै परमर्श लिएर मनकामनाकै नाममा चितवनमा अहिले १५-२० वटा नर्सरी स्थापना भएको रिता बताउँछिन् । पोखरा, काठमाडौं, बुटवल, नेपालगञ्जलगायतका ठाउँमा पनि मनकामनाकै नाममा नर्सरी स्थापना भएको छ ।

नर्सरीसँगै गुरुङ दम्पती विभिन्न संघ-संस्था तथा कार्यालयहरुमा बगैँचा सजाउने काम पनि गर्छन् । पछिल्लो समय बगैँचा र फूलप्रति मानिसको आकर्षण बढेको उनको बुझाई छ । घर तथा कार्यालयलाई बगैँचाले सजाउनेहरु बढेका छन् । गमलामा फूल रोप्नेहरु पनि बढेका छन् । ‘पहिला कसैको घरको गाँजा भाँचेर, विरुवा मागेर फूल लगाइन्थियो । अहिले विरुवा किनेर घर तथा कार्यालय सजाउने गरिन्छ,’ उनले भनिन् ।

नर्सरीलाई व्यवस्थित र आत्मनिर्भरको स्रोत बनाउन सरकारले पनि बिभिन्न कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ । खाली जग्गामा विरुवा उत्पादन गर्न सके आम्दानीको बलियो स्रोत बन्ने उनी बताउँछिन् । अझै पनि वार्षिक रुपमा ठूलो परिमाणमा फूल विदेशबाट आयात हुने गरेको छ । माटो सुहाउँदो विरुवा उत्पादन गरेर फूल उत्पादन गर्न सके आयात प्रतिस्ठापन गर्न सकिने उनको विश्वास छ । यसका लागि सरकारले पनि कार्यक्रम ल्याउनु पर्ने उनी बताउँछिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु