अस्मिता पराजुली,
चितवन – वरपिपलको चौतारी । सररर शीतल बतास चलिरहेको छ । त्यही चौतारीको शीलतामा बसेर छिप्पिदै गएको सूर्यतर्फ एकटक हेरिरहेका छन् उनी । भूइँकुहिरोझैं सेताम्य कपालको टाउकोमा सेतो र रातो धर्का परेको ढाकाटोपीले उचाइ थपिदिएको छ ।
बढ्दै गएको उमेर अंकसँगै घट्दै गएको शरीरको ताकतमा भरोसा दिने लौरी आडैमा ठडिएको थियो । सेतो दौरा सुरवाल, कालो आस्कोट, सेतो जुत्ता, निलो माक्स उनको हुलियाले भन्छ, ‘लामो एकान्तबासको बसाईले दिक्क भएर बाहिर निस्किएका छन् ।
हुन पनि कोभिडको कहर घटेको छैन । अझ जोखिममा छन् ७८ वर्षका हरिलालजस्ता ज्येष्ठ नागरिक । ज्यानको माया उनलाई पनि छ । सरकारले लगाएको लामो लकडाउनको पालना घरमै बसेर गरेका पनि थिए ।
भरतपुर महानगरपालिका ११ का हरिलाल चापागाईको श्रीमतीको पाँच वर्षअघि मृत्यु भयो । घरमा छोरा बुहारी नाती नातिना छन् । परिवार सम्पन्न छ । घरमा उनको सुविधाभोगका साधनको अभाव पनि छैन ।
‘मान्छेलाई धनको होइन अभाव त मनको एकांकीले निम्त्याउँदो रहेछ, भरतपुर ११ बिशालचोकको चौतारीमा बसिरहँदा उनको कथनको निष्कर्ष थियो । परिवारमा उनको उमेरमिल्दो सदस्य छैनन् । सँगै बसिदिने, बोलीदिने मनको साथी भएनन् । ‘छोरा बुहारी जागिरे छन् । नाती नातिना पढ्न बस्छन्’ हरिलाल भन्छन्, ‘मनको कुरा गर्ने मान्छे नहुँदा घर बसेर दिन काट्नै मुस्किल छ नानी ।’
कोभिड १९ महामारी दोस्रो चरणमा फैलिएसँगै स्थानीय सरकारले लगाएको निषेधाज्ञाको कारण झण्डै २ महिना घर भित्रै बसे । असारको दोस्रो हप्ता दिउँसोपख आफ्नै उमेरका साथीसंगी भेट्ने आशाले लठ्ठीको सहारामा चौतारासम्म आइपुगे । बन्दाबन्दी अघि चौतारीमा बस्दा आफ्नै उमेरका साथीसंगी आउजाउ गरिरहन्थे । तर, आज २ घण्टा देखि उनी एक्लै थिए चौतारीमा ।
‘हिजोआज उनलाई एकदिनको घर बसाई महिनादिन बढी झैं अनुभुती हुन थालेको छ । बन्दले २ महिना घर बस्दा दुई वर्ष बसेझैं भो ।’ उनले भने, ‘हामी बुढाबुढी धेरै टाढा हिँड्न सक्दैनौं, बाटो काट्न नि गाह्रो हुन्छ, दिनभर बस्ने साथी मात्रै पाए दिन सजिलोसँग बित्थ्यो ।’
भैरहवा घर भएकी ७३ वर्षीया गीता (नाम परिवर्तन) को श्रीमान कान्छी श्रीमतीसँग छन् । बुढेसकालको सहारा श्रीमान नभएपछि नारायणगढमा रहेका छोरा बुहारीकहाँ आइन् । भैरहवाबाट नारायणगढ आएको ८ वर्ष भइसक्यो । सुरुमा छोरा बुहारीले राम्रै व्यवहार गरेपनि अहिले हेलाको व्यवहार गर्ने उनले दुखेसो गरिन् ।
