बीबीसी, असोज २७ – चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका छन् । नेपालका प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त भनाइ राखेका थिए ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले त्यो खबर सोही दिन प्रकाशित गरेको भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सोमबार यसको चर्चा चलिहरेको छ । सिन्ह्वाका अनुसार सी जिनपिङले अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए ।
नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा सीले भने, ‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोसिस गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ ।’
चीनका राष्ट्रपतिको यस चेतावनीलाई कयैन सन्दर्भमा हेरिदैछ । नेपालमा सीको भ्रमणअघि तिब्बती स्वतन्त्रताको पक्षमा केही तिब्बती अभियानकर्मीले प्रदर्शन गर्ने प्रयास गरेका थिए ।तिब्बती अभियानकर्मीहरुमाथि नेपाल सरकारले पहिले नै कारबाही अभियान चलाएको थियो ।
सी जिनपिङको यो बयानलाई यो सन्दर्भमा पनि जोडेर हेरिएको छ ।त्यस्तै हङकङमा पछिल्लो चार महिनादेखि जारी विरोध प्रदर्शनसँग जिनपिङको बयानलाई जोडेर हेर्ने पनि थुप्रै छन् ।आइतबार नै हङकङमा कयैन स्थानमा (याली निक्लियो । यस दौरान प्रहरी र प्रदर्शनकारीको झडप भयो । प्रदर्शनका क्रममा यातायात स्टेशन र चीन समर्थित पसलहरुमाथि आक्रमण भयो ।
प्रदर्शनकारीको कारण हङकङ मेट्रोका २७ स्टेसन बन्द रहे । प्रहरीको भनाइमा प्रदर्शनकारीहरुलाई तितर बितर बनाउनको लागि हल्का बल प्रयोग गरिएको थियो ।त्यसक्रममा सप्तान्तको समयमा सामान खरिद गर्न निस्किएकामाथि आक्रमण भएको थियो र केही घाइते भएका थिए ।
यस सन्दर्भमा सीको चेतावनीबारे सी यिहोङ नामका एक प्राज्ञले साउथ चाइना मर्निङ पोस्टसँग बोल्दै भने, ‘हङकङको अवस्था निक्कै गम्भीर छ । सीको चेतावनी अमेरिका र ति सबैको लागि हो जो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहाँ जारी अतिवादीको हिंसाको पक्षमा उभिएका छन् ।’
राष्ट्रपति जिनपिङले धम्कीमार्फत चीनको दृष्टिकोण मात्र स्पष्ट गरिदिएका छैनन्, चीनको आन्तरिक मामिलाबाट टाढा रहन अमेरिकालाई पनि चेतावनी दिएका छन् ।हालै अमेरिकाको रिपब्लिकन पार्टीका सिनेटर टेड क्रूजले हङकङमा पुगेर प्रदर्शनकारीप्रति चीनको व्यवहारको आलोचना गरेका थिए । उनले चीनको व्यवहारलाई क्षेत्रीय शान्तिको लागि खतरा बताएका थिए । (एजेन्सी)


