पहिराले दोलखाका १२० घर जोखिममा

एटुजेड समाचार

दोलखा, भाद्र २८ – जिल्लाका अधिकांश स्थानमा अविरल वर्षाका कारण एक सय २० घर जोखिममा परेका छन् ।लाखौँ रुपैयाँको धनमाल नष्ट भएको छ । अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको छ ।

वर्षाका कारण शैलुङ गाउँपालिका–८ एक्ले पाखाका उद्धव कार्कीको कुखुरा फार्म पहिरोमा पुरिएको थियो । पहिरोले फार्ममा रहेका ३२५ कुखुरा र एउटा खसी मरेको थियो ।

यस्तै भीमेश्वर नगरपालिका–३ मा राजीव तामाङको कुखुरा फार्म पहिरोले पुरिएको थियो भने भीमेश्वर नगरपालिका–३ चरिघ्याङमा छ पक्की घरमा समेत पहिरोले क्षति पुर्याएको प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिए ।

यस्तै भीमेश्वर–३ चरिघ्याङस्थित दुई घर पहिरोले पुरिँदा तीन लाख रूपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।शैलुङ र मेलुङ गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढ्दै गएको छ । हालसम्म दुबै गाउँपालिकामा एक सय १२ परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार शैलुङ–८ का थिङ र गोरख टोल तथा मेलुङ–१ का पवटी, दियाले खर्क टोल, कार्की टोल, बोहोरा टोल र आचार्य टोलमा गरी एक सय १८ परिवार पहिराको जोखिममा छन् । रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु