२ गोलले पछि परेको बेल्जियमको ऐतिहासिक कमब्याक, सेनेगल ३-२ ले पराजित

एटुजेड समाचार

काठमाडौं – दुई गोलको सहज अग्रता उल्टाउँदै बेल्जियमले फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ मा सनसनीपूर्ण जित हात पारेको छ।

अमेरिकाको सियाटलस्थित लुमेन फिल्ड रंगशालामा बुधबार राति सम्पन्न अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा बेल्जियमले बलियो अफ्रिकी प्रतिद्वन्द्वी सेनेगललाई ३-२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ (नकआउट चरण) को यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको नियमित खेल २-२ गोलको रोमाञ्चक बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ खेलको अन्तिम सेकेन्डमा बेल्जियमले बाजी मार्‍याे। फिफाको नयाँ परिमार्जित संरचना अनुसार ४८ टोली सहभागी यस विश्वकपमा यो खेल अहिलेसम्मकै सबैभन्दा नाटकीय र ऐतिहासिक पुनरागमनमध्येको एक बनेको छ।

खेलको ८५औँ मिनेटसम्म २-० ले पछि परेको बेल्जियमका लागि प्रशिक्षक रुडी गार्सियाको रणनीति र खेलाडीहरूको धैर्यता खेलको अन्तिम ४ मिनेटमा अविश्वसनीय सावित भयो। खेलको सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको सेनेगलले खेलको २५औँ मिनेटमा हबिब डिएराको गोलमार्फत अग्रता लिएको थियो।

त्यसपछि दोस्रो हाफको सुरुवातमै अर्थात् ५१औँ मिनेटमा इस्माइला सारले अर्को उत्कृष्ट गोल गरेपछि सेनेगल २-० को अत्यन्तै बलियो स्थितिमा पुगेको थियो। विश्वकपबाटै बाहिरिने संकटमा परेको बेल्जियमका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका भेट्रान स्ट्राइकर रोमेलु लुकाकु खेलको मुख्य ‘टर्निङ प्वाइन्ट’ बने।

चोटका कारण पछिल्लो सिजन क्लब फुटबलमा निकै उतारचढाव भोगेका ३३ वर्षीय अनुभवी लुकाकुले खेलको ८६औँ मिनेटमा थोमस मुनिएरको उत्कृष्ट क्रसलाई फ्लिक गर्दै गोल गरेर बेल्जियमको आश ब्युँताएका थिए।

तनावपूर्ण बनेको खेलको दोस्रो हाफमा बेल्जियमका कप्तान युरी टिलेमान्स र लेआन्द्रो ट्रोसार्डबीच मैदानमै भनाभन समेत भएको थियो, जसलाई अनुभवी लुकाकुले बीचमा परेर साम्य पारेका थिए।

आन्तरिक तनावलाई बिर्सेर उत्कृष्ट खेल देखाएको बेल्जियमका लागि लुकाकुको गोलको ठीक तीन मिनेट नबित्दै कप्तान टिलेमान्सले सानदार हेडरमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए र टोलीलाई नयाँ जीवन दिए।

त्यसपछि अतिरिक्त समयमा दुवै टोलीले निकै सतर्कतापूर्वक खेले पनि खेलको १२५औँ मिनेटमा खेलले फेरि नयाँ मोड लियो। मैदानमा भएको फाउललाई लिएर भिडियो असिस्टेन्ट रेफ्रीले करिब ७ मिनेट लामो गहन रिभ्यु गरेपछि बेल्जियमलाई पेनाल्टीको सुनौलो अवसर प्राप्त भयो।

उक्त बक्सिङ प्रेसरका बीच एस्टन भिल्लाका स्टार मिडफिल्डर तथा कप्तान टिलेमान्सले सहजै गोल गर्दै बेल्जियमको ३-२ को अविश्वसनीय जित पक्का गरे।

यस ऐतिहासिक र संघर्षपूर्ण जितसँगै बेल्जियमले आगामी जुलाई ७ मा हुने क्वाटरफाइनल प्रवेशका लागि तय गरिने अन्तिम १६ को खेलमा आयोजक अमेरिका वा बोस्निया–हर्जगोभिनाको विजेतासँग प्रतिस्पर्धा गर्ने तालिका निश्चित गरेको छ।

अर्कोतर्फ, खेलमा निकै लामो समयसम्म वर्चस्व जमाएर पनि अन्तिम समयमा सम्हाल्न नसक्दा पूर्व अफ्रिकी च्याम्पियन सेनेगलको विश्वकप यात्रामा यसै खेलसँगै पूर्णविराम लागेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु