काठमाडौं, असार ०६ – प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ना गर्न आग्रह गरेकी छन् ।शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान गरेको भन्दै कार्कीले चौधरीलाई पागलखानामा राख्न आग्रह गरेकी हुन् ।
यस्तै कार्कीले मेयर चौधरीले महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन बसेको भन्दा प्रश्नसमेत समेत गरेकी छिन् ।
‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ?’ उनले प्रश्न गरिन् ‘सक्नु हून्छ भने सुधार गर्नु पर्यो, कि पागलखानामा भर्ती गर्न सक्नुपर्यो ? नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो ?’मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् ।
‘किन मेयर चौधरीको यतिका बिषय बाहिर आउँदासमेत उसको पार्टी नेकपा मौन छ, कि भन्नु पर्यो हाम्रो पार्टीको नीति सिद्धान्त यही हो भनेर, नत्र किन नेकपाका महिला नेतृहरु पनि यस बिषयमा चुप हुनुहुन्छ ?’मेयर चौधरीलाई कारबाही गर्न नेकपाकै महिला नेतृहरु लाग्नुपर्ने उनले बताइन् ।मेयर चौधरीले दुई दिनअघि इटहरीको लविपुर चौकमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए ।


