भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यालयभित्र भएको आक्रमणको भर्त्सना गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
गाउँपालिकाका सम्पूर्ण कर्मचारी परिवारद्वारा जारी विज्ञप्तिअनुसार बिहीबार बिहान करिब ११ बजे गाउँपालिकाको कार्यालयमै कार्यरत प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कालिका–२, पदमपुर निवासी तथा किंगफिसर कन्स्ट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङसहित ६ जनाको समूहले कार्यालयमा प्रवेश गरी सामूहिक रूपमा आक्रमण गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको र परिवारलाई समेत नछाड्ने धम्की दिइएको उल्लेख गर्दै उक्त घटनालाई कार्यालयभित्र भएको गम्भीर आपराधिक घटना भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कर्मचारीहरूले घटनामा संलग्न सबै व्यक्तिमाथि कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
कार्यालय समयमै प्रशासनिक नेतृत्वमाथि भएको आक्रमणले कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्यसम्पादनमा गम्भीर असर परेको विज्ञप्तिमा उल्लेख छ। दोषीमाथि आवश्यक कानुनी कारबाही नभएसम्म नियमित कामकाज सञ्चालन गर्न नसकिने चेतावनी पनि कर्मचारीहरूले दिएका छन्।
साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र कर्मचारीहरूले सुरक्षित वातावरणमा निर्धक्क भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।उक्त विज्ञप्तिमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूको सामूहिक हस्ताक्षर रहेको जनाइएको छ।



