भाद्र २२ – सावित्रा भण्डारी एक्लैले ४ गोल गरेपछी नेपाली महिला फुटबल टोलीले किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ । किर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले किर्गिस्तानलाई ८-२ गोल अन्तरले पराजित गर्दै प्रत्यियोगितामा सुखद सुरुवात गरेको हो ।
नेपालको जितमा सावित्रा भण्डारीले एक्लैले ४ गोल गरिन् ।नेपालले खेलको तेस्रो मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि सावित्रा भण्डारीले पहिलो गोल गर्दै अग्रता दिलाईन् । किर्गिस्तानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै सावित्राले गोल गरिन् ।
१४ औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनायो । दोस्रो गोल पनि सावित्राले नै गोल गरिन् । नेपालको अग्रता धेरै बेर टिकेन । किर्गिस्तानले ५ मिनेट भित्रमा दुई गोल फर्काउन सफल भयो । किर्गिस्तानले दुवै गोल नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गर्यो ।
तर २५ औं मिनेटमा नेपालले फेरी अग्रता लियो । नेपालका लागि दिपा राईले उत्कृष्ट गोल गर्दै अग्रता ३-२ को अग्रता दिलाईन् । २९ औं मिनेटमा नेपालले चौँथो गोल गर्यो । सावित्रा भण्डारीले डिबक्स भित्रबाट गोल गर्दै ह्याट्रिक पुरा गरेपछी नेपालले ४-२ को अग्रता बनायो । ३५ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई पाँच दुईको अग्रता दिलाइन् ।
३६ औँ मिनेटमा कप्तान निरु थापाले गोल गर्दै अग्रता ६-२ मा पुराईन् ।पहिलो हाफमा ६-२ को अग्रता बनाएको नेपाली महिला टिमले दोस्रो हाफमा थप २ गोल गर्यो । खेलको ५४ औं मिनेटमा सावित्राले नै फ्रिकिक मार्फत उत्कृष्ट गोल गरिन् ।अन्तिममा अनिता बस्नेतले एक गोल थपेपछि नेपालले ८-२ ले बिजयी भयो ।


