माडी प्रधानमन्त्री रोजगार कार्यक्रममा सुरु

माडी, असार ०५ – माडी नगरक्षेत्रबाट प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन गरेका आवेदकहरुले आजदेखि काम सुरुवात गरेका छन् । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा सञ्चालनमा रहेको चक्लाबन्दीमा आधारित सामुहिक खेतीस्थलबाट प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात भएको हो । एक संक्षिप्त कार्यक्रमबिच माडीमा नगरप्रमुख ठाकुर प्रसाद ढकालले कामदारलाई बेल्चा र तगारी दिएर नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले कामको खोजीमा युवाहरु विदेश पलायन हुने अवस्था हटाउन र स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको बताए । माडी नगरक्षेत्रको कान्तिपुरस्थित चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरुवात भएको स्थानमा ४० जना, सोमेश्वर क्षेत्रमा भू-संरक्षणका लागि ३० जना र छरछरेमा चौतारो निर्माणका लागि ३० जना गरी कुल १०० जनाले २० दिनसम्म काम गर्नेछन् ।
त्यसैगरी त्यसैगरी भु-संरक्षणकै काम अन्तर्गत वडा नम्बर ९ को घाँघर खोला र प्याउली खोलामा १५/१५ जना र वडा नम्बर ३ को मगोई खोलामा १५ जनाले ड्याममा बाँस लगाउने काम गर्ने माडी नगरपालिकाकी रोजगार संयोजक यमुना ढकालले जनाए । माडी नगरपालिकामा ११ सय ६८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आवेदन फारम भरेका छन् जसमा महिलाको संख्या अधिक रहेको छ । संघीय सरकारले सञ्चालन गरिरहेको यो कार्यक्रम देशैभरका स्थानीय तहहरुमा लागु गरिएको छ ।
तपाइँको प्रतिक्रिया