बुद्धशान्तिमा बिद्यार्थीको छात्रवृत्ति रकमले शौचालय निर्माण गरेपछि विवाद

ज्ञानेन्द्र तामाङ
चितवन, असार ०२ – पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं. २ मा रहेको बुद्धशान्ति माध्यामिक बिद्यालयमा बिद्यार्थीका लागि आएको छात्रवृत्ति रकमले शौचालय निर्माण गरेपछि विवाद भएको छ ।
युवा अगुवा सञ्जय श्रेष्ठले बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र कर्मचारीहरुको मिलेमतोमा रकम हिनामिना गर्ने उद्धेश्यले यस्तो गरिएको आरोप लगाए । सोमबार बिद्यालयमा भएको छलफलमा उनले जेहेन्दार बिद्यार्थीका लागि प्राप्त भएको छात्रवृत्ति रकम तत्काल बिद्यार्थीलाई उपलब्ध गराउनुपर्ने माग गरे ।
त्यस्तै युवा अगुवा राजु सेढाईले छात्रवृत्तिको रकम शौचालय निर्माणमा खर्च गर्ने निर्णय पारित गर्न किर्ते हस्ताक्षरको प्रयोग गरिएको दाबी गरे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा किर्ते हस्ताक्षर गरि निर्णय पारित गराइएको उनको आरोप छ ।छलफलमा बिद्यालयका प्रधानाध्यापक रामबाबु चौधरीले बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको निर्णयअनुसार शौचालय निर्माण गरिएको जानकारी दिए ।
आफुले छात्रवृत्तिको रकम बिद्यार्थीलाई नै दिनुपर्नेमा जोड दिए पनि सुनुवाई नभएको बताउदै उनले बिद्यालय ब्यवस्थापन समितिको दबाबमा निर्णय गरिएको बताए । समितिका अध्यक्ष राजकुमार भट्टले बिद्यालयको तत्कालीन आवश्यकतालाई हेरेर शौचालय निर्माण र कक्षाकोठामा पंखा जडानमा खर्च गरिएको दाबी गरे ।
उनले बढ्दो गर्मीका कारण पठनपाठन प्रभावित भएपछि पंखा हालिएको र बिद्यार्थीको चापलाई मध्यनजर गर्दै शौचालय थप गरिएको बताए । राप्ती २ का वडाअध्यक्ष श्यामसुन्दर उप्रेतीले आफुलाई कुनै जानकारी नभएको बताउदैं तत्काल बिद्यार्थीलाई छात्रवृत्तिको ब्यवस्थापन गर्न आग्रह गरे ।
जनप्रतिनिधिको रुपमा बिद्यालय ब्यवस्थापन समितिको पदेन सदस्य भएपनि आफुलाई यसबारेमा जानकारी नगराएकोमा उनले आक्रोश ब्यक्त गरे । ‘अन्य कुनै स्रोतबाट तत्काल बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्छ’ : उनले भने : ‘अन्य भौतिक संरचना निर्माणका बिषयमा नगरपालिका तथा वडा कार्यालयले सहयोग गर्छ ।’ प्रधानाध्यापक चौधरीले निजी स्रोतको रकमले बिद्यार्थीलाई छात्रवृत्ति दिन सकिने बताए ।
दलित अगुवा खिल बहादुर नेपाली, सञ्चारकर्मी गोपाल बिश्वकर्मा लगायत सरोकारवालाहरुले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र प्रधानाध्यापकले आत्मआलोचना गर्दै तत्काल जुनसुकै स्रोतबाट बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन माग गरेका छन । छलफलमा स्थानीय युवा, समाजसेवी, ब्यवसायी तथा राजनितिक दलका प्रतिनिधिहरु सहभागी थिए ।
तपाइँको प्रतिक्रिया