मृतात्माको शान्तिका लागि ‘डसिया’ मनाउँदै थारु
असोज १९,बर्दीया । थारु समुदायको ‘डसिया’ सँगसँगै दशैं पनि घरआँगनमा प्रवेश गरिसकेको छ । पछिल्लो समयमा प्रचारमा डसिया र दशैं एउटै हो भन्ने कुराले ठाउँ पाएको देखिन्छ । यो पर्व लगभग उही तिथि उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वाभाविक पनि हो । नेपालमा तराईका २२ जिल्ला र सुर्खेतमा थारुहरुको मुख्य रुपमा बसोबास रहँदै आएको मानिन्छ । पछिल्लो जनगणना २०६८ अनुसार काठमाडौँ उपत्यकामा मात्रै दशौं हजार थारुको बसोवास छ । यो जनगणनाले ७७ जिल्लामध्ये पूर्वी रुकुमबाहेक सबै जिल्लामा धेरथोर सङ्ख्यामा थारुहरुको बसोबास रहेको देखाएको छ ।
थारू समुदायमा ‘डसिया’ पर्व मनाउने सामाजिक मूल्य, मान्यता र विधि छ । तर यससँग जोडिएका मिथक हेर्यौं भने भिन्न भिन्नै रहेका भेटाउँछौँ । पहिले बरघर, भलमन्सा, मतहवा प्रणालीमा चल्ने थारु समुदाय हरेक वर्ष असोज महीनामा पर्ने औंशीभन्दा अगावै असोज वा कात्तिक कुन महीनामा डसिया मनाउने भन्ने प्रगन्ना क्षेत्रका डेशबन्या गुरुवा र मटहवाहरु बसेर निर्णय गर्ने अभ्यास थियो ।
हरेक प्रगन्नामा नयाँ खाद्यान्नको उत्पादनको अवस्थालाई हेरेर असोज वा कात्तिक महिनामा डसिया मनाउने निर्णय हुन्थ्यो । असोज महिनामा मकै तयार भए पनि धानलगायत अन्य खाद्यान्न पाकिनसक्ने भएकाले प्रायः कात्तिक महीनामा डसिया पर्व मनाउने चलन थियो तर, अहिले प्रविधि र अनुसन्धानले चाँडै नै धान लगायतका अन्न फल्ने र बजारमा पनि सहजै किन्न पाउने भएकाले राज्यले तोकेको महीना र मितिमा डसिया मनाउने चलन बसिसकेको छ । थारू समुदायमा डसिया खासगरी आफ्ना दिवङ्गत पुर्खाहरुको मृत–आत्माले शान्ति पाओस् भन्ने कामना गर्दै मनाइन्छ ।
देउता नुहाउने काम थारू समुदायमा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छुट मान्ने चलनअनुसार डसियामा पनि पुर्खाहरुको मृत्युको कारण छुट मानिने भएकाले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउताअनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने । भित्तामा बकुल्ला बनाउने गरिन्छ ।
दाङ देउखरका साहित्यकार तथा थारु बुद्धिजीवी छविलाल थारुले थारु समुदायले आफ्ना मृत पुर्खाको आत्माले शान्ति पाओस् र बकुल्लामाथि चढेर सवार भई सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन रहेको बताउछन् ।
थारू आफ्नो मौलिक देउताहरु खेंखरी–मैयाँ, सौंरा, लागुबासु, धमराज, चुरिनियाँ, भेंर्वा, पूर्वी लगायतका देउताहरुलाई जल, रक्सी, जमरा र बाबरी चढाएर परम्परागत मान्यता अनुसार पूजा गर्छन् । थारूहरुको आफ्नै मौलिक देउता छन् । आफ्नो मौलिक परम्पराअनुसार पूजापाठ पनि गर्छन् तर, हिन्दुहरुको देवतालाई सम्मान गर्ने र भाइचाराको सम्बन्ध राख्ने पनि थारूहरुको स्वभाव हो । बाह्रखरीबाट
तपाइँको प्रतिक्रिया