चितवन – त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र सङ्कायको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरले शैक्षिक सत्र २०८३ का लागि चारवर्षे स्नातक (Bachelor of Arts–BA) कार्यक्रममा नयाँ विद्यार्थी भर्ना खुला गरेको छ।
क्याम्पसका अनुसार बीए कार्यक्रममा नेपाली, अङ्ग्रेजी, समाजशास्त्र, अर्थशास्त्र, जनसंख्या, राजनीतिशास्त्र, मानवशास्त्र, गणित, नेपाल ग्रामीण विकास, संस्कृति, भूगोल, इतिहास लगाएतका विषय अध्ययन गर्न सकिनेछ।
यस कार्यक्रमले विद्यार्थीमा सामाजिक, सांस्कृतिक तथा शैक्षिक ज्ञान अभिवृद्धि, विश्लेषणात्मक तथा आलोचनात्मक सोचको विकास, अनुसन्धान तथा लेखन सीप अभिवृद्धि, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा जोड दिने क्याम्पसले जनाएको छ।
क्याम्पसमा पुस्तकालय, निःशुल्क वाइफाइ, छात्रवृत्ति, शैक्षिक भ्रमण, खेलकुद तथा अतिरिक्त क्रियाकलापको सुविधा उपलब्ध रहेको छ।

भर्ना योग्यता अन्तर्गत कक्षा १२ वा सो सरह उत्तीर्ण (प्रत्येक विषयमा न्यूनतम Final Grade ‘D’ वा CGPA 1.😎 गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। साथै, कुनै पनि सङ्कायबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीले पनि बीए कार्यक्रममा भर्ना हुन सक्ने व्यवस्था गरिएको छ।
क्याम्पसका कार्यक्रम संयोजक राजेन्द्र गिरीले बीए कार्यक्रमले मानव समाज, संस्कृति, भाषा, इतिहास र व्यवहारसम्बन्धी गहिरो अध्ययनसँगै विद्यार्थीको आलोचनात्मक सोच, सञ्चार क्षमता र अनुसन्धान दक्षता विकास गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सक्षम, जिम्मेवार र नैतिक नागरिक उत्पादन गर्ने उद्देश्यका साथ इच्छुक विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
क्याम्पसले जारी गरेको एक सुचना अनुसार भर्ना २०८३ असार दोस्रो हप्तादेखि सुरु हुने तथा कक्षा सञ्चालन २०८३ असोज पहिलो हप्तादेखि सुरु हुने जनाएको छ।



