आशिष उप्रेती
चितवन, कात्तिक ११ – प्रदेश नम्बर ३ का भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेशको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सबैभन्दा धेरै लगानी गरेको बताएका छन् । आज चितवनको विभिन्न कृषि फारम तथा कृषि बालीको अनुगमन तथा अवलोकन गर्दै मन्त्री लामाले आगामी दिनमा समेत लगानी वृद्धि गर्दै जाने धारणा राखे ।
उनले युवाहरुलाई कृषितर्फ आकर्षित गर्न प्रदेश सरकारले थुप्रै कार्यक्रमहरु ल्याएको भन्दै कृषिमा थुप्रै सम्भावना भएको धारणा राखे । उनले कृषकहरुका थुप्रै समस्याहरु सुन्ने गरेको बताउँदै मल, बीउ, सिँचाइ लगायतका समस्या समाधान गर्न तथा उत्पादन वृद्धि गराउने आधुनिक प्रविधि भित्र्याउन पहल गरिने उल्लेख गरे ।
प्रदेश सरकारको पहिलो प्राथमिकता कृषि नै भएको उल्लेख गर्दै मन्त्री लामाले कृषि प्रवद्र्धन मार्फत उत्पादन वृद्धि गरेमा मात्रै प्रदेशसँगै सिङ्गो राष्ट्र समृद्ध हुने बताए । उनले कृषिमा उपलब्धि हासिल गरेका कृषकहरुले नयाँ र कृषि क्षेत्रमा केही गर्न चाहने युवाहरुलाई अनुभव तथा सीप हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।
मन्त्री लामाले आज चितवनको विभिन्न कृषि क्षेत्रको अवलोकन समेत गरेका थिए । तिहारमा समेत किसानको खेतबारीमा पुगेपछी व्यावसायिक किसानहरु खुशी भएका छन् । मन्त्रीको अनुगमन तथा अवलोकनले किसानहरु अत्यन्तै खुशी भएका थिए ।


