नुनदेखि सुन पसलसम्म ग्राहकको भीड

एटुजेड समाचार

काठमाडौं, असोज ११ – दशैँ सुरु भएसँगै बजारमा नुनदेखि सुनसम्मका सामानको किनमेल गर्नेको चहलपहल बढेको छ । राजधानीको केन्द्रबिन्दु नयाँ सडकमा त दशैँको रौनक अझै व्यापक छ ।

व्यापारीहरूको पनि वर्षभरिको आम्दानी हुने मुख्य समय दशैँ, तिहारजस्ता चाडमा नै भएकाले बजार चम्कन थालेको हो ।स्थायी घर गोरखाका गणेश भट्टले आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गरिरहेको र राम्रो आम्दानी गरिरहेको बताए । दशैँताका न्युरोडका पसल कबल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार वा चमकधमकयुक्त सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्छ । छुट र उपहारका अनेकौँ ‘अफर’ ले खरिददारीमा उत्साह थपेका छन् ।

उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्युरोड, इन्द्रचोक, रञ्जना, असन, भृकुटीमण्डप, भोटाहिटी, वल्र्ड टे«ड सेन्टर, विशाल बजार, भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा किनमेल गर्नेहरूको भीड लाग्न सुरु भइसकेको छ । सिभिल मल, युनाइटेड वल्ड ट्रेड र सिटी सेन्टरहरूले विविध उपहारले ग्राहक आफूतिर तानिरहेका छन् ।यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारी बताउँछन् ।

दशैंँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । यसले बजारमा रौनकता छाउने गरेको विशाल बजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताए । उनले दशैँ मनाउनका लागि उपत्यका बाहिर जाने मानिसले आफ्नो र आफ्नो परिवारका सदस्यका लागि केही न केही नयाँ सामान उपहार लैजाने हुनाले पनि बजारमा सामान अत्यधिक मात्रामा बिक्री हुने गरेको जानकारी दिए । यो समाचार गोरखापत्रमा यलु जोशीले लेखेकी छिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु