साउन २५, चितवन । कलैया उपमहानगर भित्रका २७ वटै वडाका जनप्रतिनिधिलाई सौराहामा दुईदिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण दिईएको छ ।
स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण उनीहरुलाई दिइएको हो । स्थानीयतहमा रहेका बजार र उपभोत्ताका सरोकारका बिषय उनीहरुको जिम्मेवारीमा पर्ने भएकोले यससम्बन्धी ऐन कानुन बनाउन र प्रोत्साहन गर्न प्रशिक्षक प्रशिक्षण दिइएको बताइएको छ । कलैया उपमहानगरपालिकाको आयोजना र उपभोक्ता संरक्षण मञ्चको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बजार व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मञ्चका केन्द्रीय सचीव एवं कानुन व्यवसायी श्रृंगऋषि काफ्लेले बजार व्यवस्थित नहुंँदा एकाधिकार बढ्ने, गुणस्तर खस्कने र अनैतिक क्रियाकलाप बढ्ने भएकोले यससम्बन्धी स्पष्ट ऐन ,कानुन स्थानीय सरकारले ल्याउनु पर्नेमा जोड दिए । स्थानीय सरकारले त्यहांँ रहेका व्यवसायिक प्रतिष्ठान, विभिन्न सेवामुलक संस्था लगायतलाई ऐन कानुनको दायरामा ल्याई उपभोक्ता मैत्री कानुन बनाउनुपर्ने काफ्लेले बताए ।
उपभोक्ता सचेतना बिषयक कार्यपत्र प्रस्तुत गर्दै मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले उपभोक्ता आफै सचेत हुनुपर्ने बताउंँदै कुनैपनि बस्तु खरीद गर्दा त्यसको लेबल, नापतौल, गुणस्तरमा ध्यान दिनुपर्ने बताए । यसका लागि स्थानीय तहले उपभोत्ताले त्यस्ता बिषयको उजुरी गर्न विभिन्न ठाउंँमा सेवा कार्यालय बनाउन आग्रह गरे ।
सो अबसरमा बोल्दै मञ्चका अध्यक्ष ज्योति बानियाले स्थानीय तहले अबको बजार एकीकृत बजारको रुपमा विकास गर्नुपर्ने भन्दै विश्व व्यापार संगठन (डब्लु, टि, ओ) को मापदण्ड अनुसार ५सय २७ वटा बस्तु तथा सेवा रहेकाले सोही अनुसार बजार व्यवस्थापन तथा सचेतना कार्यक्रम गर्नुपर्ने सुझाव दिए । जनतालाई जागरुक बनाउन र ऐन कानुन बनाउन सहयोग पुग्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।
सो अवसरमा बोल्दै कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले यस कार्यक्रमले कलैयाका २७ वटै वडाका जनप्रतिधिलाई ऐन कानुन बनाउन सहयोग पुगेको भन्दै छिटैनै यससम्बन्धी ऐन कानुन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । मञ्चले सातवटै प्रदेशका सातवटा नगरपालिकाको छनौट गरी यससम्बन्धी कार्यक्रम तथा कानुन एवं परामर्श गर्दै आएको जनाएको छ । कार्यक्रममा कलैया उपमहानगरका जनप्रतिनिधि, कर्मचारी लगायत ५० भन्दा बढीले सहभागिता जनाएका थिए ।


