चितवन, असोज २६ – प्रदेश ३ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले अब माटो सुहाउदो बाली लगाउनु पर्ने बताएका छन् । आज (आइतबार) जिल्ला समन्वयन समिती भरतपुरमा आयोजित चितवन युवा संघ अन्तरराष्ट्रिय समन्वय समिती नेपालको छैंठो साधारण सभा तथा तेस्रो विश्व सम्मेलनमा बोल्दै मन्त्री लामाले परम्परागत खेती भन्दा पनि माटो सुहाउदो बाली लगाउनु पर्नेमा जोड दिएका हुन् ।
‘हजुरबुवाको पालोमा धान रोपे, अहिले हामी पनि धान नै रोपिरहेका हुन्छौ,’ उनले भने अब माटो सुहाउदो बाली लगाउन पर्छ ।”तपाईले लगाईराखेको कपडा चाँही एक दिन लगाएर भोली पल्ट गनायो भने चेन्ज गर्नुहुन्छ, त्यस्तै माटोलाई पनि चेन्ज चाहिन्छ – उनले थपे ।
माटो परिक्षण गराएर सुहाउदो बाली लगाउन उनले कृषकहरुलाई अग्रह गरे । उनले चितवनमा कृषिको क्षेत्रमा सम्भावना नै सम्भावना रहेको बताए । ‘चितवनको उपरदाङगढी गएर किवी खेती गरौ, सुन्तला खेती गरौ, बाझो खेत उपयोग गरौ उनले भने,’ यो बर्ष किवी खेती गर्नुभयो भने दुई बर्ष दु:ख गर्नुहोस् तेस्रो बर्षबाट किवी फल्न थाल्छ अनी ६० बर्ष सम्म त्यही किवीबाट आम्दानी गर्न सकिन्छ ।’
मन्त्री लामाले माटो परिक्षणका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । ‘चितवनको पहाडी क्षेत्र र भित्री मधेसमा कुन माटोले कुन बाली माग्छ, माटोले मागेको बाली दिन माटो परिक्षण गर्ने प्रविधी सहित प्रदेश सरकारले सहयोग गर्छ उनले भने’, तपाईले माटो परिक्षण गर्नका लागि निवेदन हालेको भोली पल्टै जनशक्ती खटाउछौ ।’यस्तै उनले पहिलोको जस्तो परम्परागत तरिकाले भन्दा पनि आधुनिक प्रविधीको प्रयोग गरेर खेती गर्न जरुरी रहेको बताए ।
उनले कृषि यान्त्रिकरणका कृषि मन्त्रालयले ७५ प्रतिशत अनुदान दिने समेत जानकारी दिए । कृषकहरुलाई प्रोत्साहन गर्नका लागि सरकारले आवश्यकता अनुसार यान्त्रिकरणमा ७५ प्रतिशत अनुदान दिन लागेको उनले बताए । माडी र सिन्धुलीमा जस्तै अन्य क्षेत्रमा पनि सामुहिक खेती शुरु गर्न पर्ने उनको भनाई थियो । सामुहिक खेती गर्न सके कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिने उनले दाबी गरे ।


