बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आज (सोमबार)साँझदेखि खुल्ने भएको छ । भारतमा सोमवार र मंगलबार हुने विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि नाका बन्द रहेको थियो।
विधानसभाको उपनिर्वाचन सम्पन्न भएपछि अपराह्न ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मंसिर ६ अपराह्न ५ बजेदेखि मंसिर ९ अपराह्न ५ बजेसम्म सीमानाका बन्द गर्न अनुरोध गरेको थियो । यसअघि गत असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्यका लागि भएको निर्वाचनमा पनि असोज १६ देखि असोज १८ सम्म तनि दिनसम्म झुलाघाट नाका बन्द गरिएको थियो।