छोरा बुहारीले कोभिड महामारीपछि नै अलि हेलाको व्यवहार गरेको उनले महसुस गरेकी छिन् । उनी भन्छिन्, ‘कोरोनाका कारण व्यापार बन्द भयो आर्थिक हिसाबले पनि दुख्ख छ, त्यसैले पनि होला म बुढीलाई हेला गर्न थालेका ।’
लगातार घर बसाइले उनलाई घर नै जेल झैँ महसुस हुन्छ कहिलेकाँही । ‘बाहिर निस्किन छोराबुहारी दिँदैनन्, उनले भनिन्, ‘बन्दाबन्दी हुनुभन्दा अगाडि भजन कृतनमा गएर दिन बिताउँथे ।’
यी दुईजना त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय दोस्रो लहरको कोभिड महामारीसँगै धेरै ज्येष्ठ नागरिकहरुलाई हरेक दिन बोझ लाग्न थालेको छ । बढ्दो शहरीकरणसंँगै विभिन्न पेशा व्यवसायका कारण मानिसहरु दिनप्रतिदिन व्यस्त हुन थालेका छन् । गाउँघरमा जस्तो शहरका वृद्धवृद्धाहरुको लागि समय बिताउने आफू सरहका साथी, चौर, मठ(मन्दिर प्रशस्त भेटिँदैन । आफ्नै उमेरका मन मिल्ने साथी नहुँदा शहरी क्षेत्रका वृद्धवृद्धाहरुमा निराशा छाउने गरेको छ ।
आफ्नै परिवारमा पनि उनीहरुको मनोभावना बुझ्ने सदस्य कम हुन्छन् । अझ कोरोना महामारीले उनीहरुको एकांकीपन बढाउँदै लगेको छ । तिनै मध्येको एक हुन् भरतपुर महानगरपालिका १ क्षेत्रपुरकी ७० वर्षीया सरस्वती श्रेष्ठ । उनको पनि बुढेसकालको साहारा न त श्रीमान छन् न त छोराछोरी नै । ८ वर्ष अघि श्रीमानको मृत्यु भयो । उनको कोखबाट सन्तानको जायजन्क भएको छैन । अहिले घरमा एक्लै बस्छिन् ।
हुन त सरस्वती पत्रपत्रिका पढ्छिन् । लेखहरु लेख्न मन पराउँछिन् । तरपनि दिन बिताउन उनलाई मुस्किल पर्छ । एक दिन होइन, दुई दिन होइन महिनौ दिन एक्लै बसेर दिन कटाउन मुस्किल नै हुने गर्दछ ।
बन्दाबन्दी अघि मठ मन्दिर जाने गर्थिन् । अहिले एक्लै घरमै बसिरहदा के गरौँ र कसो गरौँ हुने सरस्वतीको अनुभव छ । कोरोनाको जोखिम र बन्दाबन्दीले आफन्त पनि आउजाउ गर्न पाएका छैनन् । आफन्तसँगको भेटघाट पनि रोकिएकोले पनि समय बिताउन गाह्रो भएको उनको अनुभव छ ।
८३ वर्षका ठाकुरप्रसाद अधिकारीका छोराको परिवार विदेशमा छन् । भरतपुर ११ का उनको परिवारमा श्रीमानश्रीमती मात्रै छन् । १७ वर्षयता अधिकारी दम्पत्ती मात्रै घरमा छन् । तर, पछिल्लो समय बानी परिसकेको एकांकीपन अझ बढ्न थालेको उनीहरुको अनुभव छ । २ महिनादेखिको लकडाउनले घरै बसिरहँदा खुट्टा सुन्निने दुख्ने, एकोहोरो हुनेजस्ता समस्या आउन थालेका छन् । टिभीमा भजकिर्तन सुनेर बसेपनि हिँडडुल गर्न नपाउँदा दिन काट्न मुस्किल भएको अधिकारीको भनाइ छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसकी उपप्रध्यापक तथा समाजशास्त्री लक्ष्मी पोख्रेलले ज्येष्ठ नागरिकहरुलाई घरभित्रै बस्दा शारीरिक तथा मानसिक समस्याको जोखिम हुने बताउँछिन् । उनले जेष्ठ नागरिकहरु एक्लै बस्दा मनमा अनेक कुरा खेल्दा उनीहरुका दिमागमा असर पर्नुको साथै डिप्रेसन जस्ता रोग लाग्न सक्ने बताइन् । यस्तो समयमा उनीहरुलाई थप हेरचाहको आवश्यकता रहने उनको भनाइ छ ।
