चितवन, भाद्र ९ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफुबाट आत्माहत्या गर्न वाध्य गराउने कुनै पनि काम नभएको बताएका छन् ।
पुडासैनिले बनाएको दुईओटा भिडियोमा के कती कारणले रवि लामिछानेले गर्दा आत्माहत्या गर्न वाध्य भएको भनेर उल्लेख गरे भन्ने बारे आफुलाई थाहा नभएको उनले बयानमा बताएका छन् ।जिल्ला सरकारी वकिलको कार्यालयले चितवन अदालतमा पेस गरेको बयान बिबरणमा यि कुराहरु उल्लेख गरिएको छ ।
यस्तो छ उनको बयान :
‘निजले मर्नुअघि बनाएका दुईवटा भिडियोहरु हेर्दा निजले आफुलाई रबि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन सो कुरा निजले के कति कारणले भने मलाइ थाहा छैनतर निजले आफ्नो श्रीमति हुदाहुदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसंग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबैकुरा थाहा पाई निजबाट टाढिन खोज्दा निजले अस्मितालाई अनेक दुख दिने, बाटो छेक्ने, मरिदिन्छु भनि डर देखाउने कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधाकुरा जनता संग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रो बारेमा भनि सार्वजनिक गरिदिने भनेका कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसंग चित्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ ।’
बयानमा उल्लेख गरिएको छ, ‘मैले निजको बिरुद्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनुसक्छ, मृतकले मलाई अत्यधिक सम्मान गर्ने हुँदा मैले सम्मान गरेको ब्यक्तिले उनका बिरुद्ध कार्यक्रम बनाउने भ्रामक कुराले निजको मन दुखेको हुन सक्छ र म माथि आरोप लगाएको हुनसक्छ । तर, मैले निजलाई आत्महत्या गर्ने सम्मको दुख दिएको छैन, र दिनुपर्ने कुनै कारण पनि छैन मृतकको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्की संग देख भेट भएको थिएन , प्रहरीद्धारा पक्राउ परे पश्चात मात्र देखे चिनेको हुँ ।’


