चितवन, जेष्ठ २२ – जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत एकदिने अनुशिक्षण कार्यक्रम भरतपुर महानगरपालिका-२२ पटिहानी टाउनस्थित कसरा रिसोर्टमा बुधबार सम्पन्न भएको छ । नागरिकमैत्री प्रहरी सेवा विस्तार गर्ने उद्देश्य अनुसार पर्यटन प्रहरी ईकाई भृकुटीमण्डप काठमाडौंको आयोजना, पर्यटन बिभाग भृकुटीमण्डप काठमाडौंको सहयोग तथा पर्यटन प्रहरी कार्यालय पटिहानी, जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय गितानगर चितवनको समन्वयमा उक्त अनुशिक्षण संचालन गरिएको हो ।
कार्यक्रममा पर्यटन प्रहरी, स्थानीय प्रहरी एवं पर्यटनसँग सम्बद्ध निकायका प्रतिनिधिहरुलाई अनुशिक्षण प्रदान गरिएको छ । भरतपुर महानगरपालिका-२२ का वडाअध्यक्ष बिष्णुराज महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्ल, नेपाली सेनाका प्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।


