दशैं मान्न झण्डै १६ लाखले छाडे काठमाडौं, बिहिबार मात्रै ४ लाख बाहिरिए
असोज १६,काठमाडौं- दशैंको टीका नजिकिँदै गर्दा काठमाडौं उपत्यका छाड्नेको संख्या दिनप्रतिदिन बढ्दो छ ।
बुधबारसम्म १२ लाख जना राजधानीबाट बाहिरिएकोमा विहीबार मात्रै झण्डै चार लाखको हाराहारीमा यात्रु बाहिरिएको प्रहरीले जनाएको छ ।
टिकट पाएकाहरु बसमा रमाउँदै राजधानी बाहिरिए पनि टिकट नपाउनेहरुको भने बिचल्ली छ । गोंगबुस्थित नयाँ बसपार्कमा टिकट पाइन्छ कि भनेर जानेहरुको भीड अझै बाक्लो छ ।
उनीहरु टिकट क्वाउन्टरबाट टिकट सकियो भन्ने खबर सुन्दा पीडाबोध गर्दै यताउता भौतारिन्छन् । कतै बसका ड्राइभर तथा सहचालकसँग पो टिकटको कुरा मिल्छ कि भनेर भौतारिनेहरु पनि यही भीडमा भेटिएका थिए ।
दशैंका लागि यसपटक काठमाडौंबाट करिब २५ लाख जना बाहिरिने प्रहरीको अनुमान गरिएको छ । उपत्यकाबाट बाहिरिने मुख्य ४ नाका छन् । जसमध्ये थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो । जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिने अनुमान छ । त्यस्तै, बल्खु–चोभार नाकाबाट १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै ५ प्रतिशत यात्रु राजधानीबाट बाहिरिने प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीका अनुसार विहीबार मात्र झण्डै चार लाख मानिस बाहिरिएका छन् । दशैंका लागि सबैभन्दा धेरै यात्रु अब भोलि र पर्सी बाहिरिने छन् ।
टिकट काउन्टरमा पनि यी ३ दिनका लागि नियमित र थप गरिएको टिकट बुकिङ समेत सकिएको छ । सार्वजनिक बिदा सुरु हुने भएकाले पनि ती दिनहरुमा दैनिक ४ लाख जनासम्म बाहिरिने ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुले अनुमान गरेका हुन् ।
तपाइँको प्रतिक्रिया