उपप्राध्यापक पोख्रेलका अनुसार परिवारका अन्य सदस्यले रेडियो, टेलिभिजनमा भजनकिर्तन लगाईदिने, सँगै बसेर गफ गरिदिने, बालबालिकहरुलाई वृद्धवृद्धाहरुसँग खेल्न वा बोल्न लगाउने गर्नुपर्ने बताउँछिन् । उनले मनपर्ने खाने कुरा बनाएर दिने, हात अथवा खुट्टा शरीर तन्काउन सानातिना काम लगाउँदा पनि ज्येष्ठ नागरिक डिप्रेसनमा नपर्ने बताइन् । महामारीको समयमा सबै समूहका व्यक्तिलाई सकारात्मक सुचनाको खाँचो हुन्छ । पोख्रेलका अनुसार ज्येष्ठ नागरिकहरुलाई आत्मबल बढ्ने खालका समाचारहरु सुनाईदिने गर्नुपर्छ ।
उमेर बढ्दै जाँदा ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउन परिवार, समाज र संस्थाको भर नपरी राज्यले दायित्व लिन जरुरी छ । तर, ज्येष्ठ नागरिकका समस्याहरुलाई राज्यका निकायले सही तरिकाले सम्बोधन गर्न सकेका छैनन् ।
ज्येष्ठ नागरिक संघ भरतपुरका अध्यक्ष केदारनाथ तिमिल्सिनाले धार्मिक स्थल घुम्न लैजाने निःशुल्क शिविर आयोजना गर्ने, उनीहरुलाई सम्मान गर्ने जस्ता काम गर्दै आएको बताए । उनले ज्येष्ठ नागरिकको स्वास्थ्य र समस्याको विषयमा केन्द्रित रहेर काम गरिराखेको बताउँछन् ।
चितवनमा ज्येष्ठ नागरिकका लागि विभिन्न संस्थाहरुले खोलेका ७ दिवा सेवा केन्द्र छन् । सरकारी तबरबाट भने केन्द्रको व्यवस्था गरिएको छैन । आफूहरुसँग स्रोत साधनको अभावका कारण सबै नागरिकलाई दिवा सेवा केन्द्रमा समेट्न नसकिएको उनले बताए ।
जेष्ठ नागरिक मिलन केन्द्र प्रत्यक वडा वडामा बनाउनुपर्ने र उनीहरुलाई त्यहाँसम्म पुग्ने यातायातको समेत सरकारले व्यबस्था गरिदिनुपर्ने तिमिल्सिनाको भनाइ छ । ज्येष्ठ नागरिकको हकका लागि संघले स्थानीय सरकारसँग माग गरिरहेको पनि उनले जानकारी दिए ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको रुपमा परिभाषित गरिएको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख बढी ज्येष्ठ नागरिकहरु छन् । जनगणनाको १० वर्ष पुरा भइसकेकोले पनि ज्येष्ठ नागरिकको संख्या बढेको अनुमान उनीहरुको अधिकारका लागि काम गर्नेहरुको अनुमान छ । २०६८ सालको जनगणनामा भने चितवनमा ५९ हजार ९ सय ६० जना ज्येष्ठ नागरिक रहेको तथ्यांक छ ।
फाईल तस्विर


