काठमाडौं, असोज १५ – यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको ‘दोस्रो राजीनामा’ पत्र सुटुक्क बुझाएका छन् ।यस अघी मंगलबार शर्तसहितको राजीनामा पत्र उपसभामुख शिबमाया तुम्वाहाङ्फेले अस्वीकृत गरेपछी उनले दोस्रो राजीनामा पत्र बुझाएका हुन् ।
मंगलबार बुझाएको राजीनामा पत्रमा छानबिन प्रकि्रया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उच्च स्रोतका अनुसार तुम्वाहाङ्फेले राजीनामा आफूले स्वीकार नगरी दराजमा थन्क्यार राख्ने उनको चेतावनी थियो । त्यसपछि महराले शर्तरहित अर्काे राजीनामा पत्र उपसभामुख समक्ष पठाएको स्रोतको दावी छ ।
अर्काे राजीनामा पत्रका आधारमा उपसभामुख तुम्वाहाङ्फेले बुधबार दिउँसो महराको राजीनामा आएको सूचना संसद सचिवालयमा टाँस्न लगाएकी थिइन् । उक्त सूचनामा पनि महराले पहिलो पटक बुझाएको राजीनामा पत्रमा भएको जस्तो शर्त उल्लेख छैन ।


