संसदमा त्रिशूली बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको माग

एटुजेड समाचार

काठमाडौँ, साउन २६ – प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले सर्लाहीबाट काठमाडौँ आइरहेको यात्रुवाहक बस गत शुक्रबार त्रिशूली नदीमा खस्दा ज्यान गुमाउन पुगेका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था मिलाउन माग गरेका छन्।

सांसदद्वय अमरेशकुमार सिंह र इन्द्रकुमारी विश्वकर्माले सडकको सुरक्षा गर्न नसकेकाले सडक दुर्घटना बढ्दै गएको बताए। बैठकमा सांसदहरु अमृताकुमारी अग्रहरी, कृष्णभक्त पोखरेल, गणेशकुमार पहाडी र गौरीशङ्कर चौधरीले असार २६ गते र त्यसपछिको लगातारको वर्षाले बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद आशाकुमारी विकले ट्याक्सी चालकले लापरवाही ढङ्गले यात्रुसँग भाडा असूल गर्ने गरेको, घनश्याम खतिवडाले बाढीपीडितलाई औषधोचारको व्यवस्था गर्न सरकार चुकेको र खगराज अधिकारीले कालीगण्डकी डाइभर्सनपछि तराई तथा पहाडका केही जिल्लामा सिँचाइ सुविधाबाट अवरोध पुग्ने बताए ।

सांसद झपटबहादुर रावलले सुदूरपश्चिमाञ्चल क्षेत्रमा औद्योगिक क्षेत्रको पुनःस्थापना गर्न माग गरे। सांसद गगनकुमार थापाले प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउने गरेको जवाफ दिन सम्बन्धित मन्त्रालयका मन्त्रीले बेवास्ता गर्ने गरेको बताए। रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु