चितवन – भरतपुर महानगरपालिका १२ का रवि सापकोटालाई हिड्डुल गर्न व्हिलचियरको साहारा चाहिन्छ । उनी ६ वर्षदेखि व्हिल चियर नै उनको साथी बनिरहेको छ ।
उनलाई हत्तपत्त कतै जानै नपरे हुन्थ्यो जस्तो लाग्छ । कारण हो अपाङ्गमैत्री शौचालय तथा अन्य संरचना । महानगर भित्रै पनि अपाङ्गमैत्री संरचना नहुँदा उनलाई कामै परेर कतै जानु परे पनि दिक्दार लाग्छ । त्यसैले सरभर हिंड्नै नपरे हुन्थ्यो भन्ने उनी चाहन्छन् ।
बिभिन्न कार्यालयमा नै अपाङ्गमैत्री शौचालय नहुँदा धेरै समस्या झेल्नु परेको उनी गुनासो गर्छन् । यती मात्रै होइन, अपाङ्गता भएका व्यक्तिहरुलाई बाटो काट्न पनि उत्तिकै समस्या छ भने हत्तपत्त सार्वजनिक सवारी साधन नरोक्ने समस्या त छँदै छ ।
“अपाङ्गमैत्री संरचनाको अभावले घरबाट निस्कनै मुस्किल हुन्छ । निस्किएपछी बाटो काट्नै मुस्किल, लामो यात्रामा जान गाडी पाउनै मुस्किल, उनी भन्छन्, अपाङ्गमैत्री शौचालयको समस्या पनि उस्तै छ ।”
४५ वर्षीय सापकोटा २०७२ साल फागुनमा मोटरसाईकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनको कम्मरदेखि तलको भाग चल्दैन ।
त्यस्तै भरतपुर १० का ३२ बर्षिय दुर्गा बन्जन पेशाले शिक्षक हुन् । उनी स्थानीय एक विद्यालयमा अध्यापन गर्छन् । उनी पनि वर्षौदेखि व्हिलचियरको साहारामा हिड्छन् । दुई वर्षदेखि शिक्षण पेशामा आवद्ध उनको पनि समस्या उस्तै छ ।
विद्यालयमा अपाङ्गमैत्री शौचालय नहुँदा समस्या भोग्नुपरेको उनी बताउँछन् । विद्यालयको शौचालय प्रयोग गर्न नै सकस हुने गरेको उनी गुनासो गर्छन् । विद्यालयमा अपाङ्गमैत्री शौचालयका लागि माग गरिए पनि सम्बन्धित पक्षबाट अझै सुनुवाई नभएको उनी बताउँछन्।
शौचालय मात्र होइन, बाटोमा हिड्दा पनि उत्तिकै समस्या झेल्नु पर्ने उनी बताउँछन् । सडकमा खाल्डाखुल्डी, अव्यवस्थित ढललगायतका कारणले वर्षौदेखि समस्यासँग जुध्दै हिड्डुल गर्न परेको उनको गुनासो छ ।
उनको विधालयमा अपाङ्गमैत्री सौचालयको अझै सम्बोधन हुन सकेको छैन । “स्कूलमा अपाङ्गमैत्री शौचालय छैन । यसले समस्या भइरहेको छ, उनी भन्छन्, यती मात्रै होइन, भरतपुरका अन्य कार्यालयका संरचनाहरु पनि अपाङ्गमैत्री छैन ।”
अपाङ्ग जागरण अभियानका अध्यक्ष अम्बिका लाल श्रेष्ठ अपाङ्गमैत्री संरचनाको चर्का भाषणबाजी गरिए पनि व्यवहारिक रुपमा लागु नहुँदा अपाङ्गता भएका व्यक्तिलाई समस्याको चाङ नै हुने गरेको बताउँछन् ।
अपाङ्गमैत्री शौचालय नहुँदा कतीपय अवस्थामा अपाङ्गता भएका व्यक्ति कपडामै शौच गर्न वाध्य भएको उनी बताउँछन् । केही हदसम्म आफुहरुको आवाज राज्यले सुनेको भए पनि अझै समस्याको चाङ लामो रहेको उनी गुनासो गर्छन् ।
अपाङ्गता भएका व्यक्तिहरुले पाउने सुविधा पनि व्यवहारिक रुपमा अझै लागु नभएको समेत उनको गुनासो छ । “केही नीति नियम परिवर्तन भएको छ । तर अपाङ्गता भएका व्यक्तिलाई विभिन्न क्षेत्रमा सुबिधा भए पनि अझै लागु भएको पाइँदैन, उनी भन्छन्, स्कूल, अस्पताल, बजार, कार्यस्थल तथा मनोरन्जन केन्द्रहरूमा सहज ढंगले सुविधा उपभोग गर्न सकिएको छैन ।”
यस्तै अपाङ्गता भएकाहरुलाई रोजगारिको व्यवस्था, सिप सिकाई तालिम तथा केही गर्नै नसक्नेलाई उचित भत्ताको व्यवस्था राज्यले गर्नु पर्नेमा उनको जोड छ । प्रतिशतको आधारमा अन्य वर्गका जस्तो अपाङ्ग भएका व्यक्तिहरुले पनि प्रतिनिधित्व गर्न पाउनु पर्ने उनको माग छ ।
भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी अहिले बिभिन्न संघ,संस्था सरकारी कार्यालयमा अपाङ्गमैत्री संरचनाहरु निर्माण भइरहेको बताउँछन् । भरतपुरका सडकमा अपाङ्गमैत्री ट्र्याक समेत निर्माण भइरहेको उनी बताउँछन् ।
अपाङ्गमैत्री संरचनाहरु नभएका कार्यालयहरुमा पनि अपाङ्गमैत्री संरचना निर्माणको प्रयत्न भइरहेको उनको दाबी छ । अझै पनि धेरै कार्यालयमा अपाङ्गमैत्री शौचालय नभएको भने उनी स्वीकार्छन् नबनेका बताएका छन् । त्यस्ता समस्या समाधानको प्रयास भइरहेको उनको भनाई छ । “वैज्ञानिक ढंगले कसरी समाधान गरेर जाने भनेर छलफल गरिरहेका छौं, उनी भन्छन्, महानगरले आफ्नो तर्फबाट पहल गरिरहेकै छ ।”


